अन्तरदेशीय हवाई रूटका लागि लामो समयदेखि नेपालले पहल गरिरहे पनि म्यानमारले बेवास्ता गर्दा रोकिने अवस्थामा पुगेको ‘हिमालय-टु’ हवाई रूट कार्यान्वयन हुने भएको छ।
यो रूट कार्यान्वयनमा आएपछि नेपालको आकाशबाट उड्ने जहाजले नेपाललाई शुल्क तिर्नेछन्। यो रूटमा विदेशी हवाईजहाज पूर्वमा भद्रपुर र पश्चिममा महेन्द्रनगर हुँदै नेपाल छिर्ने र निस्कने छन्।
सन् २००२ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)ले नेपालको दक्षिणतिर निर्धारण भएको हवाई रूटमा धेरै ट्राफिक भएको भन्दै वैकल्पिक रूट डिजाइन गरेको थियो।
उक्त डिजाइनअनुसार बहुपक्षीय सहमति तथा सम्झौताबाट उक्त रूट कार्यान्वयन हुनुपर्छ। म्यानमारले बेवास्ता गर्दै आएकोले सो रूट अघि बढेको थिएन।
पछिल्लो समय आफूले पनि लाभ पाउने भएपछि यो आयोजनामा सहभागी हुन म्यानमार इच्छुक भएको छ।
गत अगस्टमा काठमाडौंमा भएको एसिया प्यासेफिक क्षेत्रका सिभिल एभिएसन महानिर्देशकको सम्मेलनका क्रममा उक्त रूट कार्यान्वयन गर्न म्यानमार सकारात्मक भएको थियो।
त्यसलगत्तै नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक म्यानेजमेन्ट हेर्ने अधिकारीले म्यानमार भ्रमण गरेका थिए। उक्त अवसरमा म्यानमारले रूट कार्यान्वयका लागि काम गर्ने प्रतिवद्धता दोहोर्याएको छ।
प्राधिकरणका निर्देशक दीपक बरालको नेतृत्वमा म्यानमार गएको टोली रूट कार्यान्वयन हुने सन्देश लिएर फर्किएको छ। उक्त वार्तापछि रूट कार्यान्वयन हुने लगभग निश्चित भएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
‘रूट कार्यान्वयन भएपछि चाहिने एयर नेभिगेनशन तथा सर्भिलेन्स सिस्टम जडान गर्ने उनीहरट्ठले प्रतिवद्धता जनाएका छन्। यसले करिब रोकिने अवस्थामा पुगेको रूट कार्यान्वयन हुने लगभग निश्चित भएको छ,’ क्षेत्रीले सेतोपाटीसँग भने।
हिमालय-२ रूटमा भारतको नयाँदिल्ली, काठमाडौं, चीनको कुनमिङ र बैंकक जोड्न छोटो रूट प्रस्ताव गरिएको थियो।
आइकाओले ‘बे अफ बंगाल’ रूटमा ट्राफिक धेरै भएको भन्दै युरोप, मध्यपूर्व र एसिया क्षेत्रमा हिमालयको दक्षिणतिर छोटो तथा सिधा रूटका लागि अग्रसरता लिएको थियो। सोही क्रममा नेपालले तीन रूट प्रस्ताव गरेको थियो। नेपालले प्रस्ताव गरेकामध्ये हिमालय-२ रूटमा बुहपक्षीय सहमति जुट्दै गएको हो।
भारतको नयाँदिल्लीबाट वा दिल्ली हुँदै हङकङ जाने र आउने उडान एउटै रूटमा धेरै छन्। यसमा ट्राफिक धेरै भएको आइकाओको अडिटले पनि देखाएको छ। यही समस्याको समाधानस्वरूप छोटो र खुला रूटका लागि नेपालले आफ्नो आकाशमाथिबाट रूट प्रस्ताव गरेको थियो।
अहिले दिल्लीबाट वा दिल्ली हुँदै चीनको कुनमिङ वा हङकङ जाने जहाज लखनऊ, कलकत्ता, बंगलादेश हुँदै कुनमिङ वा हङकङ जान्छन्। काठमाडौंबाट जाने जहाज पनि विराटनगर हुँदै सोही रूटमा बंगलादेशसमेत छुँदै जाने रूटबाटै जान्छन्।
नेपालले अग्रसरता लिएको हिमालय-२ रूट कार्यान्वयन भए काठमाडौंबाट हङकङ र कुनमिङ जाने वा आउने रूट छोटो हुनेछ। त्यस्तै दिल्लीबाट आउने जाने जहाजका लागि पनि यो रूट छोटो तथा खुला हुनेछ।
यो रूट कार्यान्वयनको भए सबैले लाभ पाउने क्षेत्रीको भनाइ छ। यो क्षेत्रमा उडान गर्ने एयरलाइन्स, यात्रु, सहभागी देश तथा वातावरणमा पनि सकारात्मक प्रभाव पर्ने उनले बताए।
यो रूट कार्यान्वयन भए सबैभन्दा पहिला काठमाडौंबाट चीनको कुनमिङ र हङकङको उडान दूरी छोटो हुनेछ। पहिलेको तुलनामा यो रूटबाट हङकङको उडान १५ मिनेट र कुनमिङ ७ मिनेट छोटो हुने क्षेत्रीको भनाइ छ।
‘उडान समय छोटो हुनेबित्तिकै त्यसको पहिलो लाभ यात्रुले पाउने सम्भावना हुन्छ। यसबाट भाडा घट्ने र यात्रा समय पनि घट्नाले यात्रुले लाभ पाउने छन्। त्यस्तै १५ मिनेट कम उड्नाले एयरलाइन्सलाई विभिन्न लाभ हुने देखिन्छ। अहिलेको धेरै ट्राफिक भएको रूटमा उड्दा स्वभाविक धेरै इन्धन खपत हुन्छ। छोटो र खुला रूटमा त्यसको भार कम हुने छ। इन्धन खपत कम हुनेबित्तिकै त्यसको लाभ वातावरणमा पनि हुनेछ। किनभने जति थोरै इन्धन खपत हुन्छ त्यति न्यून कार्बन उत्सर्जन हुन्छ,’ क्षेत्रीले भने।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं-हङकङ-काठमाडौं रूटमा नेपाल एयरलाइन्सको २२० नटिकल माइल दूरी छोटो हुनेछ। यसले गर्दा उडान समयका हिसाबले जाँदा-आउदा २८ मिनेट समय घट्ने छ।
यसबाट नेपाल एयरलाइन्सको राउन्ड ट्रिपमा २ हजार ४०५ किलो इन्धन कम खपत हुनेछ। यसबाट करिब ८ टन कार्बन उत्सर्जन न्यून खपत हुनेछ। आइटाका अनुसार १ किलो इन्धन बर्न हुँदा ३.१५ किलो कार्बन उत्सर्जन हुन्छ। यसबाट नेपाल एयरलाइन्सलाई करिब १५ सय अमेरिकी डलर खपत हुने अनुमान गरिएको छ। यो इन्धनको मूल्यमा निर्धारण हुन्छ।
नेपाललाई आकाशबाटै आम्दानी
यो रूट कार्यान्वयन भएपछि नेपाली र नेपाल उडान गर्ने एयरलाइन्सबाहेक अरूलाई पनि फाइदा हुनेछ। विशेषगरी भारतको नयाँदिल्ली हुँदै हङकङ, कुनमिङ जाने र आउने उडानलाई यसको लाभ पुग्नेछ।
अहिलेको तुलनामा छोटो तथा नयाँ रूट भएकाले अन्य एयरलाइन्सले यो रूट प्रयोग गर्न पाउने छन्। यसमा पश्चिमको महेन्द्रनगरबाट प्रवेश गरेका जहाज पूर्वको भद्रपुरबाट बाहिरिने छन्। त्यस्तै पूर्वबाट आउने जहाज भद्रपुर छिरेर महेन्द्रनगरबाट बाहिरिन सक्छन्।
नेपालले बहुपक्षीय पहल गर्न सके विदेशी एयरलाइन्सले नेपाली आकाशमाथि उडेमा त्यसको शुल्क लगाउनसक्छ। नेपालको नेभिगेशन सेवा लिएबापत् एयरलाइन्सले त्यस्तो शुल्क तिर्छन्।
यस्तो शुल्क जहाजको तौलअनुसार फरक पर्छ। हालको दरअनुसार २५ टनसम्मको ५७.३८, ५० टनसम्मको ९५.६३, ७५ टनसम्मको १९०.९४ र ७५ टनभन्दा माथिको जहाजलाई ३८१ डलर शुल्क लाग्दै आएको छ।
रूट कार्यान्वयन भएपछि दैनिक सय उडानसम्म सहजै ल्याउन सकिने क्षेत्रीको विश्वास छ। यसबाट वर्षमा नेपालले करोडौं रुपैयाँ आम्दानी गर्न सक्छ। हङकङमात्र नभएर चीनको कुनमिङ पनि दिल्लीबाट अहिलेकोभन्दा ७ मिनेट छिटो उडान भएकाले यसमा एयरलाइन्स आकर्षित हुने क्षेत्रीको विश्वास छ।
ओभरफ्लाइटमा जहाज न्यूनतम २९ हजार फिटसम्म आउन मिल्छ। यसरी नेपाल नआउने जहाज पनि नेपालको हिमालय क्षेत्र हुँदै उड्ने गरे त्यसबाट नेपालले पर्यटन प्रवर्द्धनको अवसर पनि नि:शुल्क पाउने क्षेत्रीको भनाइ छ।
‘जहाजमा भएका यात्रुहरूले हाम्रो हिमालय क्षेत्र देख्छन्। त्यसपछि नेपालप्रतिको उनीहरुको कौतहुलता पनि बढ्छ। यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ,’ क्षेत्रीले भने।