कञ्चनपुरको बेलौरी नगरपालिका-५ भकुण्डाका ३५ परिवार किसान गाउँको छेउबाट बग्ने दोदा नदीको बगरमा हिउँदे खेती गर्छन्।
उनीहरूले समूह नै बनाएर नगरपालिकामा दर्ता गरी वर्षेनी बगरखेती गर्दै आएका छन्।
समूहका एक सदस्य सोही ठाउँका ५० वर्षीय मुन्नी राना पनि हुन्।
उनको परिवारले वर्षौंदेखि बगर खेती गर्दै आएको छ।
यस वर्ष कात्तिक महिनापछि उनीहरूले बगरमा खनजोत गरी खेतीको काम थाले।
मंसिर/पुसतिर बेर्ना लगाएका उनीहरूले माघको पहिलो हप्ता बेर्ना उम्रेपछि बगरमै झुपडी बनाएर रेखदेखका लागि उतै बस्ने गरेका छन्।
लगाएको खेती फल्न थालेपछि राना पनि रेखदेखको लागि बगर छेउमै छाप्रो बनाएर बस्न थालेका हुन्। यहाँ बस्न लागेको ४ महिना पूरा भैसक्यो।
उनले लगाएको खेतीमा लटरम्म काँक्रा, तरबुजा, फर्सी, लौका, फलिसकेका थिए। कतिपय फल्दै थिए।
'यसपालि खेती निकै रहर लाग्दो भएको थियो। रातदिन मिहिनेत गरी फलाएको खेतीलाई ४ दिन मात्रै बेच्न भ्याएको थिएँ,' उनले भने।
लकडाउनका बेला बजार बन्द छ तर साइकलबाट नजिकैका गाउँमा लगेर उनले ५ हजार बराबरको लौका, काँक्रा, फर्सी र तरबुजा विक्री गर्न पाए।
तर मौसमले भने साथ दिएन। बर्खा अघि नै आएको पानीका कारण नदीमा आएको बाढीले सोमबार उनको बाली सोहोरेर लग्यो।
विक्रीबाट आएको पैसाले गहुँ किनेर परिवारलाई बर्खायामको रासन पुर्याउने उनको सोच थियो। फलाएको तरकारी बेच्न पाएको भए बर्खासम्मका लागि उनीहरू ढुक्क हुने थिए।
'घरको लागि गहुँ किनुँला सोचेको तर भएन अब मजदूरी गर्छु,' उनले भने।
अन्य समय उनी अदियाँ, धान, गहुँ काट्ने र ध्याडी मजदूरी (दैनिक ज्यालादारी) गर्ने काम गर्छन्।
बगर खेती गरेर घरखर्च चलाउन सहज हुन्थ्यो। भन्न त उनले सजिलै मजदूरी गर्छु भने तर लकडाउनका कारण त्यो पनि कठिन हुनेछ।
उनीहरूलाई बालीको बीमा हुन्छ भन्नेबारे थाहा रहेनछ।
नगरपालिकाबाट बिउमा ५० प्रतिशत छुट पाएका रहेछन्। यसपालि बाढीले नोक्सान गरेर लगेको बालीको रिपोर्ट नगरपालिकाका कर्मचारीले सोधेर गएका छन्।
'हामीलाई मद्दत मिले राम्रो हुन्थ्यो,' उनी भन्छन्।
यस्तै सोही ठाउँका नन्दलाल राना पनि हिउँदको ५ महिना बगरखेतीमा बिताउँछन्।
वर्षा लागेपछि बगरमा उब्जेको तरकारी उनका परिवार साइकलमा बोकेर गाउँगाउँ डुल्दै विक्री गर्छन्।
यसपालि भने उनले बगरमा लगाएको खेती विक्री गर्न पाएनन्।
बेलौरी नगरपालिकाले बाढीले क्षति पुर्याएका स्थानमा स्थलगत अनुगमन गर्ने भएको छ।
नगरप्रमुख पोतीलाल चौधरीले बिहीबार वडा नं. ५ का सबै किसानहरूका बारीमा अनुगमनमा आफू सहितको टोली जाने बताए।
कृषि विज्ञान केन्द्र महेन्द्रनगरले बगरखेतीमा बाढीले पुर्याएको नोक्सानीको विवरण पठाउन स्थानीय तहहरूलाई पत्राचार गरिसकेको छ।
लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले वडा कार्यालयहरूबाट किसानहरूको खेतीमा भएको नोक्सानीको विवरण संकलन भइरहेको बताए।
उनले भने, 'वडाबाट क्षतिको लगत आएपछि कार्यपालिका बैठकबाट के गर्ने भन्ने निर्णय गर्छौं,' उनले भने।
सुदूरपश्चिमको तराईका जिल्ला कैलाली/कञ्चनपुरमा नदीका बगरमा करिब हेक्टर जमिनमा खेती हुने गरेको कृषि विज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।
सूचना अधिकारी हरिदत्त जोशीले १५ देखि २० हेक्टर जति जमिनमा बगर खेती हुने गरेको बताए।
यसपालि वैशाखको दोस्रो हप्तामै आएको बाढीले बगरखेतीमा क्षति पुगेको सूचना आएपछि स्थानीय तहहरूबाट विवरण संकलन र राहतका विषयमा छलफल भइरहेको उनले बताए।