नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको १ महिना वितिसक्दा पनि काठमाडौंमा उडान गर्ने भारतीय प्रस्ताव अझै स्वीकृत भएको छैन।
नेपालले सिमित गन्तव्यमा उडान सुरु गरेपछि भारतीय पक्षले काठमाडौंमा पनि उडान गर्ने प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावलाई नेपाल सरकारले अझै स्वीकृत गरेको छैन।
भारतीय पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निश्चित मापदण्डमा रहेर नियमित उडान गर्ने प्रस्ताव गरेको थियो। भारतले काठमाडौंमा हुने उडानमा भारतीय र नेपाली नागरिक मात्र यात्रा गर्न पाउने गरी उडान गर्न प्रस्ताव गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
'एयर बबल' भनिने यो प्रकृतिको उडानमा तेस्रो देशका नागरिकले यात्रा गर्न पाउने छैनन्। सरकार तथा विमानस्थलले जारी गरेका स्वास्थ्य मापदण्ड पूरा गरेका यात्रुलाई मात्र अनुमति दिएर उडान सञ्चाल गर्न भारतल गरेको प्रस्ताव प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो।
मन्त्रालयले यस बारेमा मन्त्रिपरिषदबाट निर्णय गराउने भने पनि अहिलेसम्म निर्णय भएको छैन।
भारतमा संक्रमण अझै तीव्र रुपमा बढेको तथा नियमित उडानका लागि खुला नगरिएका कारण सिसिएमसी लगायतका निकायमा यस बारेमा छलफल भइरहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।
सरकारबाट निर्णय भएर आएपछि उडान सुरु हुने प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए।
'यो अवस्थमा उडान सुरु गर्ने वा नगर्ने,कहाँ गर्ने भन्ने कुराको निर्क्यौल सरकारी तहबाट हुन्छ। सोहीअनुसार हामीले माथिल्लो निकायमा पठाएका छौं। त्यहाँबाट निर्णय भएर आएपछि हामी थप निर्णय गर्छौं'पोखरेलले सेतोपाटीसँग भने।
सरकारले भदौ १७ गतेदेखि काठमाडौंबाट सिमित गन्तव्यमा नेपाली नागरिकका लागिमात्र अन्तर्राष्ट्रिय उडान खोलेको थियो। त्यसपछि विस्तरै अहिले खाडीका गन्तव्यहरु,चीन,हङकङ जस्ता गन्तव्यमा नियमित उडान खुला भइसकेको छ।
७२ घण्टाभित्रको पिसिआर अनिवार्य हुनुपर्ने र नेगेटिभ नतिजा हुनुपर्ने नियम लगाइएको छ। असोज ५ गतेदेखि आन्तरिक उडान पनि खोलिसके पछि अहिले हवाइ सेवा नियमित भएको छ।
सामन्य अवस्थामा सबैभन्दा धेरै उडान हुने काठमाडौं-दिल्ली रुट अहिले पनि बन्द रहेको छ। महामारीको समयमा सामन्य चार्टर्ड उडान भएको यो गन्तव्यमा उडान नहुँदा भारतीय एयरलाइन्सले काठमाडौं आउन पाएका छैनन्।
कडा नियम बनाएर उडान सुरु गरेपनि यो रुटमा न्यूनतम उडान अन्य गन्तव्यको तुलनामा राम्रो अकुपेन्सीमा सञ्चालन हुने एयर अपरेटरहरुले बताएका छन्। उनीहरुले प्राधिकरणमा उडान खोल्नका लागि नियमित लविङ गरिरहेका छन्।
'एयरलाइन्स भन्दा पनि नेपालकै ट्राभल एजेन्सीहरुले यसका लागि धेरै लविङ गरेका छन्। तर यो स्वास्थ्यसँग जोडिएका कारणले गर्दा उनीहरुको लविङलेमात्र काम गर्ने अवस्था छैन' एक अधिकारीले भने।