राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य संरचनाहरू धमाधम तयार हुँदैछन्।
धावनमार्ग, नदी डाइभर्सनलगायतका महत्वपूर्ण कामको निर्माण सकिएको छ। जहाज पार्किङ, धावनमार्गमा मार्किङ गर्ने काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ भने लाइटिङका लागि पूर्वाधार तयार भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।
यद्यपी विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै केही समय लाग्ने भएको छ।
‘सन् २०१९ भित्रै निर्माण सकेर २०२० को जनवरीबाटै अन्तर्राष्ट्रिय उडान गर्ने भनिए पनि मार्चसम्म बल्ल क्यालिब्रेसन उडान हुने भएको छ’, उनले भने, ‘यसले गर्दा विमानस्थल पूर्ण सञ्चालनमा आउन समय लाग्ने भएको हो।’
विमानस्थल निर्माणको सुरूआती चरणमा तीव्र रूपमा काम भए पनि बीचमा करिब एक वर्ष विभिन्न कारणले गति लिन सकेन।
अहिले कामले गति लिए पनि बीच समयमा केही ढिलाइ हुँदा निर्धारित समयमा सकिनुपर्ने कतिपय काम पूरा हुन सकेका छैनन्।
अहिले ८/९ महिनामा अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी कामलाई तीव्र बनाइएको छ।
२०१९ भित्रै सबै काम सम्पन्न गरी सन् २०२० को जनवरीदेखि अन्तर्राष्ट्रिय उडान गर्ने भनिए पनि केही पर धकेलिने निश्चित छ। भौतिक संरचनाको काम सकिए पनि मेसिनरी सामग्री जडानको काम बाँकी रहने देखिएको छ।
यसले गर्दा सन् २०२० को मार्चसम्म मात्रै क्यालिब्रेसन फ्लाइट गर्न सकिन्छ।
क्यालिब्रेसन फ्लाइट भए पनि टेष्ट फ्लाइट गर्न कम्तीमा एक महिना समय लाग्ने निर्माण कार्यमा सहभागी अधिकारीहरूले बताउँछन्।
त्यसपछि मात्रै अन्तर्राष्ट्रिय फ्लाइट गर्न सकिने आयोजना प्रमुख अधिकारी बताउँछन्।
आयोजनाका अनुसार टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्यांकी, प्रशासनिक भवन, सवस्टेशन, सुरक्षा गार्ड भवन निर्माण तथा अन्य आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ। विद्युतीकरणको काम जारी छ। यस्तै, ट्याक्सी पार्किङको काम सुरू भएको उनले बताए।
‘अन्तर्राष्ट्रिय प्रस्थान भवनको छाना लगाउने काम भइरहेको छ’, उनले भने, ‘अन्य भवनहरूको फिनिसिङको काम पनि सुरू भएको छ।’
एप्रोनको काम अबको १५ दिनभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख अधिकारीले बताए।
आइसिबी एक अन्तर्गत भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा रहेको छ। यो काम चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले गरिरहेको छ।
आइसिबी दुई अन्तर्गत मेसिनरी सामान जडानको काम एरो थाई कम्पनीले बल्ल सुरू गरेको छ।
विमानस्थल सञ्चालनका लागि मेसिनरी सामान जडान महत्वपूर्ण मानिन्छ।
आयोजनाका अनुसार कन्वेयर बेल्ट, लिफ्ट, युपियस, सिसी क्यामेरा, यात्रु जानकारी मेसिन, झोला जाँचकी मेसिन, हवाई उडान जानकारी दिने मेसिन, एक्सरे मेसिन लगायतका सामग्री खरिद प्रक्रियामै छन्।
यी सबै मेसिनरी सामान तेस्रो मुलुकबाट ल्याउनुपर्ने भएकाले कम्तीमा ५/६ महिना लाग्ने छ।
सरकारले विमानस्थल व्यवस्थापन जिटुजी मोडलमा लैजाने निर्णय गरिसकेको छ।
कुन देशलाई व्यवस्थापनको जिम्मा दिने अझै निर्णय भएको छैन। यसले गर्दा पनि अझै ८/९ महिना विमानस्थल सञ्चालनमा आउन मुश्किल छ।
वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित यो विमानस्थल निर्माण भइरहेको छ।