सुर्खेतको भेरीगंगा नगरपालिकामा सिटी बसपार्क निर्माण हुने भएको छ।
भेरीगंगा नगरपालिकाले कार्यपालिकाको बैठकबाट सिटी बसपार्क निर्माणको निर्णय गरी प्रदेश सरकारलाई प्रस्ताव पेश गरेको थियो। प्रस्ताव अनुसार सिटी बसपार्क निर्माणको लागि प्रदेश सरकारले समेत अनुमति दिएको छ।
साढे २३ करोड लागतमा भेरीगंगामा निर्माण गर्न लागिएको बसपार्क कर्णाली प्रदेशको दोस्रो सिटी बसपार्क हो।
यसअघि करिब आठ वर्षअघिदेखि निर्माण थालिएको सिटी बसपार्क सुर्खेतको वीरेन्द्रनगरमा निर्माण भएको छ। तर यो बसपार्क सञ्चालनमा भने आउन सकेको छैन।
बसपार्क निर्माणका लागि सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ परेको भेरीगंगा नगरपालिकाका कार्यवाहक मेयर तथा उपमेयर रेणु आथार्य ढकालले जानकारी दिइन्।
उनका अनुसार २.१५ हेक्टर जग्गामा बसपार्क बन्नेछ।
भेरीगंगा–१२ छिन्चुदेखि जाजरकोटतर्फ छुट्टिने बाटोनजिक बन्ने बसपार्कको लागि वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) र डिपीआर गर्ने कार्य सकिएको ढकालले जानकारी दिइन्।
उक्त सिटी बसपार्क कर्णाली प्रदेशका सबै जिल्लामा चल्ने यातायातका साधनहरूले प्रयोग गर्न सक्ने कार्यवाहक मेयर तथा उपमेयर ढकालले बताइन्।
बसपार्कमा अटो रिक्सा, हाइस, कार, बस जस्ता सवारी साधनको लागि छुट्टाछुट्टै पार्किङको व्यवस्था गरिनेछ।
उक्त बसपार्क निर्माणपछि राति बास बस्नुपरेमा २५ वटा गाडी एकसाथ पार्किङ गर्न सकिनेछ भने दिनमा यातायातका साधन आवतजावत गर्नेक्रममा डेढ सयदेखि दुई सय सवारी साधनले बसपार्क उपयोग गर्न सक्ने ढकालले जानकारी दिइन्।
सिटी बसपार्क बन्ने उक्त जग्गा सामुदायिक वनभित्र पर्ने उपमेयर ढकालले बताइन्।
उक्त वनको वनस्पति मासेर बसपार्क बनाउनुपर्ने भएकाले बसपार्क निर्माणपछि आवश्यक वृक्षरोपण गरिने उनले बताइन्।