काठमाडौंको खाल्डाखुल्डी पुरानो चुनावी एजेन्डा हो। तर, अहिलेसम्म उपत्यकाका सडकमा खाल्डाखुल्डीको समस्या समाधान भएको देखिदैन। भर्खरै बनेका सडकमा पनि केही महिना नबित्दै खाल्डा देखिन थाल्छन्। त्यसैले पनि उपत्यकामा धूँलो बढेको जानकारहरु बताउँछन्।
पछिल्लो समय सरकार उपत्यकाको सडक सुधारमा लागेको देखिएको छ। पहिलो चौमासिकको समिक्षा गर्दा प्रधानमन्त्रीले सडकको धुलाे धूँवाको समाधान गर्न भौतिक पूर्वाधार तथा यातायतमन्त्री र सचिवलाई समेत निर्देशन दिएका थिए। त्यस्तै, सडकका खाल्डाखुल्डी पत्ता लगाएर तत्कालै पुर्न भन्दै सडक विभागले टाक्सफोर्स नै बनाएको छ।
वर्षौंदेखि सरकारलाई टाउको दुखाइका रुपमा रहेको उपत्यकाको सडकमा किन पर्छन् त खाल्डा? हामी यही प्रश्न लिएर सडक विभाग पुगेका थियौं।
सडक विभागमा प्रवक्ता तथा उपमहानिर्देशक शिवहरी सापकोटा उपत्यकाका सडक खाल्डा पर्नुका चार कारण औल्याउँछन्।
उनकाअनुसार उपत्यकाका सडक सबैभन्दा बढी खाल्डो पर्नुको कारण सडकमुनी रहेको पुरानो पानीको पाइपलाइन हो।
‘काठमाडौंका सडक पहिला साँघुरा थिए र त्यसको छेउँमा पानीको पाइप थियो। बस्तीसँगै मानिसहरुको चापले गर्दा सडक विस्तार भयो। त्यतिबेला सडकको छेउमा भएको पानीको पाइप सारिएन तर पुरियो,’ उनले भने, ‘ती पाइप अहिले सडकको बीचमा पर्छन्।’
उनले अगाडि थपे, एक त ती पाइप पुराना भए त्यसैले पानी रसाउन थाल्यो। त्यो भन्दा बढी सडकबीचमा परेकाले सवारीको चापले गर्दा पाइप फुट्यो र पानी चुहिन थाल्यो।
‘पिच सडकको लागि पानी सबैभन्दा ठूलो दुश्मन हो,’ सहरी विकास मन्त्रालयका पूर्व सचिव किशोर थापा भन्छन्, ‘यसरी सडकमा पानी लामो समयसम्म रहेमा सडक चाडै खाल्डो पार्छ।’
चावहिलदेखि गैशालासम्मको सडकको उदाहरण दिदैं सापकोटाले भने, ‘त्यो सडक वर्षेनी खाल्डा पर्छ। मर्मत गरेको एक वर्ष पनि टिक्दैन। सडकको भित्रको पुरानो खानेपानीको पाइप पुट्छ र त्यसले सडक विगार्छ।’
काठमाडौं सडक डिभिजनले उक्त क्षेत्रको दीर्घकालिन समाधान गर्न भन्दै जमिनमुनीको पाइप नै फेरेर सडकको मर्मत गर्दैछ। त्यसको लागि दुबै कामको जिम्मेबारी एउटै ठेकेदारलाई दिइएको छ। सडक विभाग पाइप नै फेरेपछि पानी चुहिन रोकिने र वर्षेनी सडक मर्मत गर्नुनपर्ने आशामा छ।
उपत्यकामा चल्ने सवारी साधनको भारका कारणले पनि सडकमा छिटो खाल्डो पर्ने गरेको छ। सडक विभागकाअनुसार उपत्यकाको सडकको क्षमता १०.२ टन प्रति एक्सल हो। यसको मतलब एउटा मात्रै एक्सल भएको गाडीले बढीमा १०.२ टन बोक्न पाउँछ।
त्यसभन्दा बढी एक्सल भएको गाडीले सोहीअनुसार बढी भार बोक्नसक्छन्। सवारी साधनले १०.२ टन भन्दा बढी बोक्नसक्ने भएपनि उपत्यकाका सडकमा त्यो भन्दा बढी भार बोक्न पाइदैन। बोक्नुपरेमा सोहीअनुसारको एक्सल भएको सवारी प्रयोग गर्नुपर्छ।
काठमाडौंमा तोकिएको भन्दा बढी क्षमताका साधन चलाइएर सडक चाडै कमजोर भएको सापकोटाको तर्क छ। उनी भन्छन्,‘उपत्यकामा छिर्ने पुरानो नाका थानकोटको सडक त्यसैले चाडै खाल्डा परेका हुन्।’
एउटा मात्रै एक्सल भएको सवारी साधानले १५ देखि २० टनसम्म बोकेका कारण सडक कमजोर भएको सडक विभागको बुझाइ छ।
‘उपत्यकाका सडक चाडै खाल्डा पर्नुमा ‘युटिलिटी’ पनि अर्को कारण हो। सडकमुनी पानीको पाइप मात्रै छैन। ढलदेखि विभिन्न तारहरु पनि जमिनमुनी छन्। यस्ता घरायासी प्रयोगमा लगिने पाइपहरु विग्रियो, थुनियो, नयाँ लाइन जोड्नु पर्यो भने सडक खन्नुपर्छ। त्यस्तै ढल फुट्ने वा थुनिने समस्याले गर्दा पनि सडक खन्नुपर्छ’, सापकोटाले प्रष्टाए।
त्यसो त सडक खनेपछि टालिन्छ। सडक एकपटक खनेर टालेपछि पहिले जस्तै बलियो नहुने सापकोटा बताउँछन्।
उनले भने, ‘कुनै पनि बस्तु विग्रिएर बनाएपछि पहिलेकै अवस्थामा आउन गाह्रो हुन्छ वा पहिले जस्तो बलियो हुँदैन। हेर्दा पहिले जस्तै बनाएर टाले पनि टालेकै ठाउँबाट सडकमा फेरी खाल्डा पर्न सुरु हुन्छ।’
सडक निर्माणमा प्रयोग गरिने सामाग्रीको गुणस्तरीयता पनि सडक चाडै भत्किनुको एउटा कारण हो। ‘उपत्यकामा चाहिएको मात्रामा, चाहिएको बेलामा निर्माण सामाग्री उपलब्ध नहुदाँ सडक गुणस्तरीय नभएको हुनसक्छ,’ सापकोटाले भने।
ढल निकासी राम्रो नभएकाले सडक कमजोर बनाएको तर्क गर्छन् किशोर थापा। उनले भने, ‘फोहोरले गर्दा ढल पुरिन्छ र पानी सडकबाट बग्न थाल्छ। त्यसले सडक कमजोर बनाउँछ र चाडै खाल्डो पर्छ।’