९ वर्षपछि गत आर्थिक वर्षमा नेपालको भुक्तानी सन्तुलन घाटामा देखियो । गत आर्थिक वर्ष २०७५/७६मा भुक्तानी सन्तुलन ६७ अर्ब ४० करोड रुपैयाँ ऋणत्मक भएको हो । यसअघि ९ वर्ष पहिले आर्थिक वर्ष २०६६/६७ मा ३३ करोड २५ लाख ऋणात्मक थियो ।
विदेशबाट भित्रिएको रकम र देशबाट बाहिरिएको रकम बीचको अन्तरलाई भुक्तानी सन्तुलन भनिन्छ । यस्तो गणना गर्दा भित्राइएको र बाहिरिएको रकम गणना गर्ने समय भने एउटै हुनुपर्छ । सामान्यतया हरेक देशले यसको रेकर्ड मासिक रुपमा राख्छन् । नेपालमा पनि मासिक रुपमा यस्तो तथ्याङ्क नेपाल राष्ट्र बैंकले राखेको हुन्छ ।
गत वर्ष नेपालको भुक्तानी असन्तुलन हुनुको अर्थ वर्ष भरिमा विदेश बाट नेपाल भित्राइएको रकम भन्दा नेपाल बाट बाहिरिएको रकम ६७ अर्ब ४० करोडले बढी छ । त्यसैले यसलाई ऋणात्मक भुक्तानी सन्तुलन भनिएको हो ।
भुक्तानी सन्तुलनलाई चालु र पूँजीगत खातामा बाँढेर हेरिन्छ ।
चालु खातामा अन्तर्राष्ट्रिय व्यापार, रेमिट्यान्स तथा वैदेशिक सहयोग आदि पर्छन् । पूँजीगत खातामा वैदेशिक लगानी फिर्ता जादाको रकम, विदेशी लगानीकर्ताले गरेको नाफा आदि पर्छन् ।
यसको असर अर्थतन्त्रमा कस्तो हुन्छ ?
पुर्व अर्थसचिव रामेश्वर खनाल भुक्तानी सन्तुलन अन्य आर्थिक सूचकहरु नकारात्मक भएकोले डर मान्नुपर्ने बताउछन् ।
‘भुक्तानी सन्तुलन कहिले काँही नकारात्मक हुनसक्छ त्यो ठुलो र नौलो कुरा होइन,’ खनालले भने, ‘तर योसँगै खुद निर्यात तथा चालु खाता नकारात्मक देखिनु, विदेशी मुद्राको सन्चिती घट्नु, विदेशी लगानी घट्नुले भने अर्थतन्त्रमा डर सृजना भएको छ ।’
खनालले भनेको जस्तै गत वर्ष नेपालको खुद निर्यात घाटामा छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा गत आर्थिक वर्षमा नेपालको खुद निर्यात १५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा नेपालको खुद निर्यात १३ खर्ब १३ करोड ६८ लाख घाटामा छ ।
खुद निर्यातमा देशबाट निर्यात गरिएको बस्तु तथा सेवाको मूल्यबाट आयात गरिएको बस्तु तथा सेवाको मूल्य घटाइन्छ । नेपालमा अहिलेसम्म खुद निर्यात घाटामा छ भन्नुको मतलब नेपालबाट निर्यात गरिएको बस्तुको तुलनामा आयात गरिएको बस्तुको मूल्य १३ खर्ब १३ करोडले बढी छ ।
यस्तै, सोही अवधिमा नेपाल भित्रिएको रेमिट्यान्स भने १६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालमा ८ खर्ब ७९ अर्ब २७ करोड १३ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यो ७ खर्ब ५५ अब थियो ।
यी समस्टिगत आर्थिक सुचकले गर्दा नेपालको चालु खाता घाटामा गएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पछिल्ले तीन वर्षदेखि चालु खाता घाटामा छ । गत आर्थिक वर्षमा मात्रै २ खर्ब ६५ अर्ब ३६ करोड ५९ लाख चालु खाता घाटामा रहेको तथ्याङ्कले देखाउछ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा यो घाटा क्रमश: १० अर्ब १३ करोड र २ खर्ब ४७ अर्ब ७५ करोड थियो । यो वर्ष चालु खाताको घाटा १७ अर्ब ८० करोडले बढेको हो ।
चालु खातासँगै नेपालको पूँजीगत खाता पनि सोचेको जस्तो बलियो छैन । पछिल्लो समय वैदेशिक लगानीमा खासै सुधार भएको छैन।
गत वर्ष १३ अर्ब ७ करोड प्रत्यक्ष वैदेशी लगानी भित्रिएको राष्ट्र बैंक जनाउछ । यसअघिको वर्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड थियो ।
यस्तै पछिल्लो समय नेपालको बैंदेशिक मुद्रा सन्चिती पनि घटेको छ । आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब २ अर्ब ५९ करोड रहेको विदेशी मुद्रा सन्चिती त्यसपछि घटेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा यो संचिती १० खर्ब ३८ अर्ब ९२ करोडमा झरेको छ।
राष्ट्र बैंकककै अनुसार यो सञ्चितिले ७ महिनासम्म बस्तु तथा सेवाको आयात धान्न सक्छ । चालु आर्थिक वर्षमा पनि राष्ट्र बैंक सात महिनाकै बस्तु र सेवाको आयात धान्न सक्ने गरि सञ्चितीको लक्ष्य लिएको छ ।
रामेश्वर खनाल यी सबै सुचकहरुले एकै पटक नकारात्मक हुदाँ अर्थतन्त्रमा असर पर्नसक्ने बताउछन् ।
कसरी?
विदेशी मुद्रा सञ्चिती घट्दा विदेशी लगानीकर्ताले लगानी गरेको नाफा लैजान पाइँदैन कि भन्ने डरले विदेशी लगानी कम आउन सक्ने खनालको विचार छ ।
‘सञ्चिती कम हुदाँ उनीहरु लगानी गरेपछि नाफा वा सवाँ नै फिर्ता लैजान चाहेको बेलामा विदेशी मुद्रा नपाइने डरले लगानीनै गर्दैनन्,’ ९ वर्ष पहिलेको भुक्तान सन्तुलनको अवस्था सम्झैदै भने ‘त्यो बेलामा विदेशी मुद्रा सञ्चिती पनि बढी र भुक्तान सन्तुलन पनि कुल ग्राहस्र्थ उत्पादनको तुलनामा कम भएकाले खासै समस्या परेको थिएन । तर, अहिले सबै कुरा नकारात्क भएकाले अर्थतन्त्रमा समस्या हुन सक्छ ।’
सरकार भने विकासका पुर्वाधार निमार्णको आयात बढेकाले व्यापार घाटा बढेको तर्क गर्दै आएको छ ।
आर्थिक वृद्धिको बेलामा आयात बढ्ने भएपनि कस्तो बस्तुको आयात बढाइरहेका छौं भन्ने विषयमा ध्यान दिनुपर्ने खनालको भनाइ छ।
‘आर्थिक वृद्धिमा सहयोग गर्ने साधनको आयात बढाएको भए ठिकै हो तर अन्य बस्तुको आयात बढाएको भए त्यसले आर्थिक वृद्धि पनि हुदैन ’ खनालले भने।
अन्तर्राष्ट्रिय व्यापारका जानकार तथा अर्थशास्त्री पोषराज पाण्डे केही महिना यस्तै अवस्था रहे अर्थतन्त्रलाई संकटमा पुर्याउने बताउछन् ।
‘२० देखि २४ महिनासम्म यसमा सुधार भएन भने हामी पनि पाकिस्तान जस्तो अवस्था भोग्नु पर्छ,’ उनले भने ।
अहिले पाकिस्तानले निकै ठुलो आर्थिक संकटमा रहेको बताइन्छ । वैदेशिक ऋण तिर्नको लागि अहिले उसले ऋणको खोजी गरिरहेको छ । पछिल्लो समय आइएमएफबाट मात्रै उसले ठुलो रकम ऋण लिएको थियो ।
पाण्डे पाकिस्तानमा जस्तो नेपाललाई ऋणले नगाजेपनि वैदेशिक व्यापारमा भएको असन्तुलनले सोधानान्तर घाटा बढाई भविष्यमा विदेशी सामान आयत गर्नै नसकिने अवस्था आउन सक्ने संकेत गर्छन् ।
‘अहिले जिडिपीको तुलनामा आयातको वृद्धिदर बढीरहेको छ, त्यसैको असर हो सोधानान्तर अवस्था,’ उनले भने, ‘पछि वैदेशिक व्यापारमा फाइनान्सिङ गर्नको लागि न विदेशी लगानी बढेको छ, न रेमिट्यान्स ।’
अहिले विदेशी मुद्राको पहिलो र महत्वपुर्ण स्रोत रेमिट्यान्सलाई मानिन्छ । कुनै बेला वैदेशिक व्यापारमा फाइनान्सिङ गर्ने रकममा ९० प्रतिशत हिस्सा रेमिट्यान्सको थियो । अहिले त्यो घटेर ७० प्रतिशतमा सिमित भएको छ । रेमिट्यान्सको वृद्धि सुस्त र आयात तीब्र हुदाँ पनि सोधानान्तर घाटाको अवस्थामा आएको देखिन्छ ।
पाण्डे यसको समाधानका लागि देशले निर्यात जन्य बस्तु उत्पादनमा ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।
‘अहिलेसम्म सोधानान्तर घाटाको भार रेमिट्यान्सले धानेको थियो तर त्यो दिर्घकालिन समाधान होइन’ उनले भने, ‘अब निर्यातलाई प्रोत्साहन गर्ने गरि सरकारले नीति बनायो भनेमात्रै यो संकट रोक्न सकिन्छ ।’