त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान कक्षनजिकै रहेको कफीसपमा आगलागी भएको विषयमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठिन उक्त समितले सुझावसहितको प्रतिवेदन मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबादुर अधिकारीलाई बुझाएको हो।
समितिले आगलागीको विषयमा अध्ययन गरी सुरक्षा सतर्कता अपनाउन नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालय, पर्यटन मन्त्रालयलाई समेत १६ वटा सुझाव दिएको छ।
गत माघ २७ गते फोहोरबाट कफीसपमा आगो लागेको समितिको निष्कर्ष छ। अध्ययनको क्रममा लिइएका नमूना, सिसिटिभी फुटेजको अध्ययनबाट आगो बिजुली सर्टबाट नभई फोहोरबाट सुरू भएको समितिले ठहर गरेको छ।
'आगो सल्केको धेरै समयसम्म पनि सिसिटिभी चलिरहेको छ। बिजुली सर्ट भएपछि त्यस्तो हुँदैन। अर्कोतिर आगोको गन्ध तथा स्रोतको वैज्ञानिक परीक्षणबाट कागजजन्य फोहरबाट आगो सुरू भएको पाइएको छ,' समितिको प्रतिवेदनमा भनिएको छ।
हचुवा भरमा पसल सञ्चालन
समितिका संयोजक आचार्यका अनुसार अध्ययनको क्रममा विमानस्थलको अति संवेदनशील क्षेत्रमा हचुवा भरमा पसल भाडामा लगाएको पाइएको छ। साँघुरो ठाउँमा कफीसप चलाउने गरी भाडामा दिए पनि त्यसले कुनै पनि सुरक्षा व्यवस्थापन नगरेको देखिएको उनले बताए।
‘एकातिर उक्त ठाउँमा उच्च क्षमताका फ्रिज तथा बिजुली खपत गर्ने ठूला उपकरण राखिएको छ। अर्कोतिर त्यहाँ कुनै पनि अग्नि नियन्त्रणका उपकरण जडान गरिएको छैन,’ आचार्यले भने।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार विमानस्थलमा त्यस्ता पसल सञ्चलान गर्दा सुरक्षाका विभिन्न मापदण्ड अपनाउनु पर्ने हुन्छ। तर काठमाडौं विमानस्थलका कुनै पनि पसलमा लागू नभएको समितिले ठहर गरेको छ।
'विमानस्थलमा सञ्चालन हुने पसलमा अग्नि नियन्त्रण उपकरण त्यहीँ राख्नुपर्छ। काम गर्ने कामदारलाई पनि तालिम दिएको हुनुपर्छ। त्यतिमात्र होइन पसल सञ्चालन गर्नेले पनि उद्धारको आफ्नै योजना बनाएको हुनुपर्छ' आचार्यले भने,'अध्यागमन क्लियर भएका यात्रुहरू जहाज चढ्नका लागि पर्खेर बस्ने ठाउँसँगै जोडिएको पसलमा यतिसम्म हेलचक्र्याइँ कि त्यहाँ स्मोक डिटेक्टर पनि छैन।’
उक्त पसलले बिजुली चोरी गरेको हुनसक्ने पनि समितिल आशंका गरेको छ। विमानस्थल कार्यालयले अधिकतम बिजुली दिनसक्नेभन्दा बढी खपत गर्ने उपकरण त्यो पसलमा पाइएकाले पसलले बिजुली चोरेको हुनसक्ने समितिको आशंका छ।
विमानस्थल कार्यालयले कुनै अनुगमन तथा नियमन नगर्नाले विमानस्थलको सुरक्षामा चुनौती सिर्जना भएको समितिको ठहर छ।
समितिले विमानस्थलमा कुनै पनि पसल भाडामा दिँदा स्पष्ट मापदण्ड बनाएर नियमन गर्न नागरिक उड्डयन प्राधिकरणलाई सुझाव दिएको छ।
समितिले आगलगानी भएको ठाउँको कफीसप तत्काल हटाउन सिफारिस गरेको छ। समितिले दिएको सिफारिसका आधारमा मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनेछ।