भारतको दिल्ली र कोचिन विमानस्थल जस्तै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सोलार उर्जाबाट सञ्चालन गर्नेगरी तयारी सुरु भएको छ।
विमानस्थलमा आवश्यक उर्जा उत्पादनकालागि सोलार प्लान्ट राख्न विद्युत प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणबीच छलफल अघि बढेको हो।
विमानस्थलमा आवश्यक उर्जा सोलारबाट उत्पादन गर्ने र बढी भएको उर्जा विद्युत प्राधिकरणले लिनेगरी काम अगाडि बढाउन तयारी सुरु भएको छ।
यसकालागि दुई प्राधिकरणबिच सोलार प्लान्ट राख्ने जग्गाको भाडाका विषयमा छलफल भइरहेको नेपाल विद्युत प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले जानकारी दिए।
उनका अनुसार विमानस्थलको जग्गा प्रयोग गरेबापत उर्जा उत्पादकले भाडाबापत तिर्ने पैसा बिजुलीको बिल वा लगानीका रुपमा हिसाव गर्ने भन्ने मोडालिटीका बारेमा नागरिक उड्डयन प्राधिकरणले निर्णय गर्न बाँकी नै छ।
'उहाँहरुले त्यसबारेमा निर्णय गर्ने बित्तिकै हामी उक्त ठाउँमा सोलार प्लान्टका बारेमा अध्ययन गरी टेन्डर निकाल्छौ,' उनले भने।
भारतको केरला स्थित कोचिन अन्तराष्ट्रिय विमानस्थल सोलार उर्जाबाट मात्र चल्ने संसारकै पहिलो विमानस्थल हो। यो विमानस्थलले १२ मेगावाट बराबरको सोलार उर्जा उत्पादन गर्छ। एयरपोर्टको ४२ एकड जमिनमा उत्पादन गरिएको सबै सोलार उर्जा विमानस्थलमा खपत हुँदैन। वचत भएको उर्जा विमानस्थलले बजारमा बेच्छ।
मल्टिनेशनल कम्पनी जिएमआरले संचालन गरिरहेको दिल्लीको ईन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा पनि साढे-सात मेगावाट बिजुली सोलारबाट उत्पादन गरिएको छ। सन २०२० को अन्त्य सम्ममा २० मेगावाट सोलार उर्जा उत्पादन गर्ने विमानस्थलको लक्ष्य छ।
भैरहवा विमानस्थललाई चाहिने उर्जा सोलारबाट उत्पादन गर्नेगरी काम अघि बढाइएको नागरिक उड्डयन प्राधिकरणमा राष्ट्रिय गौरबका आयोजना हेर्ने निर्देशक प्रदिप अधिकारीले पनि बताए।
उनले यसमा आफूहरु जग्गा दिन तयार भएको तर त्यसको मोडालिटीका बारेमा छलफल भइरहेको बताए।
'यसमा हामीबीच छलफल भइरहेको छ। जग्गाको आर्थिक पाटोबारे छिटै निर्णय गरेर हाम्रो काम सकिदिन्छौ। त्यसपछि प्राधिरकणले आफ्नो काम अघि बढाउछ' अधिकारीले सेतोपाटीसँग भने।
प्राधिकरण आफैले सोलार प्लान्ट राख्ने भने होइन।
विमानस्थलको जग्गा प्रयोग गरेर सोलार उर्जा उत्पादन गर्न खुल्ला प्रतिस्पर्धा मार्फत कम्पनी छनौट भएर आउँछन्। उनीहरुले त्यहाँ प्लान्ट राख्छन्। त्यसरी उत्पादन भएको बिजुली प्राधिकरणले किन्छ।
त्यसबाट प्राधिकरणले विमानस्थललाई बिजुली वितरण गर्छ।
अधिकारीहरुले १० देखि १२ मेगावाटसम्मको प्लान्ट लगाउन सकिने सम्भावना रहेको बताउँदै आएका छन्।
७८७ बिगाह क्षेत्रफलमा फैलिएको विमानस्थलको पहिलो चरणको काम यही माघमा सम्पन्न हुने बताइएको छ। त्यसपछि लगत्तै दोस्रो चरणको विस्तारको काम सुरु गर्ने तयारीमा प्राधिकरण रहको छ।
सोलार प्लान्ट राख्ने काम १८ महिना जतिमा सकिने सिलवालले जानकारी दिए। यसमा प्राधिकरणले जग्गाको आर्थिक मोडालिटी जतिसक्दो चाँडो सकायो उत्ति नै छिटो हुने उनको भनाइ छ।
नागरिक उड्डयनले काम सकाएपछि प्राधिकरणले टेन्डरको काम ६ महिनामा सक्ने र १ वर्षमा सोलार प्लान्ट जडानको काम सम्पन हुने उनले जानकारी दिए।
यो आयोजनामा सोलार प्लान्टका लागि विमानस्थल निर्माणमा लगानी गरिरहेको एसियाली विकास बैंकले नै सहायता उपलब्ध गराउने छ।