चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयमार्फत् भएका सुर्खेतका ३१ वटा सडकको ठेक्कामध्ये २ वटाको अझसम्म पनि काम सुरू हुन सकेको छैन। ती संरचना निर्माणका लागि ठेक्का सम्झौता भएको तीन महिना नाघिसकेको छ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको चारकुनेदेखि नेटा–मजुवा–गोगनेसम्मको सडक र भेरीगंगामा रहेको तल्लो करेली खोलामा पर्ने पक्की पुल निर्माणको काम अझसम्म पनि सुरू हुन सकेको छैन।
चारकुने–नेटा–मजुवा–गोगने सडक निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँमा कात्तिक २२ गते सम्झौता भएको थियो। २० किलोमिटर सडक खन्ने र नाला बनाउने कामको जिम्मासहित ठेक्का लिएको नान्जिला एण्ड आकांक्षा कन्स्ट्रक्सनले अझसम्म पनि काम सुरू गर्न सकेको छैन।
भेरीगंगा नगरपालिकामा पर्ने तल्लो करेली खोलामा पर्ने पुलको ठेक्का गाल्भा निर्माण सेवा काठमाडौंले लिएको छ। कात्तिक २२ गते नै यो पुल निर्माणको लागि सम्झौता भएको थियो।
आगामी असारभित्र काम पूरा गरिसक्नेगरी २ करोड १९ लाख ६८ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीले तीन महिना बितिसक्दा समेत काम सुरू गरेको छैन।
यस्तै, गत आर्थिक वर्षमा ठेक्का भएको वीरेन्द्रनगरस्थित खोर्के खोलामा निर्माण गर्नुपर्ने पक्की पुलको समेत अझसम्म काम हुन सकेको छैन।
२५ मिटर लम्बाइ रहेको उक्त पुलको आशिष हाम्रो जेभी निर्माण कम्पनीले २ करोड १९ लाख ६९ हजार ५५६ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। स्थानीयको जग्गाका विषयमा विरोध भएपछि पुल निर्माणको काम अझसम्म पनि हुन नसकेको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ।
बिजुलीका पोल बाधक
पूर्वाधार विकास निर्देशनालयमार्फत् वीरेन्द्रनगर बजारभित्रका सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरिसकेको छ।
सडक विस्तार तथा जीर्ण सडकलाई मर्मत गर्नेगरी अधिकांश वीरेन्द्रनगर बजारभित्रका सडकहरूको ठेक्का विभिन्न निर्माण कम्पनीसँग गरिएको छ।
‘वीरेन्द्रनगर राजधानी सहरी सडक’ कार्यक्रमभित्र समावेश गरी सडक निर्माणको जिम्मा दिएको छ।
तर सडक छेउमा भएको बिजुलीको पोल भने तिनै निर्माण गर्नुपर्ने सडकका बाधक बनेका छन्। पूर्वाधार विकास निर्देशनालयका इञ्जिनियर सूर्य शाहीका अनुसार बजारभित्रका सडक, मंगलगढीदेखि काँक्रेबिहार जोड्ने सडक विस्तारको काममा बिजुलीका पोल सार्न नसक्दा समस्या भएको छ।
यस्तै, बिजुलीका पोल हटाउन नसक्दा सुर्खेत र बर्दियालाई जोड्ने तेलपानी–भुरीगाउँ सडक खण्ड निर्माणमा पनि समस्या आएको इञ्जिनियर शाहीले बताए।
उनले बिजुलीका पोल हटाउन महँगो पर्ने भएकाले पनि समस्या भएको बताए।
‘ठेक्का भएको लामो समयसम्म पनि सडकको सहरी सडकको काम सुरू हुन सकेको छैन, यसको मुख्य कारण भनेको बिजुलीका पोल सार्न नसक्नु हो,’ इञ्जिनियर शाहीले भने, ‘एउटै पोल हटाउन १ लाख रुपैयाँ लाग्छ, हामीले त्यो खर्च व्यहोर्न नसकेकाले काम नै सुरू हुन सकेको छैन।’