भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण दस महिनादेखि ठप्प छ। सन् २०२०, जनवरीमा बिदामा गएका चिनियाँ कामदार नफर्किएपछि विमानस्थलको मुख्य निर्माण काम रोकिएको हो।
नयाँ वर्ष मनाउन जनवरीमा घर फर्किएका चिनियाँ कामदार लामो समयसम्म लकडाउनका कारण उतै रोकिएका र पछिल्लो समय भ्याक्सिनको पर्खाइमा बस्दा विमानस्थलको निर्माण नै रोकिएको हो।
विमानस्थलका जुन काम नगरी अघि बढ्नै सकिँदैन, त्यही काम रोकिएका कारण चिनियाँ प्राविधिक नआई अब काम अघि नबढ्ने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।
'हामीले चिनियाँ प्राविधिक कामदारको अनुपस्थितिमा हुने कामहरू गर्यौं। तर अरू मुख्य काम भने लगभग एक वर्षदेखि रोकिएको छ,' उनले भने।
विमानस्थलको धावनमार्गदेखि टर्मिनल भवन निर्माण सकिएको भए पनि उपकरण जडानको काम रोकिएको छ। विमानस्थलमा एयर कन्डिसनर जोड्ने कामले विशेषगरी रोकेको छ। सम्बन्धित कम्पनीबाट तालिमप्राप्त कामदारले मात्र गर्ने यो काम हुन नसक्दा नेपाली कामदारले गर्न सक्ने काम पनि हुन सकेको छैन।
'विमानस्थलमा जडान हुने एसीको काम नभइ कतिपय अरू काम हुँदैनन्। त्यसैले उताका प्राविधिक कामदार नभइ काम अघि बढ्ने अवस्था रहेन,' अधिकारीले भने।
चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले पाएको उक्त निर्माण कार्य सक्ने अवधि सन् २०२१, जनवरीसम्म हो। तर यो अवधिमा काम सकिने अवस्था भने छैन।
विमानस्थलमा जडान हुने अधिकांश उपकरण आइसके पनि प्रावधिकि नआउँदा यसै थन्किएका छन्। यही अवस्थामा स्थलगत अवलोकनमा भैरहवा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अबको २५ दिनभित्र काम सम्पन्न गर्न निर्देशन दिएका थिए।
मन्त्री भट्टराईले निर्देशन दिए पनि उक्त अवधिमा चिनियाँ कामदार आएर काम सुरू गरिदिए त्यही ठूलो उपलब्धि हुने अधिकारीहरूले बताउँदै आएका छन्।
विमानस्थल निर्माणका लागि आवश्यक कामदार छिटो ल्याएर सुरू गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको अधिकारीले जानकारी दिए। पहिले लकडाउन हुँदा केही नभने पनि अहिले उडान खुलिसक्दा पनि कामदार आएका छैनन्।
त्यस्तै उपकरण जडान तथा आपूर्ति जिम्मा पाएको थाइ कम्पनी एरोथाइको काम पनि अघि बढ्न सकेको छैन। प्राविधिक कामदार नआउँदा उनीहरूको काम पनि रोकिएको हो।
नेपालमा भएका थाइल्यान्ड र चीनका राजदूतहरूसँग संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छलफल गरिरहेको बताएको छ। मन्त्रालयका अधिकारीका अनुसार विमानस्थल निर्माण छिटो सक्न पहल गर्न मन्त्रालयले दूतावासहरूसँग छलफल पनि भइरहेको छ।
भैरहवा विमानस्थल निर्माणको सिभिल कामका लागि ६ अर्ब ८२ करोडमा ठेक्का सम्झौता भएको छ भने उपकरण आपूर्ति तथा जडानका लागि ४८ करोडमा सम्झौता भएको छ। हालसम्म सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेष्टले ६४ प्रतिशत भुक्तानी लिएको छ।
विमानस्थलको पहिलो चरणको काममा ढिलाइ हुँदै गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणको निर्माण अघि बढाउन लागेको छ।
टर्मिनल भवन तथा अन्य विमनस्थल पूर्वाधार निर्माण गर्न भन्दै सरकारले एसियाली विकास बैंकसँग ऋण लिने निर्णय यसअघि नै गरिसकेको छ। पहिलो चरणको निर्माण पनि एसियाली विकास बैंककै ऋण सहयोगमा भएको हो।