सिटी मनी एक्सप्रेसले सन् २००७ देखि नेपालमा रेमिट्यान्सको कारोबार सुरु गरेको थियो। १२ वर्षको दौरानमा कम्पनीले विश्वका कुनामा रहेका नेपालीमाझ पुगेर सहज, सरल र सस्तो रेमिट्यान्स सेवा दिइरहेको छ।
रेमिट्यान्स धेरै भित्राउने देशमध्येमा नेपाल पनि पर्छ, तर नेपालले औपचारिक क्षेत्र भन्दा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्सको कारोबार हुने गरेको विज्ञहरु बताउँछन् ।
तर, वास्तविकता के हो? पछिल्लो समय रेमिट्यान्स कम्पनीका लागि कस्ता चुनौती छन्, सोही विषयमा सेतोपाटीका संवाददाता रोशन सिग्देलले सिटी एक्सप्रेस मनीका प्रवन्ध निर्देशक चन्द्र टण्डनसँग गरेको कुराकानीः
सिटी एक्सप्रेस मनी ट्रान्सफरबाटै पैसा किन पठाउने?
जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस’ हाम्रो नारा हो। त्यसैले विदेशमा दुख गरेर कमाएको पैसा आफ्नो देशमा सहजरुपमा पठाउने वातावरण हुनुपर्छ। जहाँबाट सस्तो हुन्छ त्यहाँबाट नै पठाउने हो। उनीहरुले सजिलो र सस्तो कम्पनी खोजिरहेका हुन्छन्।
पछिल्लो समय रेमिट्यान्स कम्पनीहरुले विकास भएको प्रविधिलाई आत्मसाथ गरेकाले पैसा पठाउन सहज र सस्तो भएको हो।
सिटी मनीको सेवा जसले प्रयोग गर्नुभएको छ उहाँहरु निकै खुसी हुनुहुन्छ। जसले हाम्रो सेवाको वारेमा विस्तार समेत गर्नु हुन्छ।
अहिले कति वटा देशबाट सेवा दिइएको छ त?
संसारका जुन ठाउँमा नेपाली पुगेका छन्, सिटी एक्सप्रेसको सेवा त्यही पुर्याएका छौं। नेपाली भएको ठाउँबाट नेपालमा पैसा पठाउन मिल्ने गरी सन्जाल विस्तार गरेका छौं।
रेमिट्यान्स कम्पनीहरु धेरै छन्, कस्ता चुनौति खेपिरहनु भएको छ?
हो, संख्याका हिसाबमा धेरै आएको देखिन्छ। तर, हाम्रोमा रहेका सबै रेमिट्यान्स कम्पनी व्यावसायीक छैनन्।
नेपालमा एउटाले नयाँ व्यवसाय सुरु गरेपछि धेरैजसो सोही व्यवसाय अंगाल्न खोज्ने प्रचलन छ।
रेमिट्यान्सको कारोबार गर्ने व्यवसायीमा पनि त्यही देखियो। जसले केही प्रतिस्पर्धा पक्कै बढाएको छ। तर, यसलाई अवसरका रुपमा लिएका छौं।
अधिकांशले परम्परागतरुपमा रेमिट्यान्सको कारोबार गरिरहेका छन्। जसले हामीलाई भिन्न भएर कसरी रेमिट्यान्सको कारोबार गर्न सकिन्छ भन्नेमा सोच्न बाध्य बनाएको छ।
त्यसैले, रेमिट्यान्समा पछिल्लो प्रविधिको प्रयोग बढाएको हो।
ग्राहकलाई लाग्ने खर्च घटाउन र गुणस्तरीय सेवा दिन कोसिस गरिरहेका छौं।
रेमिट्यान्सलाई अझै सहज कसरी बनाउन सकिन्छ ?
अबको विकास भनेको प्रविधिमा हो। त्यसैले, हामीले प्रविधिमैत्री सेवा सुरु गरेका छौं। कसरी प्रभावकारी रुपमा कारोबार गर्ने भन्ने विषयमा केन्द्रित भएर काम गरिरहेका छौं। अरुको देशमा गर्ने कारोबार हामीले मात्रै चाहेर हुँदैन।
हरेक देशको आ–आफ्नो नीति हुन्छ, सोही नीतिअनुसार बैंकले नीति बनाउँछ। त्यो देशका रेमिट्यान्समा काम गर्ने व्यवसायीले पनि उक्त नीति लागू गर्नुपर्छ।
हामीले विदेश बस्ने सबै नेपालीको अध्ययन गरेर मोबाइल एप्लिकेसनबाट तथा एटिएमबाट पैसा पठाउने प्रविधिको विकास गर्न लागेका छौं। केही त्यस्ता प्रविधि त प्रयोगमै आइसके। जस्तैः दक्षिण कोरियमा मोबाइलबाटै पैसा पठाउन मिल्ने एप्लिकेसन बनाएका छौं।
कोरियामा भएका नेपालीले नयाँ प्रविधि प्रयोग गर्नसक्ने भएकोले यो सेवा कोरियाबाट सुरु गरेको हो। जापानमा पनि प्रविधिमैत्री बनाएका छौं।
त्यहाँबाट एटिएमबाटै पैसा पठाउन सकिन्छ। जापानको सबैभन्दा ठुलो बैंकसँग सहकार्य गरेका छौं।
जापानमा मोबाइल एप्लिकेसन भन्दा बढी एटिएम मेसिनको प्रयोग गर्ने हुनाले यसलाई प्रयोगमा ल्याएका हौं। हामीले यस्तै फरक–फरक प्रविधिको प्रयोग गरिरहेका छौं।
विदेशबाट सिटीमार्फत् पैसा पठाउँदा साच्चै सस्तो पर्छ?
अहिलेको उद्देश्य खर्च वा लागत घटाउने भएकाले सेवाग्राहीलाई लाग्ने शुल्क कम गर्ने काम गरिरहेका छौं।
प्रविधिको प्रयोग विस्तारै बढाउन सकियो भने त्यसले पक्कै पनि शूल्क घटाउन सहयोग गर्छ। हामीले नयाँ प्रविधिकाआधारमा कारोबार गर्ने भएकाले चार्ज कम भएको हो।
रेमिट्यान्स कम्पनीले हुन्डीलाई सहयोग गर्छन् भन्ने आरोप पनि लाग्छ नि?
रेमिट्यान्स कम्पनीले त्यस्तो कारोबार गर्न संभव नै छैन। हरेक देशले त्यहाँको कारोबारको निगरानी गरिरहेको हुन्छ। विदेशमा पनि रेमिट्यान्सको कारोबार संस्था हुन्छ। जसको आफ्नै नियम हुन्छ, जुन पालना गरेकै हुनुपर्छ। त्यसैले एकपटक रेमिट्यान्स भनेर आएपछि अन्य रुपमा प्रयोग गर्नै मिल्दैन।
जुन बैंकबाट पैसा पठाउनलाई जम्मा गरिएको हुन्छ, त्यो पैसा बैंकिङ च्यानलबाट नै नेपाल आउनुपर्छ, त्यसैले यस्तो काम असम्भव छ।
यस्ता विषयमा आइएमएफ विश्व बैंक जस्ता धेरै संस्थाहरुले पनि ध्यान दिइरहेका छन्।
अर्काेतिर हुन्डीको कारोबार गर्नेले नै रेमिट्यान्स कम्पनीलाई बदनाम गरेर योजनावद्धरुपमा यस्ता हल्ला फिजाएका छन्।
तर, रेमिटयन्स कम्पनी भन्दा पनि रेमिट्यान्स कम्पनीका एजेन्टहरु सहभागी हुनसक्छन्। कुनै एजेन्टलाई लोभलालचमा पारेर यस्ता काम गराउनु त फरक पाटो भयो नि।
अझै यसलाई प्रविधिले पनि असम्भव बनाएको छ। हामीले बैंकिङ प्रणालीलाई प्रविधिसँग जोडेपछि यस्तो काम गर्न कठिन हुन्छ।
रेमिट्यान्स कम्पनीले हुन्डीलाई सहयोग गरेको होइन, हुन्डी कारोबारी चाँही रेमिट्यान्स कम्पनीको लागि मुख्य चुनौतिका रुपमा छन्।
सिटीका ग्राहकहरुका लागि नयाँ कुरा के ल्याउँदै हुनुहुन्छ?
विदेशमा नेपालीहरु निकै दुख गरेर पैसा कमाउनु हुन्छ। त्यो पैसा सहजरुपमा आफ्नो ठाउँमा पुर्याउन सहयोग गर्नु हाम्रो काम हो।
आफ्ना ग्राहकको लागत घटोस्, सुरक्षित होस् भनेरै हामीले प्रविधिमा सुधार गरेका छौं। यसलाई अझै विस्तारित गर्नमा जोड दिईरहेका छौं।