निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनका लागि छनौट भएको जुरिच इन्टरनेटशनलले काठमाडौं विमानस्थल पनि दिनु पर्ने माग गरेको छ।
जुरिचले निजगढको निर्माण तथा सञ्चालनसँगै काठमाडौं विमानस्थल पनि दिनुपर्ने प्रस्ताव लगानी बोर्डसँगको 'प्रि-बिड मिटिङ'मा गरेको थियो।
उक्त प्रस्तावमा लगानी बोर्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असहमति जनाएका छन्। लगानी सम्मेलनका क्रममा निजगढमा चासो देखाएका फर्ममध्ये योग्य ठहर भएर विस्तृत परियोजनाका लागि आह्वान गरेपछि जुरिचसँग भएको छलफलमा उक्त प्रस्ताव आएको थियो।
'उसले सुरूदेखि नै अनौपचारिक छलफलमा हामीसँग त्यस्तै प्रस्ताव राख्दै आएको थियो। त्यसैले यसको प्रस्ताव उपयुक्त हुँदैन कि भनेर हामीले भनेका थियौं। उसले मिटिङमै राखेपछि हामीले मान्ने कुरै भएन,' एक अधिकारीले सेतोपाटीसँग भने।
जुरिचले निजगढको निर्माण तथा सञ्चालनसँगै काठमाडौं विमानस्थलको सञ्चालनको जिम्मा नपाए आर्थिक रूपमा घाटा हुने र आयोजना फाइदाजनक नहुने तर्क राखेको थियो।
जुरिच इन्टरनेशनलको उक्त प्रस्ताव अस्वीकृत भएसँगै उसले विस्तृत प्रस्ताव पेशका लागि कुनै पनि चासो देखाएको छैन। आजसम्म प्रस्ताव बुझाइ सक्नु पर्ने भए पनि अहिलेसम्म कुनै पनि चासो नदिएको लगानी बोर्डले जानकारी दिएको छ।
लगानी सम्मेलनका क्रममा छनौट भएको कम्पनीले निर्माण, सञ्चालन तथा हस्तान्तरण मोडालिटीमा काम गर्न अनुमति पाउने छ। तर उसले आजसम्म प्रस्ताव पेश नगरेमा सरकारले अरू विकल्प खोज्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसअघनि नै घोषणा गरिसकेका छन्।
लगानी बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले भने अझै अन्तिम मिति बाँकी रहेकाले प्रस्ताव आउने -नआउनेबारे केही टुंगो नलागेको बताए। यद्यपी अहिलेसम्म जुरिचसँग खासै सम्पर्कमा भने छैन।
जुरिचले काठमाडौं विमानस्थलमात्र होइन निजगढ विमानस्थल सञ्चालनको जिम्मा ५० वर्षका लागि पाउनु पर्ने, सरकारकी पुँजी पनि हुनु पर्नेदेखि सरकारी ग्यारेन्टी बस्नुपर्नेसम्मका शर्त राखेको थियो।
सरकारले यसअघि पीपीपी मोडलमा बनाउने निर्णय गरेको थियो। उक्त निर्णसँगै लगानी बोर्डले विदेशी लगानीकर्ताका लागि आयोजना शोकेसमा राखेको थियो।
वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएको आयोजना निर्माण मोडालिटी टुंगो लागे पनि लगानीकर्ता तथा आयोजना विकासकर्ता टुंगो अझै लाग्न सकेको छैन।
२०६६ सालमा पीपीपी मोडलको निर्माण, सञ्चालन र हस्तान्तरण माध्यमबाट बनाउने निर्णय भएको थियो।
अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विमानस्थल सरकारी लगानीमा बनाउने निर्णय गरिएको थियो। जसमा नागरिक उड्डयन प्राधिकरणले १ खर्ब २० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरेको थियो।
पहिलो चरणमा ३६ सय मिटर लामो र ४५ मिटर फराकिलो एउटा धावनमार्ग हुने भनिएको उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन कोरियाली कम्पनी एलएमडब्लुले तयार पारेको छ।
उसको प्रतिवेदन सरकारले ग्रहण गर्ने निर्णय गरे पनि सहमति भने हुनसकेको छैन। पहिलो चरणमा आयोजनाको लागत ९० अर्ब लाग्ने एलएमडब्लुले बताएको थियो।
एयरपोर्ट सिटीसहितको आयोजनाका लागि स्वीकृत इआइएले २४ लाख रूख काट्नुपर्ने ठहर गरे पनि एउटा धावनमार्ग, टर्मिनल भवन बनाउन ७ लाख ६९ हजार रुख बिरुवा काटिने भएको छ।
अहिले १९ सय हेक्टर क्षेत्रफलमा पर्ने रुख बिरुवा कटानका लागि तयारीको काम भइरहेको र मंसिरभित्र सबै रुख काटिसक्ने मन्त्रालयले बताएको छ।
अहिले रुख कटानका लागि गणनाको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। जुरिचका बारेमा थप निर्णय भएपछि निर्माणका अन्य विकल्पमा जान सकिने प्राधिकरणले जानकारी दिएको छ।
आफैं निर्माण गर्ने तथा लगानी खोजीका लागि के गर्न सकिन्छ भनेर आफूहरू विकल्प दिन तयार भएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
यसअघि नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनालाई रूख काट्ने र पेरिफेरियल सडक निर्माणको जिम्मा दिइसकेको छ।
नेपाली सेनाले रूख काटेर त्यसलाई सुरक्षित हस्तान्तरण गर्ने छ भने त्यसको बिक्री वितरण वन विभागले गर्नेछ।
अबको दुई वर्षभित्र विमानस्थल निर्माणका लागि आवस्यक सबै जग्गा उपलब्ध गराउन रूख कटान, जग्गा प्राप्ति भइसक्ने पर्यटन मन्त्रालयले बताउँदै आएको छ।
तर, जग्गा प्राप्तिमा भने समस्या अझै कायमै छ। प्रभावित क्षेत्रमा दर्ता भएका जमिन रहेको ११० बिघा जग्गाको कित्ताकाट, मूल्यांकन र मुआब्जा दर निर्धारण भएर वितरण भइरहेको छ। तर, काठ र ट्यांग्रे गाउँमा रहेका पूर्जा नभएका १४ सय ७६ घरधुरीको भने पुर्नवासको कुनै प्रक्रिया अगाडि बढेको छैन।
२०३२ सालमा सरकारले वन हेरालुको रुपमा ल्याएर राखिएको उक्त गाउँका वासिन्दाको कुनै पनि पुर्जा छैन। जसको बारेमा समधान गर्न भन्दै सरकारले मन्त्रीकै संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको छ।
२०५१ सालमा पूर्व सम्भाव्यता अध्ययन भएको राष्ट्रिय गौरवको आयोजनामा आर्थिक वर्ष २०६५/६६ देखि बजेट बिनियोजन हुँदै आएको छ।