तीन वर्षपछि निर्माण सुरू भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा विमानस्थलसँगै सम्पन्न हुने अवस्थामा पुगेको छ। भैरहवामा विमानस्थल २०७१ सालदेखि निर्माण सुरू भएको थियो भने पोखरामा २०७४ सालदेखि।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो समयको भौतिक निर्माणको अवस्था हेर्दा पोखरा पनि भैरहवासँगै सम्पन्न हुने अवस्थामा पुगेको छ।
धावनमार्ग, टर्मिनल लगायत भवनहरू निर्माण भएको पोखरामा १४ भवन नयाँ बनेका छन्। प्रायः सबै नयाँ पूर्वाधार भएको उक्त विमानस्थलमा अब उपकरण जडान मात्र बाँकी रहेको प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारीले जानकारी दिए।
'अबको बाँकी काम दुवै विमानस्थलमा उत्तिकै र उस्तै छ। काम सुरू कहाँ पहिले हुन्छ, त्यहीअनुसार निर्माण सम्पन्न हुन्छ। यी विमानस्थलहरू एकैपटक सञ्चालनमा आउने अवस्था भने बनेको छ,' अधिकारीले सेतोपाटीसँग भने।
भैरहवा विमानस्थलमा पनि धावनमार्ग, टर्मिनल तथा अन्य भौतिक काम सकिएको र उपकरण जडानको काम मात्र रोकिएको छ। एसी फिटिङका लागि चिनियाँ प्रावधिक आवश्यक पर्ने भएकाले गर्दा अरू उपकरण जडान रोकिएको हो। त्यस्तै पोखरा विमानस्थलमा पनि चिनियाँ कामदार नहुँदा उपकरण जडान रोकिएको उनले जानकारी दिए।
दुवै विमानस्थलका लागि आवश्यक पर्ने विदेशी कामदार तथा प्राविधिक नेपाल ल्याउन भिसा अनुमतिको प्रक्रिया सुरू भइसकेको र अब कामले गति लिने उनको भनाइ छ। उपकरण जडान लगायत काम सुरू भएपछि चार महिनामा सम्पन्न हुने छ।
२०७१ सालमा निर्माण सुरू भएको भैरहवा विमानस्थलमा दुइटा ठेकेदार कम्पनी छन्। यसको भौतिक निर्माणको जिम्मा चीनको नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले पाएको छ। ६ अर्ब ७० करोड रूपैयाँमा ठेक्का पाएको यो कम्पनीलाई समय थप गर्दै आइएको छ।
पछिल्लो पटक थपिएको समयअनुसार यसले सन् २०२१ को जनवरीसम्म काम सक्नुपर्ने छ। तर यो बीचमा काम सम्पन्न हुने अवस्था भने छैन।
पहिले विभिन्न कारणले ढिलासुस्ती हुँदै आएको उक्त आयोजनामा अहिले कोरोनाका कारण ढिला भएको अधिकारीहरूले बताउँदै आएका छन्। निर्माण सुरू हुनेबित्तिकै नाकाबन्दीका कारण अबरुद्ध भएको बताइएको थियो।
बीचमा ठेकेदारको विवादले छ महिना काम रोकिएको उक्त आयोजनामा धावनमार्ग र टर्मिनल भवन निर्माण सकिए पनि टर्मिनलमा एसी राख्न चीनबाट प्राविधिक कामदार नआउँदा पाँच महिनादेखि काम अघि बढ्न सकेको छैन। यो काम नभएसम्म टर्मिनलभित्र जडान गरिने अरू उपकरणको काम सुरू नहुने भएकाले काम ठप्प प्रायः भएको छ।
सुरूमा चिनियाँ प्राविधिक बिदा मनाउन घर जानेबित्तिकै लकडाउन भएको र पछिल्लो समय चीनमा खोप परीक्षण व्यापक भएको भन्दै प्राविधिक आएका छैनन्। अहिले भने ठेकेदार कम्पनीले कामदार ल्याउन भिसा आवेदन गरेको छ।
त्यस्तै यही आयोजनाका लागि उपकरण जडानको जिम्मा पाएको अर्को कम्पनी एरो थाइले पनि काम गर्न सकिरहेको छैन। उपकरणहरू सबै नेपाल ल्याइसके पनि अस्ट्रेलिया, मलेसिया तथा अमेरिकाबाट प्राविधिक ल्याउनुपर्ने भएकाले काम गर्न नसकेको उसले प्राधिकरणलाई जानकारी गराएको छ।
यी सबै काम सक्न कम्तिमा ६ महिना लाग्ने र उडान सुरू गर्न त्यसपछि कम्तिमा ६ महिना लाग्ने छ।
फरक निर्माण प्रक्रियाबाट सुरू भएको पोखरा विमानस्थलमा भने सबै काम एउटै कम्पनी सिएएमसी इञ्जिनिरिङले पाएको छ। यसले इपिसिएफ मोडलको निर्माण जिम्मा पाएको हो।
चीन सरकारको २२ अर्ब ऋणमा निर्माण भइरहेको यो आयोजना सन् २०२१, जुलाइसम्म सक्नुपर्ने छ। २ प्रतिशत ब्याजदरमा लिइएको ऋणमा सञ्चालित आयोजना तोकिएको समयभन्दा पहिलै सम्पन्न गर्ने कम्पनीले बताएको छ।
विमानस्थलको भौतिक संरचना सबै सकिएको र उपकरण जडान मात्र बाँकी भएकाले प्राविधिक आउनेबित्तिकै धमाधम सुरू हुने प्राधिकरणले बताएको छ।
तर पोखरा विमानस्थलमा उडान सुरु हुन विमानस्थल नजिकै रहेको डाँडो कटान गर्नुपर्ने छ। जसका लागि वातावरणीय अध्ययन गर्नुपर्ने हुन्छ। र, यसका लागि भर्खर मात्र काम सुरू भएको छ।