निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउन हुनु एक दिनअघि चैत १० गतेदेखि बाहिरका मानिस प्रवेश गरेका छैनन्।
आयोजनाका अधिकारीहरूले त्यहाँ कार्यरत मजदुरलाई पनि बजार जान रोकेको छ। उनीहरू विमानस्थलभित्रै छन्।
कोरोनाभाइरसका कारण आयोजना निर्माणको काम नरोकियोस्, भनेरै आयोजनाभित्र आवागमनमा कडाइ गरेको विमानस्थल प्रमुख विनेश मुनकर्मीले जानकारी दिए।
सरकारले ‘राष्ट्रिय गौरब’ का रूपमा अगाडि बढाएको यो आयोजना लकडाउनमा पनि निरन्तर काम भइरहेको छ।
‘एयरपोर्ट बनाउने काममा लकडाउनले प्रभाव नपरोस् भनेर नै हामीले कसैलाई पनि भित्र, बाहिर गर्न दिएका छैनौं। आयोजनाको काम निरन्तर चलेको छ,’ मुनकर्मीले सेतोपाटीसँग भने।
आयोजनाले बाहिर जानका लागि प्रशासनले दिएको पास लिएर खाद्यान्न सामाग्री लिन जाने गाडी र आयोजनाका लागि अत्यावश्यक सामाग्री लिन जाने गाडी मात्र भित्रबाहिर गर्न पाउँछ।
त्यसबाहेक मजदुर वा बाहिरका अन्य मानिसलाई भित्र–बाहिर गर्न नदिएको मुनकर्मीले बताए।
यो विमानस्थल मात्र होइन, यही अवधिमा पोखरा महानगरका ३ वटा मोटरेवल पुलको ढलानका काम भए। पोखरा १९ को मोदीखोला पुल, १६ को घारीकुना पुल र २७ को बगारीखोला पुलको ढलान गरेको महानगरका ईञ्जिनियर विकास सुवेदीले सेतोपाटीलाई बताए।
पोखरा महानगर र गण्डकी प्रदेशको आधाआधा लगानीमा फेवाताल जोगाउन भन्दै ५ वटा सिल्टेसन ड्यामसमेत निर्माण भइरहेका छन्। यी पाँच वटा पोखरी बनाउन ३४ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
‘आउँदो वर्षा अघि नै काम सक्नुपर्ने भएकाले हामीले यो आयोजना अगाडी बढायौं,’ महानगरका उपमेयर मञ्जुदेवी गुरुङले सेतोपाटीसँग भनिन्, ‘तोकिएको समयमै काम सकिन्छ।’
लकडाउन भएपछि सिल्टेसन ड्याम बनाउने काम रोकिएको थियो। २० दिन रोकिएपछि अब काम अघि बढाउनुपर्छ भनेर नै ठेकेदारलाई निर्देशन दिएको उपमेयर गुरुङले जानकारी दिइन्।
यस्तै, पोखरा औद्योगिक क्षेत्रमा रहेका ३१ वटा उद्योगले पनि अहिले सुरक्षा उपाय अपनाएर काम सुरू गरेका छन्।
पोखरा क्षेत्रीय विमानस्थलमा आवत–जावत रोकेर काम भइरहे पनि लकडाउनका कारण क्षति पुगेको छ।
२०७१ देखि सुरू भएको आयोजनाको निर्माण सन् २०२१ जुलाई १० मा सक्नुपर्ने छ।
आयोजना प्रमुख विनेश मुनकर्मीले सम्झौताभन्दा ६ महिना अघि नै आयोजना निर्माण गर्ने लक्ष्य लकडाउनले पूरा हुन नदिने अवस्था आएको बताउँछन्।
कुल २१ अर्ब रुपैयाँ लागत रहेको आयोजनाको समय र लागत बढ्दा हुने क्षतिले सरकारलाई असर नपर्ने उनले दाबी गरे।
‘हामीले इपिसी मोडलमा सम्झौता गरेका छौं, लागत बढ्दा ठेकेदार पक्ष नै जिम्मेवार हुनुपर्छ। समय पनि बढ्ने भएकाले हाम्रो लागि त्यही नै क्षति हो,’ उनले थपे।
आयोजनाको निर्माण चीनको सहुलियतपूर्ण ऋणमा भइरहेको छ।
पोखरा महानगरमा २ वटा सडक, ३ वटा मोटरेवल पुल र फेवाताल पुरिनबाट जोगाउन निर्माणाधिन ५ वटा सिल्टेसन ड्याम बाहेक अरु आयोजना रोकिँदा महानगरलाई ‘घाटा’ हुँदैछ।
महानगरमा ३ हजार बढी योजनाका लागि यस आर्थिक बर्षमा ७ अर्ब रुपैयाँ बढी बजेट छ। जसमध्ये अधिकांश भौतिक पूर्वाधार विकासका योजना छन्।
‘लकडाउनका कारण बजेट खर्च सोचेअनुसार नहुने भयो,’ महानगरका मेयर मानबहादुर जिसीले भने, ‘ठूलो बजेट फ्रिज हुने अवस्था आउँदैछ।’
वडा अध्यक्षहरुलाई काम गर्न सकिने अवस्था रहेका योजना पहिचान गरेर तत्काल काम थाल्न आग्रह गरिएको मेयर जिसीले जानकारी दिए।
वैशाख १० गतेदेखि नै आवतजावत रोक्ने भने पछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत केही मजदुर बाहिरिएका थिए।
केहीको काम सकिएको थियो भने अहिले भइरहेको कामलाई निरन्तरता दिन आवश्यक मजदुर आयोजनाभित्रै बनाइएको क्याम्पमा बसे। आयोजनामा अहिले ८५ जना नेपाली र २५० जना चिनियाँ मजदुर कार्यरत छन्।
उनीहरुलाई बस्नका लागि छुट्टाछुट्टै क्याम्पको व्यवस्था गरिएको छ। नेपाली र चिनियाँ मजदुरका छुट्टाछुट्टै खाना खाने मेस छ।
आयोजनामा कार्यरत ड्राइभर, अप्रेटरलगायत बाहिर बस्ने गरेका थिए भने अन्य मजदुर आयोजना भित्रै काम गर्थे। लकडाउन हुने भएपछि एक सय ५० बढी नेपाली मजदुर बाहिरिएको मुनकर्मीले बताए।
बाहिर भएका मजदुर आउन नसक्दा आयोजनाको काम प्रभावित भएको छ। ‘हामीले आयोजनालाई पूर्ण रुपमा रोकिन दिएका छैनौं, काम भइराखेको छ। तर लकडाउनले केही प्रभाव त पार्छ नै,’ उनले थपे।
आयोजनालाई आवश्यक कच्चा पदार्थ आयातमा समस्या परेको उनले बताए। विमानस्थल निर्माणमा अहिले स्टक रहेका कच्चा पदार्थबाटै काम चलाएको छ।
विमानस्थल निर्माण गर्न सिमेन्टको अभाव भएको मुनकर्मीले बताए। ‘हामीसँग भएको सिमेन्ट सकिएपछि पोखराका बजारमा रहेका ४० टन सिमेन्ट खरिद गर्। यसले केही दिनलाई काम दिन्छ,’ उनले भने।
विमानस्थल बनाउन भारतबाट आउनुपर्ने सिमेन्टलगायतका सामाग्री लकडाउनका कारण उतै रोकिएको छ।
नवलपुरमा रहेको चिनियाँ कम्पनी होङ्सी सिमेन्टसँग सम्झौता गरेर ४ सय टन सिमेन्ट ल्याउने तयारी भएपनि स्थानीयले ल्याउन दिएनन्।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट सवारी आवागमनको पास बनाएर सिमेन्ट ल्याउन लागे पनि कोरोनाभाइरस रोकथामका लागि भन्दै स्थानीयले रोकिदिए। सिमेन्ट बोकेका गाडी आउन पाएनन्।
लकडाउनका कारण भारतको कलकत्ता बन्दरगाह र चीनमा सामान लोड भएर बसेपनि सवारी आवागमन रोकिएकाले कच्चा पदार्थ र अन्य आवश्यक सामाग्री ल्याउन नसकेको मुनकर्मीले बताए।
ग्लाइड, कम्युनिकेसनका सामाग्री, एयर फिल्ड ग्राउण्ड लाइटिङ, पाइपलाइन, ट्रान्सफर्मर, लिफ्ट, इलेक्ट्रिक सामाग्री र झ्याल ढोकाका सामाग्री उतै रोकिएका हुन्।
अहिले सामाग्री अभाव भएपनि पाटेशन र सिसा राख्ने काम भने भइराखेका छ। सिमेन्ट अभावले बाटो ढलान रोकिएको छ। आयोजनामा १ टन सिमेन्टले २ दिनलाई मात्र पुग्ने मुनकर्मीले बताए। मुख्य ढलानका लागि भारतबाट आउने सिमेन्ट नै पर्खनुपर्ने उनले जानकारी दिए।
यता, पोखरा महानगर र प्रदेशको संयुक्त आयोजना रहेको फेवाताल पुरिनबाट जोगाउन निर्माणाधिन ५ वटा सिल्टेसन ड्याम मध्ये २ वटाको काम सकिएको छ।
लकडाउनको झण्डै एक महिना काम बन्द भएपनि त्यसपछि महानगर र प्रहरीसँग सहकार्य गरेर बाँकी काम सकेको बेतनी खोला सिल्टेसन ड्यामका कन्ट्रयाक्टर भीमबहादुर रानाले बताए।
‘मेरो काम त्यही हप्ता दशदिनको मात्र बाँकी थियो। मजदुर यहीं भएकाले बाँकी काम लकडाउनमै सक्यौं,’ उनले भने।
अन्य ३ वटा ड्याम बनाउने काम भने आउँदा बर्षा अघि नै सक्ने लक्ष्य रहेको महानगरका उपमेर मञ्जुदेवी गुरुङले जानकारी दिइन्।
विकास निर्माणका आयोजना सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ।
प्रदेशले बनाएको लकडाउन मापदण्डमा विकास निर्माण र उद्योग चलाउन आवश्यक सुरक्षा उपाय अपनाउने उल्लेख छ। तर बजारमा निर्माण सामाग्री अभाव भइसकेको छ।
सिमेन्टलगायत केही निर्माण सामाग्री नेपालमै पाइने केही सामाग्री भारत वा चीनबाट ल्याउनुपर्ने अवस्था रहेको विभिन्न आयोजनाका निर्माणपक्षले बताएका छन्।
विकास निर्माणका आयोजना चलाउन बजारमा निर्माण सामाग्रीको अभाव खड्किन सक्ने पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका प्रमुख मुनकर्मीले बताए।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारत वा अन्य देशबाट ल्याउनुपर्ने अत्यावश्यक निर्माण सामाग्री पनि सुरक्षा उपाय अपनाएर ल्याउन सकिने बताए।
‘सुरक्षा सावधानी अपनाएर निर्माण सामाग्री ल्याउनुपर्छ। अब विकास निर्माण र उद्योगधन्दा पनि सुरक्षित रुपमा सुचारु गर्न हामीले मापदण्ड बनाएका छौं,’ उनले भने।