ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले अबको चार वर्षभित्र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य सम्पन्न भइसक्ने बताएका छन्।
सुरुङ निर्माणपछि बन्न लागेका बाँध र विद्युत पावर हाउस शिलान्यासका लागि सोमबार सुर्खेत आएका ऊर्जामन्त्री पुनले ढिलोमा चार वर्षभित्र आयोजना निर्माण भइसक्ने बताएका छन्।
उनले संघीय सरकारले भेरी–बबई डाइभर्सन आयोजनालाई रकम र जनशक्ति अभाव हुन नदिने बताएका छन्।
सोमबार आयोजित शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल सरकारले यो आयोजनालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ, आयोजनाका लागि आवश्यक पर्ने आर्थिक र जनशक्तिको कमी हुन दिने छैनौं।’
उनले आयोजना निर्माणका लागि प्रदेश, स्थानीय सरकार नागरिकले पनि आवश्यक समन्वयको लागि भूमिका खेल्न आग्रह गरे।
ऊर्जामन्त्री पुनले यो आयोजनामा कर्णालीका नागरिकको मात्र १० प्रतिशत सेयरमा हिस्सा रहने व्यवस्था सरकारले गरेको बताएका छन्।
अर्को महिनादेखि आयोजनाको सेयर उठाउन सुरू गरिने मन्त्री पुनले जानकारी दिए।
आयोजनाको बाँधबाट प्रभावित घरपरिवारलाई मुआब्जा दिने विषयमा उनले लालपुर्जा भएकालाई मापदण्ड अनुसार सतप्रतिशत, फिल्ड बुकमात्र कायम भएकालाई ९० प्रतिशत र फिल्डबुक र लालपुर्जा दुवै नभएका परिवारलाई ६० प्रतिशत मुआब्जा दिइने बताए।
दोस्रो चरणको काम सुरू
बाँध र विद्युत पावर हाउसको शिलान्यास गरिएसँगै भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुरू भएको छ। पहिलो चरणमा सुरुङ खन्ने काम गत वैशाखमा सम्पन्न भएको थियो।
वैशाख तीन गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको ‘ब्रेक थ्रू’ गरेका थिए। तीन वर्षका लागि ठेक्का सम्झौता भएको सुरुङको काम एक वर्ष अगावै सम्पन्न भएको थियो।
दोस्रो चरणमा विद्युत गृह, बाँध र साफ्ट निर्माणको काम हुँदैछ। यसका लागि रमण ग्वाङ्डोन जेभीले ठेक्का लिएको छ। यी संरचना निर्माणका लागि कम्पनीले पाँच अर्ब ३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।
भेरीको पानी बबईमा खसाल्नका लागि चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गर्नुपर्छ। ११४ मिटर लामो ब्यारेज १४ मिटर अग्लो हुनेछ। ब्यारेजसहितको पुल निर्माण गर्नुपर्ने भएकाले चीन र भारतबाट कामदारहरू ल्याइने आयोजनाले जनाएको छ।
आयोजनाअन्तर्गत बाँके र बर्दियाका ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै सुर्खेतको हात्तिखालमा ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। यस्तै भेरीमा बन्ने बाँधबाट समेत १२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ।