चीनको बुहानबाट फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारण अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा नेपालमा पनि अध्ययन हुने भएको छ।
नेपाली अर्थतन्त्रमा यसको प्रभावका बारेमा अध्ययन गर्न अर्थमन्त्रालयले छलफल अघि बढाएको छ।
भाइरसका कारण आपूर्तिमा पार्ने प्रभाव र त्यसले समग्र उपभोगमा कति प्रभाव पार्छ भनेर अध्ययनका लागि छलफल सुरु गरिएको अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता उत्तर कुमार खत्रीले जानकारी दिए।
'भाइरसको अन्य प्रभाव र सतर्कताका लागि सरकारका अन्य निकायले काम गरिरहेका छन्। हामीले भने अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा अध्ययन गर्न छलफल अघि बढाएका छौ। त्यसपछि कस्तो प्रभाव पर्छ त्यसका लागि सरकारले कस्तो कदम चाल्ने भन्ने विषयमा एकिन हुन्छ' खत्रीले सेतोपाटीसँग भने।
चीनबाट फैलिएर विश्वका कयौ देशमा पुगिसकेको कोभिड १९ का कारण सामाजिक तथा आर्थिक क्षेत्रमा पनि बृहत्त प्रभाव पार्ने आँकलन गरिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले यसैका कारण विश्वको अर्थतन्त्रको विस्तारमा सुस्तता आउने प्रक्षेपण गरिसेकको छ।
भाइरस नफैलिएका देशमा पनि आर्थिक बृद्धि प्रभावित हुने,रोजगारी गुम्ने तथा ठूला कम्पनीको नाफामा गिरावट आउने प्रक्षेपन भइरहेका छन्। अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरुले पनि घट्ने प्रक्षेपन गरेका छन्।
चिनियाँ ठेकेदार संलग्न रहेका नेपालका ठूला विकास आयोजना गएको २ महिनादेखि ठप्प भएका छन्। त्यस्तै कयौ जलविद्युत आयोजना पनि प्रभावित भएका छन्। यसबाट विकास निर्माणमै ठूलो प्रभाव पारिसकेको छ।
त्यस्तै नेपालमा धेरै पर्यटक आउने स्रोत मुलुकमात्र नभएर तेस्रो मुलुकबाट आउने ट्रान्जिटका रुपमा रहेका चिनियाँ सहरबाट हवाई उडान लगभग ठप् भएको छ। यसबाट नेपालको पर्यटनमा नकारात्मक प्रभाव परेको छ।
प्रत्यक्षरुपमा यसको पहिलो असर सरककारले यो वर्षका लागि लिएको ८.५ प्रतिशतको आर्थिक बृद्धिदरलाई पर्ने अनुमान गरिएको छ।
पछिल्लो समय चीनबाट वस्तु आयात लगग रोकिएको छ। यसबाट एकातिर उपभोगमा कमी आउने छ भने अर्कोतिर मूल्य आकाशिने छ। अर्थतन्त्रका सबै पाटोमा यसको असर पर्ने अनुमान गरिएको बेला अर्थमन्त्रालयले यसको विस्तृत अध्ययन गर्न लागेको हो।