सुदूरपश्चिम प्रदेशमा नेपाल आयल निगमले ९० दिन पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमताको डिपो स्थापना गर्ने भएको छ।
तीन महिना पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमताको डिपो स्थापनाका लागि ३० बिघा क्षेत्रफलमा भण्डार केन्द्र निर्माण हुन लागेको नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ।
नयाँ डिपो बनाउनका लागि ठाउँ खोजी सुरू भएको छ। सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको कैलालीको गोदावरीको १४ किलोमिटर पूर्व उत्तरतिरको जग्गालाई उपयुक्त स्थानका रूपमा हेरिएको छ। त्यो शिवशक्ति महिला सामुदायिक वनको जग्गा हो।त्यसमा लगानी गरेर निगमले आवश्यकता अनुसार पेट्रोलियम पदार्थ भण्डारण स्थल बनाउने लक्ष्य राखेको छ।
जग्गा प्राप्तिको प्रक्रिया सकिएपछि टेण्डर हुनेछ। अहिले बजेट पनि कति लाग्ने भन्ने समेत अध्ययन नभएको नेपाल आयल निगमका सुदूरपश्चिम प्रादेश प्रमुख चीरजंन दासले बताए।
‘जग्गा प्राप्ति भएपछि नेपाल सरकारले घोषित गरेको कार्यक्रम अनुसार ९० दिनलाई पुग्ने भण्डारण क्षमताको डिपो स्थापनाको प्रयास हो,’ उनले भने।
अहिले सुदूरपश्चिममा एक सयको संख्यामा पेट्रोल पम्पहरू रहेका छन्। प्रदेशमा ८४ ट्यांकर रहेका छन्। अहिले धानिरहेको भए पनि अपुग हुन थालेको आयल निगमको ठहर छ।
अहिले सुदूरपश्चिममा दैनिक १५० किलोलिटर डिजलको माग छ।