नेपाल विद्युत प्राधिकरणले कोहलपुर-सुर्खेत-दैलेख विद्युत प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान गरेको छ।
मंगलबार प्राधिकरणले १३२ केभी प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान गरेको हो।
सामान्य पोलमार्फत् पुर्याइएको विद्युत प्रसारण लाइनका कारण उपभोक्ताले बेलाबेला सास्ती खेप्ने गरेका छन्। ठूलो हावा चल्दा, पानी पर्दा विभिन्न समयमा विद्युत अवरूद्ध हुने गरेको छ।
ठूला टावरसहित अब बन्ने प्रसारण लाइनले उपभोक्तालाई हुने सास्ती हट्ने विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्र प्रमुख टंकराज गिरीले बताए।
कोहलपुरदेखि सुर्खेतसम्म ट्रान्समिसन लाइन निर्माण हुने उनले जानकारी दिए। कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख रविसिं चौधरीका अनुसार २४ महिनाभित्र प्रसारण लाइन निर्माणको काम सक्ने गरी ठेकेदार कम्पनीलाई कामको जिम्मा दिइनेछ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएसँगै क्षमता विस्तार कार्य अघि बढ्ने बाटो खुलेको हो।
नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले आयोजनाले पार्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो।
सुर्खेतसम्म करिब ५१ किलोमिटर प्रसारण लाइन डबल सर्किटको हुनेछ। आयोजनाको कुल लम्बाइ करिब ५१.४६२ किलोमिटर रहेको चौधरीले जानकारी दिए।
प्रसारण लाइनमा एंगल टावरहरू २६ वटा रहनेछन्। जम्मा १४५ टावरहरू रहने छन्।
सुर्खेतमा रहने सवस्टेसनको क्षेत्रफल ३.७२४९ हेक्टर रहने जनाइएको छ।
आयोजनाको अनुमानित लागत भने टेण्डरपछि मात्रै थाहा हुने प्रमुख चौधरीले बताए।
उनका अनुसार आयोजना क्षेत्रको स्थलगत सर्वेक्षण अनुसार प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा सामुदायिक र सरकारी वन पर्छन्।
आयोजनाबाट बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी नगरपालिका र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको छ।
२०४५ सालमा विस्तार भएको कोहलपुर-सुर्खेत-दैलेख विद्युत प्रसारण लाइन ३० वर्षपछि पूर्णरूपमा विस्तार गर्न लागिएको हो।