कास्कीको माछापुच्छ्रे २ भुजुङखोलामा शनिबार बिहान केही मानिसहरू सडकमा निस्किए।
टाउकोमा सुरक्षा सामग्री हेल्मेट लगाएको यो समूहले सडक वरिपरिको फोहोर टिप्यो। नजिकैको घरमा लगेर थुपार्यो। फोहोर टिप्ने यो समूह भुर्जुङखोला भएर बग्ने सेती नदीमा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाका पदाधिकारी, मजदुर, वडाध्यक्ष, प्रहरी र स्थानीयबासी थिए।
जलविद्युत आयोजनाले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न सरसफाइ कार्यक्रम आयोजना गरेको थियो। भुर्जुङखोला बजारलाई सफा राख्न आयोजनाले वडाध्यक्षलाई ४० थान डस्टबिन ट्यांकी हस्तान्तरण गर्यो। डस्टबिन ट्यांकी वडाका १५ वटा टोल सुधार समितिलाई २/२ वटाका दरले वितरण गर्ने र बाँकी बजारका विशेष क्षेत्रहरूमा राखिने वडा अध्यक्ष विक्रम गुरुङले बताए।
भिजन लुम्बिनी कम्पनीले सेती खोला जलविद्युत आयोजनाको काम अघि बढाएको छ।
दुई वर्ष लामो अध्ययन र निर्माणको अनुमति लिने कागजी प्रक्रिया पूरा गरेर कम्पनीले निर्माण थालेको हो।
सरकारले असार १ गतेदेखि आयोजना निर्माणको अनुमति दिए पनि कम्पनीले त्यसअघिदेखि नै काम थालिसकेको थियो।
आयोजना निर्माण गर्न अनुमति पाउने लगभग निश्चित भएपछि कम्पनीले फागुन २ गतेदेखि नै सेती खोलामा काम थालेको थियो।
चैत ११ देखि लकडाउन भएपछि रोकिएको काम वैशाख दोस्रो सातादेखि सुचारू भयो। असार १ गते सरकारले आयोजना बनाउन अनुमति दियो।
आयोजनाले अहिले सेतीखोलाबाट पानी लैजाने कुला अर्थात् एप्रोच कल्भर्ट र पानी थिग्राउने पोखरी बनाउने काम थालेको छ।
अबको दुई सातापछि द्रुत गतिमा आयोजनाको काम अघि बढ्ने प्रवर्द्धक भिजन लुम्बिनी कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए।
‘आयोजनाको मजदुर बस्ने क्याम्पहरू बनिरहेका छन्, दुई सातापछि ३ सय जना मजदुरले काम थाल्छन्’, उनले भने, ‘हामी यो आयोजना तोकिएको समयभन्दा अगावै सक्छौं।’
२५ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ। यो आयोजना २७ महिनामा सक्ने गरी सरकारले अनुमति दिएको पोखरेलले बताए।
माछापुच्छ्रे २ स्थित सेती खोलामा बगेको पानी बाँध बाँधेर एप्रोच कल्भर्टमार्फत् करिब ५ सय मिटर टाढा रहेको राजबगरस्थित थिग्राउने पोखरीमा लगिनेछ। पानीसँगै आएका बालुवाका कण तीन वटा पोखरीमा थिग्रिएपछि पानी पाइपको माध्यमबाट ६ किलोमिटर टाढा आयोजनाको पावरहाउस रहने स्थान चिन्टेबगरमा लगिनेछ।
यसरी लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव ५ मेगावाट क्षमताको दुई वटा टर्वाइनमा जोडिनेछ। आयोजनाको हड १ सय ८७ मिटर रहेको छ। आयोजनाबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारणमा जोड्न साढे ४ किलोमिटर ट्रान्समिसन लाइन पनि प्रवर्द्धक कम्पनीले नै बनाउने गरी सम्झौता भएको अध्यक्ष पोखरेलले बताए।
यस आयोजनाबाट उत्पादित बिजुली लाहाचोकमा निर्माणाधीन सवस्टेसनमा जोड्ने उनले बताए।
आयोजना बनाउन चाहिने जग्गाको अधिग्रहण अन्तिम चरणमा पुगेको आयोजना प्रमुख इञ्जिनियर लेखनाथ पाण्डेले बताए।
आयोजना क्षेत्रमा पर्ने साढे ३ हेक्टर जग्गामध्ये अधिकांश अधिग्रहण भइसकेका छन् भने सार्वजनिक जग्गा भोगचलनका लागि सरकारसँग अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको पाण्डेले बताए।
यस्तै, आयोजना क्षेत्रमा रहेका रुख काट्ने अनुमति पनि वन मन्त्रालयबाट केही दिनमा आउने उनले बताए।
आयोजनाको विस्तृत डिजाइन गरेका हाइड्रो कन्सल्ट्यान्टका प्रमुख श्यामप्रसाद भुषालले यस आयोजना अरुभन्दा बढी वातावरणमैत्री, सस्तो र उपयुक्त भएको दाबी गरे।
आयोजनाबाट ५ महिना पूर्ण क्षमतामा बिजुली उत्पादन हुने र बाँकी समय उत्पादन घटबढ हुने उनले बताए। सेतीखोला जलविद्युत आयोजना समयमै सकिने उनले बताए।
नेपाल विद्युत प्राधिकरणसँग प्रवर्द्धक कम्पनीले सेतीखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ७० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसा प्रति युनिटका दरले खरिद विक्री सम्झौता (पिपिए) भएको भुषालले बताए।
आयोजना निर्माण थालेदेखि नै स्थानीयवासीले सहयोग गरेको निर्माण कम्पनी रसुवा–लुना जेभीका निर्देशक माधव आचार्यले बताए।
‘आयोजना बनाउन अहिलेसम्म कुनै समस्या आएको छैन’, उनले भने, ‘सबैले सहयोग गर्नुभएको छ।’
दुई सातापछि सिभिल संरचना निर्माणको काम द्रुतगतिमा अघि बढ्ने बताउँदै उनले दसैंपछि पावरहाउसको निर्माण थालिने बताए।
आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँमा एनएमबी बैंकले ३ अर्ब रुपैया लगानी सुनिश्चित गरिदिएको छ।
नपुग रकम कम्पनी, स्थानीयवासी र आम सर्वसाधारणको शेयर लगानीबाट जुटाइने कम्पनीका अध्यक्ष पोखरेलले बताए।
प्रवर्द्धक र स्थानीयवासीले लगानी रकम सुनिश्चित गरिसकेको भन्दै उनले सर्वसाधारणका लागि पनि शेयर खुला गर्ने बताए।
कम्पनीले अहिलेसम्म ७ सय जना स्थानीयको शेयर संकलन गरिसकेको जनाएको छ। आयोजनाप्रति अपनत्व जनाउन स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, युवा समूह, आमा समूह, टोल विकास समितिलगायत संघसंस्थाका प्रतिनिधिसँग छुट्टा–छुट्टै छलफल गरेको प्रवर्द्धक कम्पनीका अध्यक्ष पोखरेलले बताए।
आयोजना निर्माणमा स्थानीय तहसँग समन्वय गर्न माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ सँग १४ बुँदे सम्झौता गरेको छ।
सोही सम्झौताका कारण स्थानीयबासीले आयोजना निर्माणमा सहयोग पुर्याएको वडा अध्यक्ष विक्रम गुरुङले बताए।
सम्झौताको पहिलो बुँदामै आयोजना निर्माणाधीन रहँदा कम्पनीले करबाहेक वार्षिक ९० लाख रुपैयाँ गाउँपालिकालाई दिने उल्लेख छ।
उक्त रकम आयोजना प्रभावित क्षेत्रमै खर्च हुने वडाध्यक्ष गुरुङले बताए।
यस्तै, आयोजना बनाउँदा रोजगारीमा स्थानीय युवालाई प्राथमिकता दिनुपर्ने, गाउँपालिकाले आयोजनालाई सहयोग गर्ने लगायतका बुँदा छन्।
सम्झौताका अलवा गाउँमा बिग्रिएको बाटो निर्माण, विद्यालय, एम्बुलेन्स खरिद, आय–आर्जनका कार्यक्रम र रोजगारमूलक तालिम पनि सञ्चालन गर्ने योजना रहेको कम्पनीका अध्यक्ष पोखरेलले बताए।
‘हामीलाई कुल लागतको शून्य दशमलव ७५ प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने कानुनी बाध्यता छ’, पोखरेलले भने, ‘हामीले त्योभन्दा धेरै खर्च गर्छौं।’
कोरोनाभाइरस रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री भुर्जुङखोला स्वास्थ्य चौकीलाई प्रदान गरेको उनले बताए।
लकडाउनका बेला आवश्यक स्वास्थ्य सामग्री नपाएको बेला कम्पनीले बुटवलबाट स्वास्थ्य सामग्री प्रदान गरेको स्वास्थ्य चौकीका इन्चार्ज अनिता घिमिरेले बताइन्।
यस आयोजना बनाउँदा सुरुङलगायत खर्चिलो संरचना भने बनाउन पर्दैन। तोकिएको समयभन्दा अघि नै लागत मूल्यभन्दा कम खर्चमा आयोजना बनाउने लक्ष्य राखेको प्रवर्द्धकहरूले बताएका छन्।
‘लागत प्रतिमेगावाट २० करोड रुपैयाँ भए पनि तोकिएको भन्दा छिटो काम गरेर प्रतिमेगावाट १८ करोडमा बनाउने हाम्रो लक्ष्य हो’, आयोजनाका सामाजिक सम्बन्ध निर्देशक बमहादुर गुरुङले भने, ‘अनावश्यक खर्चबाट आयोजनालाई जोगाउँछौं।’