कर्णाली प्रदेशमा अब कारबाहीमा परेका सवारी साधनहरूको जरिवाना बैंकमार्फत् तिर्नुपर्ने भएको छ। आर्थिक वर्ष ०७६/७७ (साउन १ गते) देखि ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारी साधनहरूको जरिवाना बैंकमार्फत् तिर्नुपर्ने व्यवस्था गरिएको हो।
राष्ट्रिय वाणिज्य बैंकमार्फत् जरिवानाबापतको रकम तिर्नुपर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
राष्ट्रिय वाणिज्य बैंकका शाखा रहेका ठाउँबाट सवारी धनी वा चालकले जरिवाना रकम तिर्न सक्ने कार्यालय प्रमुख प्रहरी निरीक्षक हरि बहादुर क्षेत्रीले जानकारी दिए।
सुर्खेतको हकमा राष्ट्रिय वाणिज्य बैंकका तीन वटा शाखा रहेका छन्। वीरेन्द्रनगरसहित पूर्वको मेहलकुना र पश्चिमको विद्यापुर शाखाबाट जरिवाना रकम जम्मा गर्न सकिनेछ।
ट्राफिक प्रहरीले रसिद दिएर नगद लिने व्यवस्थाको जनताले विश्वास नगर्ने अवस्था देखिँदै आएकाले यस्तो व्यवस्था गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले बताए। यसरी बैंकमार्फत् नै जरिवाना लिँदा पारदर्शी र सवारी चालकले ठग्ने सम्भावना नहुने उनले बताए।
नियम उल्लंघन गरी सवारी साधन चलाएका व्यक्तिले चेकजाँचका क्रममा ट्राफिक प्रहरीले दिएको तोकिएको रकमसहितको २४ घण्टे पूर्जी लिएर वाणिज्य बैंकको शाखामा रकम बुझाउनुपर्ने छ।
रकम तिरिसकेपछि बैंकले दिएको रसिद चालक वा सवारी धनीले ट्राफिक प्रहरी कार्यालयमा बुझाएर जफत भएका कागजपत्र लिन सकिने प्रहरी निरीक्षक बिसीले जानकारी दिए।
कर्णाली प्रदेशको हकमा तीन दिनभित्र पूर्जी दिएर बैंकमा रकम बुझाइसक्नुपर्ने उनले बताए। कर्णाली प्रदेशमा भौगोलिक विकटताका कारण बैंकमा पुग्न समय लाग्ने भएकाले तत्कालका लागि तीन दिनको समय तोकिएको बिसीले बताए।
बिसीका अनुसार २४ घण्टे पूर्जीमा सवारी चालकको नाम, ठेगाना, सवारी साधन नम्बर, बैंकको भौचर नम्बर, जफत गरिएका कागजपत्र, कसूरसम्बन्धी दफा, जरिवाना रकम उल्लेख गरिएको हुनेछ।
साथै पूर्जीको पछाडिपट्टि सवारी चालकले गरेको गल्तीको विवरण हुनेछ। तीमध्ये कुन गल्ती हो त्यसमा चिन्ह लगाइएको हुनेछ। सोही आधारमा बैंकले जरिवाना बापतको रकम बुझ्नेछ।
बैंकमा बुझाएको जरिवाना रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको कोड नम्बरका आधारमा सम्बन्धित राजस्व कार्यालयमा दाखिला हुने प्रहरी निरीक्षक बिसीले जानकारी दिए।
कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतका विभिन्न १३ ठाउँहरूमा ट्राफिक प्रहरीमार्फत् सवारी चेकजाँच गर्ने कार्य भइरहेको उनले जानकारी दिए।
सुर्खेतमा मात्र २ हजार १ सय ५१ वटा सवारी साधन चल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जसमध्ये १७ हजार ३५८ मोटरसाइकल, १९४ जीप तथा कार, ट्रक ३३२, पावर टेलर १६५, बस ५२८, ट्याक्टर ४७४ र अटोरिक्सा १ हजार १०० रहेका छन्।
यस्तै, सुर्खेतमा ४७५ किलोमिटर सडक सञ्चालनमा रहेको छ।
चालू आवमा डेढ करोड राजस्व
कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लाबाट मात्र आर्थिक वर्ष ०७५/७६ मा डेढ करोड रुपैयाँ राजस्व संकलन भएको छ। विभिन्न सवारी साधनमाथि गरिएको कारबाहीका क्रममा १ करोड ६४ लाख ५८ हजार ५०० रुपैया राजस्व संकलन भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रदेशका राजधानी भएसँगै सवारी साधनको चाप बढेका कारण राजस्व संकलन धेरै भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीले बताए।
यो अघिल्ला वर्षहरूको तुलनामा हालसम्मकै धेरै राजस्व संकलन भएको उनले बताए। उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ८७ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
यो आर्थिक वर्षमा सुर्खेत जिल्लामा चलेका २७ हजार ९३ विभिन्न सवारी साधन कारबाहीमा परेको कार्यालयले जनाएको छ। जसमध्ये सबभन्दा धेरै पुस महिनामा २ हजार ८७३ वटा सवारी साधन कारबाहीमा परेका थिए। पुस महिनामा १९ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
६५ दुर्घटना, २९ जनाको मृत्यु
सुर्खेतमा आर्थिक वर्ष ०७५/७६ मा ६५ वटा सवारी साधन दुर्घटना भएका छन्। ती दुर्घटनामा परेका २९ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी १८१ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
दुर्घटना सबभन्दा धेरै बस भएका छन्। १५ बस, ८ ट्रक, ५ जीप, २१ मोटरसाइकल, ८ ट्याक्टर र ७ अटोरिक्सा ०७५/७६ मा दुर्घटना भएको कार्यालयले जनाएको छ। जसमा २१ पुरुष, ८ जना महिलाको मृत्यु भएको छ।
कारबाहीमा परेका सवारीका चालकलाई बैंकमा जरिवाना रकम बुझाउन जाँदा दिइने पूर्जी। तस्वीरहरू :
जिल्ला ट्राफिक प्रहरी कार्यालय।