लमजुङको उदिपुरस्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको युनिट–२ मर्मतका लागि बन्द गरिएको छ। आयोजनाको वार्षिक कार्यक्रम अनुसार नै शनिबार रातिदेखि युनिट–२ बन्द गरेर मर्मत सम्भार थालिएको आयोजना प्रमुख शिवकुमार शाहले बताए।
मर्स्याङ्दी नदीमा पानीको सतह कम भएको मौकामा वर्षेनी पालैपालो युनिट १ र २ मर्मत गर्ने गरिएको शाहले बताए। उनका अनुसार मर्मतका लागि १६ दिन बन्द गर्न नेपाल विद्युत प्राधिकरणले अनुमति दिएको छ।
आयोजनाले कम्तिमा २० दिन बन्द गरेर मर्मत गर्नुपर्ने जानकारी गराएपनि प्राधिकरणले विजुलीको माग बढेको र उत्पादन घटाउन नहुने भन्दै १६ दिनभित्र मर्मत सक्न निर्देशन दिएको छ।
मध्यमर्स्याङ्दी जलविद्युत आयोजनामा ३५/३५ मेगावाट क्षमताका दुईवटा युनिट छन्। हाल संचालनमा रहेको नेपालकै दोस्रो ठूलो जलविद्युत आयोजनाको एउटा युनिट बन्द गर्दा विद्युत उत्पादन र वितरण प्रणालीमा भने असर नपर्ने प्राधिकरणले जनाएको छ।
हिउँदमा विद्युतको माग बढी हुने हुुँदा साँझ र बिहानमा ७० मेगावाट र अन्य समयमा करिब ३५ मेगावाट मात्र मध्यमर्स्याङ्दीले उत्पादन गर्दै आएको छ ।
‘हिउँदको पिक आवरमा ७० मेगावाट र अन्य समयमा ३५ मेगावाटमात्र विजुली उत्पादन हुन्छ’ आयोजना प्रमुख शाहले भने, ‘पानीको मात्रा पुगेमा हाम्रो एउटा युनिटबाट पनि ३५ मेगावाट विजुली उत्पादन गर्न सकिन्छ, वितरणमा समास्या भोग्नुपर्दैन।’
यद्यपी पिक आवरमा भने वितरण प्रणालीमा ३५ मेगावाट विजुली अपुग हुँदा समस्या पर्ने आयोजनाका प्राविधिकहरुले बताएका छन्। उनीहरुका अनुसार कुलेखानीबाट उत्पादन बढाउने वा अन्य आयोजनाबाट पिक आवरमा बढी विजुली उत्पादन गर्न नसके केही समय लोडसेडिङ हुन सक्छ।
मर्स्याङ्दी नदीमा बगेर आउने बालुवाका कारण वर्षेनी आयोजना मर्मत गर्नुपरेको प्रमुख शाहले बताए। आयोजनाको जलाशय क्षेत्रमा पहिरो जाने र वर्षातमा नदीमा बगेर आउने बालुवाले टर्वाइनमा क्षति पुर्याउने भएकाले मर्मत गर्नुपरेको उनको भनाइ छ।
नदीमा ५ हजार पिपिएम बालुवा आउने आँकलन रहेपनि आयोजनामा यसको चार गुणा बढी अर्थात २० हजार पिपिएम बालुवा आउने गरेको छ।
बालुवाको कारण विद्युत गृहको टर्वाइन, बाँधस्थल वरपर भू–भागमा बाढीको कटान, संरचनाहरु भत्किने, स्वचालित ‘अपरेटिङ सिस्टम’ बन्द हुने जस्ता समस्या आयोजनाले भोग्दै आएको छ।