पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगम पाइप बिच्छ्याउने काम सकेर अहिले परीक्षण गरिरहेको छ । परीक्षण सफल भएपनि अगष्ट महिनाभित्रै पाइपलाइनको पेट्रोल उपभोत्ताले पाउने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइत बताउँछन् ।
‘अहिले विभिन्न भागमा बाढेर परीक्षण भइरहेको छ, छिट्टै व्यावसायिक रुपमै पेट्रोलको ढुवानी पाइपबाटनै गरिन्छ ’ गोइतले भने।
भारत सरकारको सहयोगमा भारतको मोतिहारीबाट रक्सौल हुँदै अमलेखगन्ज सम्म विछ्याइएको पाइपलाइनबाट आएको पेट्रोलियम पदार्थ उपभोक्ताले पाउनेछन् । ६९ किलोमिटरको यो पाइपलाइनबाट प्रतिघण्टा २० लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात हुनेछ ।
भारत सरकार र नेपाल सरकारको सयुक्त लगानीमा निर्माण भएको यो पाइपलाइनको लागि भारत सरकारले २०० करोड भारु र नेपाल सरकारले ७५ करोड खर्च लाग्ने अनुमान गरिएको थियो । तर, निमार्ण सम्पन्न हुने बेलासम्म ३ सय २४ कारोड भारु खर्च भएको भएको नेपाल आयल निगमले बताएको छ।
अहिले नेपाल भित्रिने पेट्रोलको ५० प्रतिशत विरगन्ज भन्सारबाट मात्रै आउछ । पाइपलाइन पछि भने विरगन्ज भन्सारबाट भित्रिने पेट्रोलको मात्रा बढ्ने गोइत बताउछन् ।
उपभोक्तालाई के फाइदा ?
यति धेरै खर्च गरेर महत्व दिइएको यो आयोजनाबाट नेपाली उपभोक्ताले फाइदा के पाउछन्? प्रवक्ता गोइतले भनेको जस्तै परिक्षण सफल भएमा अगस्ट महिना भरिमा पाइपलाइनको पेट्रोलियम पदार्थ नेपाली उपभोक्ताले प्रयोग गर्नेछन् । सरकारले निकै ठुलो महत्व दिएको यो पाइपलाइनले उपभोत्तालाई भने के फाइदा होला त ?
‘उपभोक्ताकै लागि भनेर बनाइएको पाइपलाइनले उपभोक्तालाई नै फाइदा नहुने भन्ने त कुरै हुदैन नि,’ निगमका प्रवक्ता गोइत भन्छन्, ‘पाइपलाइनबाट पेट्रोलिय पदार्थ आएपछि सबैभन्दा ठुलो फाइदा भनेको यसको मूल्य घट्छ ।’
उनले पाइपलाइनबाट पेट्रोल आयात हुन थालेपछि मूल्य घट्ने भए पनि कतिले घट्ने भन्ने चाहिँ पक्का भएको छैन ।
निगमले ट्याङकर बाट तेल ढुवानी गर्दा काठमाडौं सम्मको ढुवानी खर्चको रुपमा प्रतिलिटर ३ रुपैयाँ ४८ पैसा जोडेको छ ।
निगमले मूल्य घट्ने बताएपनि अमलेखगन्ज देखि काठमाडौं सम्मको ढुवानी खर्च भने घट्ने छैन । यसले मूल्यमा नगन्य खर्च मात्रै कम हुने देखिन्छ । निगमले मोटो रकम खर्च गरेर बनाएको पाइपलाइनले पेट्रोलियम पदार्थ उपभोक्ताका अन्य समस्या भने सम्बोधन गर्ने देखिदैन ।
‘ट्याङकहरु भन्सारमा लामो लाइनमा बस्नु पर्ने समस्या पनि हल हुनेछ,’ प्रवक्ताले थप्छन्, ‘अब ट्याङकर भन्सार कटेर जानु नपर्ने भएकाले ढुवानी सहज हुन्छ ।’
नेपालमा आउने पेट्रोलियम पदार्थको मिसावटको समस्या भने यसले समाधान गर्ने देखिदैँन । यस्तै, बेला बेलामा भइरहने ट्याङकर व्यवसायीको हडतालले उपभोक्तामा पर्ने असरको विषयमा पनि यसले कुनै सम्बोधन गर्ने छैन।