मनाङदेखि भरतपुर जोड्ने मर्स्याङ्दी करिडोर प्रशारण लाइनको पालुङटारमा देखिएको विवाद अझै समाधान हुन सकेको छैन।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पालुङटार क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रदेश सभा सांसद स्थानीय जनप्रतिनिधी लगायत विवाद समाधान गर्न भन्दै माघ ६ गते पालुङटार पुगेका थिए।
प्रशारण लाइनको विवाद मिलाउन भनेर पालुङटार पुगेको टोली विवाद समाधान भन्दा पनि भाषण गरेर फर्किएको स्थानीयबासीको गुनासो छ। पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले विवाद यथावत रहेको बताए।
‘पालुङटारको ठाँटीपोखरी बजारबाट प्रशारण लाइन लैजाने योजना हामी पुरा हुन दिँदैनौं’ कँडेलले भने, ‘यसको विकल्प दिएका छौँ, मस्र्याङ्दी नदीकै वारिपारि भएर प्रशारण लाइन बनाउनुपर्छ।’
ठाँटीपोखरी बजारबाट प्रशारण लाइन बनाउँदा धेरै क्षति हुने र बजार नै उठाउनुपर्ने अवस्था आउने कँडेलको भनाई छ। मस्र्याङ्दी करिडोर प्रशारण लाइनका आयोजना प्रमुख चिरन्तन विक्रम राणाका अनुसार उक्त क्षेत्रमा बढीमा ६ वटा प्रशारण लाइनको टावर बनाउनुपर्छ।
यसअघि मस्र्याङ्दी नदीकै वारिपारि भएर प्रशारण लाइन बनाउन सर्भे गरिएको थियो। तर पालुङटार विमानस्थल संचालन गर्न अवरोध हुने भएपछि रुट परिवर्तन गरेर ठाँटीपोखरी बजारको पछाडिबाट लाइन लैजाने गरी योजना बनाएको आयोजना प्रमुख राणाले बताए।
‘मस्र्याङ्दी करिडोर प्रशारण लाइनमा कम क्षति हुने उपाय हामीले पनि खोजिराखेका छौँ’ राणाले भने, ‘छलफलहरु सकारात्मक बन्दै गएका छन्, छिट्टै टुङ्ग्याउँछौँ।’ पीडितलाई दिइने मुआब्जामा आयोजनाको तर्फबाट अधिकतम प्रयास गर्ने उनको भनाई छ।
उनका अनुसार मस्र्याङ्दी करिडोर अन्तर्गत उदिपुरदेखि खुदीसम्मको खण्डमा सर्भेको काम सकिएको र मुआब्जा पनि ७० प्रतिशत वितरण भइसकेको छ। उक्त खण्डका लागि टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ। यस्तै, खुदीदेखि मनाङ खण्डमा पनि सर्भे सकिएको छ।
प्रशारण लाइनको लमजुङ खण्डमा रहेका अधिकाँश विवाद सहमतिमा टुङ्गिएको राणाले बताए।
नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको १० अर्ब रुपैयाँ सहयोगमा मनाङदेखि भरतपुरसम्म २२० केभीको प्रशारण लाइन बनाउँदैछ। यो प्रशारण लाइनसँगै ४ ठाउँमा सबस्टेशन बनाउने योजना छ। आयोजना २०२० मा सक्ने लक्ष्य रहेको प्रमुख राणाले बताए।
यो पनि हेर्नुस्
ठूला आयोजनाको मारमा ‘साना’ नागरिक