राष्ट्रिय योजना आयोगले दीर्घकालिन प्रभाव पार्ने क्षमता भएका गेमचेन्जर(रुपान्तरणकारी) आयोजनाहरुको खोजी सुरु गरेको छ।
आयोगले गेमचेन्जर आयोजना माग गर्दै विकासे मन्त्रालयहरुलाई पत्राचार गरिसकेको छ।
देशको समग्र विकासमा योगदान गर्नसक्ने स्पष्ट आधार, त्यस्ता आयोजनाको निर्माण अवधि र लागतसहितको अवधारणपत्र पठाउन आयोगले विकासे मन्त्रालयलाई पत्राचार गरिसकेको आयोगका सदस्य सुशिल भट्टले जानकारी दिए।
आयोगले यस्ता आयोजना छनोटकालागि ९ वटा क्षेत्र निर्धारण गरेको छ—१) यातायात, सूचना प्रविधि र सञ्चार पूर्वाधार २) मानव पुँजी निर्मााण र उद्दमशीलता विकास ३) जलविद्युत उत्पादन र हरित अर्थतन्त्र निर्माण उत्पादन ४) उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता विकास ५) गुणस्तरीय पर्यटन सेवा ६) दिगो सहरीकरण ७) प्रादेशिक र स्थानीय अर्थतन्त्रको विकास ८) सामाजिक सुरक्षा ९) सुशासन अभिवृद्दी ।
मन्त्रालयहरुले योजनाका बिस्तृत विवरण र अवधारणापत्र पठाउने छन्। यसरी पठाउँदा उनीहरुले अहिले चालु अवस्थामा रहेका उच्च प्राथमिकता प्राप्त आयोजनाको कार्यान्वयन र नयाँ ‘गेमचेन्जर' योजनाको सम्भावनाका बारेमा विस्तृतमा उल्लेख गर्नेछन्।
त्यसरी पठाएपछि आयोगले प्राथामिकताका आधारमा योजना छनौट गर्ने छ। त्यसपछि ती आयोजनाको तयारीको काम अघि बढ्छ।
‘कुनै पनि आयोजना किन र कसरी महत्वपूर्ण छ, त्यसको विश्लेषणका आधारमा छनोट हुनेछ,’ भट्टले भने।
उदाहरणकालागि कुनै सडकको स्तरोन्नति प्रस्ताव छ भने स्तरोन्नति भएपछि यात्राको समय र लागत कति घट्छ, त्यसले कति सेवा दिनसक्छ जस्ता आधारसहित आयोजना छनौट हुनेछन्।
मन्त्रालयहरुले आयोजनाको सम्पूर्ण लागतसहितको योजना पठाउने छन्। त्यसमा आयोजनाको तयारीमा लाग्ने समय, त्यसले पार्ने प्रभाव, अहिलेको आवश्यक्ता, श्रोतको आँकलन जस्ता कुरा स्पष्टरुपमा उल्लेख हुनेछन्।
यसरी ‘गेमचेन्जर’ योजनाको छनोट गरेपछि पनि तिनको कार्यान्वयन कति प्रभावकारी हुनेछ भन्ने प्रश्न कायमै छ।
विकास निर्माणलाई तीव्र गति दिन भन्दै सरकारले आर्थिक वर्ष २०६८/०६९ देखि राष्ट्रिय गौरवका आयोजनाको सूची बनाएको थियो। सुरुमा १७ ओटा योजना रहेको यो सूचीमा चालु वर्षसम्ममा २५ योजना समेटिएका छन्।
आयोजना कार्यान्वयनका दौरान आइपर्ने विभिन्न समस्यालाई छिटो सल्टाउन नीतिगत सहुलियत हुनेगरी विशेष प्राथमिकता दिने भन्दै सुरु भएका यस्ता आयोजनाको कार्यान्वयन पनि नियमित योजना जस्तै सुस्त छ। नीतिगत सहुलियतको घोषणा पछि पनि कुनै पनि योजनाले विशेष गति लिएका छैनन्। गेमचेन्जर आयोजनाको सुचीमा अहिलेका थुप्रै राष्ट्रिय गौरबका आयोजना पनि पर्नेछन्। धेरै नयाँ आयोजना पनि थप हुने छन्।
आयोगका सदस्य भट्ट भने ‘गेमचेन्जर’ आयोजनाको सूचिमा बढीभन्दा बढी कार्यान्वयन योग्य योजना पर्ने बतउछन्।
‘बहुआयामिक प्रभावसँगै यी योजना कार्यान्वयन गर्न सकिने पनि हुनेछन्,’ उनले भने।
यो सूचिमा राख्ने योजनाको एउटा निश्चित समयतालिका नै बनाउने उल्लेख गरे।
‘यी योजनाको लागतदेखि निर्माण अवधि पनि वास्तविकतामा आधारित हुनेछ। सबैभन्दा महत्वपूर्ण कुरा यी राष्ट्रिय लक्ष्यसँग जोडिने छन्' उनले भने।