कोरोनाभाइरस संसारभर महामारीको रुपमा फैलिएको छ। नेपालमा पनि नयाँ संक्रमित थपिँदै गएका छन्। एकातिर विरामी थपिँदै गएका छन् भने अर्कोतिर स्वास्थ्य सामग्रीको चरम अभाव छ।
सरकारले जि-टु-जी (अन्य सरकारबाट सिधै किन्ने) स्तरबाटै खरिद गर्ने प्रक्रिया अघि बढाए पनि स्वास्थ्य सामग्री कहिले आइपुग्छ भन्ने कुनै टुङ्गो छैन।
यस्तो परिस्थितिमा नेपालमा निजी क्षेत्रले स्वास्थ्य सामग्री चीनबाट ल्याउन आज (अप्रिल १४) का लागि चार्टर्ड गरेको जहाज नेपाल एयरलाइन्सको चरम लापरवाहीका कारण उड्न सकेन।
सो जहाजमा निजी अस्पतालदेखि व्यापारिक कम्पनी समेत गरेर ४० भन्दा धेरै पार्टीको स्वास्थ्य सामाग्री आउनेवाला थियो।
सामान ल्याउनका लागि फ्ल्यास फ्रेट लजिस्टिक प्रालिले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको थियो। शुरुमा अप्रिल ११ का लागि बुकिङ गरिएको सो जहाज चीनले भन्सार क्लियर गर्न समय लगाएपछि अप्रिल १४का लागि सारिएको थियो। त्यसका लागि फ्ल्यास फ्रेटले अप्रिल १० मै एयरलाइन्सलाई चिठ्ठी पठाएको थियो।
‘शुरुमा हुन्छ भनेको एयरलाइन्सले एक्कासी आज बिहान दश बजे आएर जहाज चीन उड्न नसक्ने जानकारी गरायो,’ फ्ल्यास फ्रेटका म्यानेजिङ डाइरेक्टर थोमस मुर्रेले सेतोपाटीसँग भने, ‘अन्तिम समयमा आएर कागजपत्र मिलाउने काम नसकिएको एयरलाइन्सले बतायो।’
आज उडान सम्भव नहुने भएपछि चार्टर्ड गर्ने कम्पनीका लागि अर्को सास्ति थपिएको छ। चीनको नयाँ नीतिअनुसार एकपटक 'इन्सपेक्सन' भएका सामान ७२ घण्टाभित्र भन्सार पास नभएमा फेरि क्लियरेन्स लिनुपर्छ, त्यसले नयाँ झमेला थपिन्छ।
‘हाम्रो सामान कहिले आउँछ भन्दै पार्टीले मलाई तङ गरेका छन्,’ मुर्रेले भने , ‘यस्तो चरम अभावका बेला सामान ल्याउन तदारुकता एयरलाइन्सले पनि देखाउनु पर्नेमा उल्टो लापरवाही गर्यो'
चार्टर्ड फ्लाइटका लागि कागजात मिलाउन त्यति धेरै समय नलाग्ने एयरलाइन्सका एक कर्मचारीले सेतोपाटीसँग बताए।
‘एक-दुई दिनमै कागजपत्र मिलाउन सकिन्छ, त्यसमाथि यसमा त पार्टीले चार दिनअघि नै बुकिङ गराएको देखिन्छ,’ उनले भने ‘आज आएर जहाज उड्न सक्दैन भन्नु गैर-जिम्मेवारी हो।'
नेपाल एयरलाइन्सका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले ११ अप्रिलको उडान स्थगन भएपछि र अर्को उडानका लागि आवेदन प्रक्रिया आजदेखि सुरु भएकाले २/३ दिन लाग्ने बताए। उनका अनुसार १७ अप्रिलनभन्दा अघि अर्को उडान हुने छैन।
फ्यास फ्रेटले १० अप्रिलमै लिखित रुपमा १४ अप्रिलका लागि बुकिङ अनुरोध गरेर एयरलाइन्सलाई पत्र पठाएको बारे सेतोपाटीले प्रश्न गर्दा त्यसबारे आफूलाई जानकारी नभएको उनले बताए।
‘१४ अप्रिलको उडान बारेमा अनुरोध भएर आएको मलाई जानकारी छैन। सम्बन्धित विभागमा आएर मलाई रिपोर्टिङ नभएको भए यसबारेमा सोधीखोजी गर्छु,' उनले भने।
एयरलाइन्स कम्पनीमा उडानको बुकिङ लिने र सबै प्रक्रिया पूरा गर्ने कमर्सियल बिभाग हो। कमर्सियल विभागका प्रमुख टंक दाहालले अहिले आफू काठमाडौंमा नभएकाले यो प्रक्रियामा जानकार नभएको जवाफ दिए।
'साथीहरुले गरिरहनुभएको होला। मलाई यसमा के के भयो भन्ने विस्तृत जानकरी छैन' उनले भने।
फ्लास फ्रेटले १४ अप्रिलका लागि एयरलाइन्सलाई बुकिङ अनुरोध गरेको कागजात सेतोपाटीसँग सुरक्षित छ।
नेपाल एयरलाइन्सका एक अधिकारीले पनि सेतोपाटीसँग कुरा गर्दै बुकिङ अर्डर आएको स्वीकार गरे। १० अप्रिलमै अनुरोध आए पनि उडान अनुमतिका लागि एयरलाइन्सका अधिकारीहरुले कुनै पनि प्रक्रिया सुरु नगरेको उनले बताए।
'सम्बन्धित विभागमा बस्नेहरुलाई प्रक्रिया सुरु गर्नुपर्छ भन्ने जानकारी थिएन त कसरी भनौँ?’ उनले भने ‘चार्टर्ड पार्टीलाई झुलाउने उहाँहरुको रणनीति थियो वा अन्य कुनै कारण थियो उहाँहरु नै जान्नुहुन्छ तर यो बीचमा चार दिनसम्म उहाँहरुले केही प्रक्रिया शुरु गर्नु भएन।’