भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले अन्तर्राष्ट्रिय उडान खुलेको तीन महिना वितिसक्दा पनि चीनबाट प्राविधिक कामदार ल्याएको छैन।
करिब एक वर्षदेखि चीनबाट प्राविधिक कामदार नआउँदा ठप्प भएको विमानस्थल निर्माणको काम ठप्प भएको छ। उडान नखुल्दासम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले केही नभेपनि पछिल्लो समय भने ताकेता गरिरहेको छ।
प्राधिकरणले कामदार छिटो ल्याएर काम सुरु गर्न निर्माण कम्पनीलाई निरन्तर ताकेता गर्दा प्राविधिकहरु अझै आएका छैनन्।
विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले कम्पनीलाई छिटोभन्दा छिटो प्राविधिक ल्याएर काम सुरु गर्न भनेपनि अहिलेसम्म आउने कुनै छाँटकाँट नदेखिएको जानकारी दिए।
'हामीले कामदार ल्याउनका लागि के गर्नुपर्छ भनेर मन्त्रालयसम्म सहजीकरणका लागि पहल गरेका छौं। तर पनि उसले अहिलेसम्म ल्याएको छैन' उनले भने।
कम्पनीले उडान खुल्नेवित्तिकै खोप लगाएर आउछन् भनिरहेको थियो। अहिले पनि त्यस्तै बहनाबाजीमात्र गरिरहेको छ।सन् २०२१ को जनवरीसम्मका लागिमात्र समयसीमा पाएको कम्पनीले फेरि समय थप गराउने योजना बनाएको छ।
कोरोना तथा लकडाउनलाई कारक देखाएर उसले समय थप गराउने योजना बनाएको छ।
सन् २०२०, जनवरीमा बिदामा गएका चिनियाँ कामदार नफर्किएपछि विमानस्थलको मुख्य निर्माण काम रोकिएको छ।
नयाँ वर्ष मनाउन जनवरीमा घर फर्किएका चिनियाँ कामदार लामो समयसम्म लकडाउनका कारण उतै रोकिएका थिए। उडान खुलेपछि पनि कम्पनीले कामदार ल्याउने कुनै पहल नगर्दा काम अघि बढ्न सकेको छैन। चिनियाँ कम्पनीले नै जिम्मा पाएको पोखरा विमानस्थलमा भने प्राविधिक कामदार फर्किएर काम सुरु भइसकेको छ।
विमानस्थलका जुन काम नगरी अघि बढ्नै सकिँदैन, त्यही काम रोकिएका कारण चिनियाँ प्राविधिक नआई अब काम अघि नबढ्ने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।
'हामीले चिनियाँ प्राविधिक कामदारको अनुपस्थितिमा हुने कामहरू गर्यौं। तर अरू मुख्य काम भने लगभग एक वर्षदेखि रोकिएको छ,' उनले भने।
विमानस्थलको धावनमार्गदेखि टर्मिनल भवन निर्माण सकिएको भए पनि उपकरण जडानको काम रोकिएको छ। विमानस्थलमा एयर कन्डिसनर जोड्ने कामले विशेषगरी रोकेको छ। सम्बन्धित कम्पनीबाट तालिमप्राप्त कामदारले मात्र गर्ने यो काम हुन नसक्दा नेपाली कामदारले गर्न सक्ने काम पनि हुन सकेको छैन।
'विमानस्थलमा जडान हुने एसीको काम नभइ कतिपय अरू काम हुँदैनन्। त्यसैले उताका प्राविधिक कामदार नभइ काम अघि बढ्ने अवस्था रहेन,' अधिकारीले भने।
चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले पाएको उक्त निर्माण कार्य सक्ने अवधि सन् २०२१, जनवरीसम्म हो। तर यो अवधिमा काम सकिने अवस्था भने छैन।
विमानस्थलमा जडान हुने अधिकांश उपकरण आइसके पनि प्रावधिकि नआउँदा यसै थन्किएका छन्।त्यस्तै उपकरण जडान तथा आपूर्ति जिम्मा पाएको थाइ कम्पनी एरोथाइको काम पनि अघि बढ्न सकेको छैन। प्राविधिक कामदार नआउँदा उनीहरूको काम पनि रोकिएको हो।
भैरहवा विमानस्थल निर्माणको सिभिल कामका लागि ६ अर्ब ८२ करोडमा ठेक्का सम्झौता भएको छ भने उपकरण आपूर्ति तथा जडानका लागि ४८ करोडमा सम्झौता भएको छ। हालसम्म सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेष्टले ६४ प्रतिशत भुक्तानी लिएको छ।
चिनियाँ कम्पनीले काम अघि नबढाउँदा यसअघि नै काम गरेका स्थानीय आपूर्तिकर्तालेसमेत भुक्तानी पाएका छैनन्।
विमानस्थलको पहिलो चरणको काममा ढिलाइ हुँदै गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणको निर्माण अघि बढाउन लागेको छ।
टर्मिनल भवन तथा अन्य विमनस्थल पूर्वाधार निर्माण गर्न भन्दै सरकारले एसियाली विकास बैंकसँग ऋण लिने निर्णय यसअघि नै गरिसकेको छ। पहिलो चरणको निर्माण पनि एसियाली विकास बैंककै ऋण सहयोगमा भएको हो।