२०७२ सालको भुँइचालोपछि भत्किएको तातोपानी नाका जोड्ने सडक अझै निर्माण भएको छैन। सुरुमा दीगो निर्माण गर्ने भनिएपनि अहिलेसम्म टालटुलमै सीमित भएको छ।
भुँइचालोबाट क्षति भएपछि चीन सरकारले बनाइदिएको अरनीको राजमार्गको मर्मत पनि चिनियाँ पक्षले नै गरिदिएको थियो।
मर्मत भएपनि भुँइचालोबाट भुगोल कमजोर भएकाले सुरुदेखि बलियो निर्माण गर्नुपर्ने चिनियाँ र नेपाली प्राविधिकहरुको प्रारम्भिक अनुमानबाट औल्याइएको थियो।
प्राविधिकहरुले त्यसो अनुमान गरेपनि सरकारले अहिलेसम्म उक्त सडकको मर्मत बाहेक अरु कुनै पनि काम गरेको छैन। यसरी मर्मत गर्दा प्रत्येक वर्षामा क्षति हुने र फेरि मर्मतमात्र गर्नुपर्ने अवस्था आएको छ।
दीगो निर्माणका लागि काम गर्न सकिने भएपनि अहिलेसम्म मर्मतमात्र गरिएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए।
'हामीले यो वर्ष पनि वर्षामा क्षति भएको ठाउँमा सामन्य मर्मत गरेका छौं। यसबाट अबको हिउँदभर सडक चल्छ तर वर्षा आयो भने फेरि अबरुद्ध हुन्छ' उनले भने।
भुँइचालोका कारण त्यो क्षेत्रको भुगोल खलबलिएकाले यस्तो भएको हुनसक्ने उनको बुझाइ छ।
बाह्रबीसेबाट तातोपानीतिरको २६ किलोमिटर खण्डमा यस्तो समस्या देखिएको हो। यो खण्ड निर्माणका लागि सडक विभागले प्रारम्भिक लागत अनुमान पनि गरेको छ। तर अहिलेसम्म कुनै योजना बनाएको छैन।
'हामीले यो सडक निर्माणका लागि १ अर्ब बढी लागतको अनुमान गरेका छौं। तर यसको कुनै ठोस योजना भने बनिसकेको छैन' सापकोटाले सेतोपाटीसँग भने।
चीन सरकारले भुँइचालो लगत्तै तातोपानी नाका बन्द गरेको थियो। त्यसपछि अन्य पूर्वाधार बनेपनि चीनले नाका खोल्न आनाकानी गर्दै आएको थियो। विशेषगरी सडक पूर्वाधार राम्रो नबनेको भन्दै उनीहरुले नाका नखोल्ने बहाना बनाउँदै आएका थिए।
कोरोना महामारीका कारण पछिल्लो समय ठप्प भएको सडक असोजमा खोल्ने भनिएपनि सीमित क्षमतामा मात्र खोलिएको थियो। यो पटक पनि सडक राम्रो नभएकाले सीमित क्षमतामा खोल्ने चिनियाँ पक्षले अडान लिएको थियो।