नेपाली आकाशलाई कालोसूचीमा राखेको युरोपियन युनियनले हेलिकप्टर दुर्घटना न्यनीकरण हुन नसकेको भन्दै तत्काल हटाउन सम्भव नभएको प्रतिक्रिया दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई इयुले नेपालमा संस्थागत सुधारको प्रत्याभुति पनि नभएकाले कालोसूचीबाट हटाउन कठिन भएको प्रतिक्रिया दिएको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)ले सन् २०१३ मा नेपालको हवाई आकाश असुरक्षित भएको भन्दै गम्भिर सुरक्षा चासोमा राखेको थियो।
त्यसलगत्तै सन् २०१४ मा युरोपियन कमिसनको अनसाइट अडिट भ्रमण भयो। उक्त भ्रमणले नेपालको आइकाओले देखाएका सुरक्षा चासोहरु सम्बोधन नभएसम्म सुरक्षा लिस्टमा राख्नुपर्ने सुझाव दियो।
नेपालमा वायुयान दुर्घटनादर अधिक रहेको र नियमन पनि प्रभावकारी नभएको इयुको निष्कर्ष थियो।
सन् २०१७ मै आइकाओले हटाएपनि इयुले भने कायमै राखेको छ।
आइकाओले हटाएपछि नेपालले इयुलाई पछिल्लो समय सुधार भएको भन्दै पत्राचार गरेको थियो। तर त्यसमा इयुले सकारात्मक सन्देश पठाएको छैन।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालमा हवाई सुरक्षाका लागि सुधार कार्यान्वयनको अवस्था ६६ प्रतिशतभन्दा माथि रहेको र अन्य सुधार पनि भइरहेको भन्दै इयुलाई आग्रह गरिएको बताउछन्।
'हामीले हेलिकप्टरलाई सामन्य एभिएसनमा राखौ भनेका छौ, व्यावसायिक उड्डयनको दुर्घटना दर उकदमै न्यून छ। तर पनि उनीहरुले मानिरहेका छैनन। यसको मतलब हामी सुधार नै नगर्ने होइन। सुरक्षाका लागि अन्य मापदण्डलाई कडाइ गर्दै छौ' उनले भने।
नेपालमा हेलिकप्टरको सेफ्टी अडिटलाई कडाइ गरिने र पाइलटको नियमन पनि कडा गरिने उनले जानकारी दिए। हेलिकप्टर सेवाप्रदायक आफैले सेफ्टी अडिट गराउनुपर्ने र क्यानको अडिटमा फेल भए लाइसेन्स खारेज गरिदिने उनले चेतावनी दिए।
त्यस्तै इयुको मुख्य चासो नेपालमा उड्डयन नियमकको व्यवस्था हो। नियमक र सेवाप्रदायक आफै भएको इयुको आरोप छ। नेपालमा नागरिक उड्डयन प्राधिकरण नियमक हो। तर उसको भुमिका व्यापारमा पनि छ। जस्तो नेपालका धेरै विमानस्थल सञ्चालन र निमार्णमा उसको संलग्नता छ।
इयुले नियमक र सेवाप्रदायक अलग हुनुपर्ने तर्क गर्दै आएको छ।
यसमा सुधारको शुरुवात गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए। क्यानलाई सेवा प्रदायक र नियमकमा विभाजन गर्नका लागि कानून निर्माण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
'हामीले उनीहरुका चासो सम्बोधनका ठोस प्रयास शुरु गरेका छौ। अब हाम्रो प्रश्न हुने छ हामीले त गर्यौ तर तपाईहरुले कहिले हेर्नुहुन्छ?'उनले भने।