नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ घाँस लगाउने तयारी गरिरहेको छ।
धावन मार्गको छेउछाउमा अहिले भएको घाँस हटाएर नयाँ प्रजातिको रोप्ने तयारी भइरहेको विमानस्थल क्षमता विस्तार आयोजना प्रमुख मुराहरि भण्डारीले जानकारी दिए।
विमानस्थलको धावनमार्ग तथा ट्याक्सीवे बाहेकको ठाउँमा अहिले आफै उम्रिएको घाँस रहेको छ।
किन लगाउन थालियो नयाँ घाँस
पुरानो कालोपत्रे उप्काएर नयाँ हालेपछि पनि गएको वर्षामा पानी रसाएको थियो। पुरानै समस्या दोहोरिएपछि प्राधिकरणले पाइप राख्नेदेखि घाँस प्रतिस्थापन गर्नेसम्मका योजना अघि सारेको छ।
चार अर्ब २७ करोड लागतमा ३ हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्रे गरिएको थियो। चिनियाँ कम्पनीले उक्त काम सन् २०१९ को डिसेम्बरमा सम्पन्न गरेको थियो।
डिसेम्बरमा काम सम्पन्न भएर हस्तान्तरण भएपछि असारमा वर्षाको दक्षिणतिरको भागमा फेरि पानी रसाउन थालेको थियो।
'सुख्खा याममा त त्यो कुरा थाहा हुने कुरा भएन। पानी पर्न थालेपछि दिउसोको समयमा फेरि पानी रसाउने देखियो दक्षिणतिरको केही भागमा' आयोजना प्रमुख भण्डारीले भने।
प्रमुख भण्डारी भने आयोजनाको डिजाइन नयाँ भएपनि धावनमार्ग पुरै कालोपत्रे फेर्ने नभएकाले नयाँ उपाया समावेस नगरिएकाले पानीको सतह व्यवस्थापन हुन नसकेको बताउछन्।
उनका अनुसार ६० मिटर चौडा धावनमार्गमा २० मिटरमात्र कालोपत्रे फेरिएको थियो। केन्द्रविन्दुबाट १० मिटर दायाँ बायाँमात्र कालोपत्रे फेरिएको थियो।
'त्यसरी पानी रसाउने समस्याको भरपर्दो समाधान भनेको धावनमार्गको बेसकोर्स(कालोपत्रेको सबैभन्दा तल्लो तह)भन्दा मुनी पाइप राखिन्छ। नयाँ विस्तार गरिएको ३ सय मिटरमा हामीले त्यही गरेका छौं। बीचबाट दायाँ बायाँ पाइपबाट पानीको निकास गरिन्छ तर यो आयोजना पुरानै डिजाइनभित्र बनेको हो' उनले भने।
पहिलेको डिजाइनमा धावनमार्गको कालोपत्रे सकिने ठाउँभन्दा केही मिटर परसम्म पाइप राखिएको थियो। तर जहाँनेर पानी रसाएको छ त्यही पाइप थिएन।
पानी रसाएपछि चिनियाँ ठेकेदारले नै पाइप राख्ने काम गरेको भण्डारीले जानकारी दिए। त्यसपछि भदौसम्मको अवस्थामा रसाउने समस्या समाधान भएको थियो।
यसरी पानी रसाउने तथा पिंच उप्किने समस्या हुँदा उडान तथा अवतरण नै अवरुद्ध हुने समस्या आउछ।
पाइप बाहेक विमानस्थलमा रहेका पुरानो घाँस जमिन मुनी तलसम्म जरा गाड्ने तथा पानीको संचय धेरै गर्ने प्रकृतिका भएकाले पनि समस्या आएको नयाँ अध्ययनबाट देखिएको भण्डारीले बताए।
'पूर्वाधार निर्माण बाहेक पनि हामीले त्यहाँ रहेको धेरै वर्ष पुराना घाँस प्रतिस्पथान गर्ने योजना बनाएका छौं' उनले भने।
चिनियाँ कम्पनीले गएको वर्ष नै आयोजना हस्तान्तरण गरेपनि अहिलेसम्म उसको जिम्मेवारी रहेको भण्डारीले जानकारी दिए। अझै एक वर्षाको अवस्था हेरेपछिमात्र उसको धरौटी फिर्ता गरिने उनको भनाइ छ।
कम्पनीको धरौटी कूल रकमको पाँच प्रतिशत रहेको छ।
अहिले पनि प्रत्येक दिन नयाँ संरचनाको अनुगमन भइरहेको र वर्षासम्मको अवस्था हेरेर केही समस्या नदेखिएमा ठेकेदारको धरौटी फिर्ता दिने यदि समस्या देखिए डिजाइनमा उल्लेख भएअनुसारको निर्माण गर्न लगाइने भण्डारीले बताए।
'अझै एक वर्षसम्म कम्पनीकै जिम्माको कुरा हो। यदि कुनै डिफेक्ट देखिएमा त्यसको निर्माण उसैले गर्छ। डिजाइनअनुसारकै काममा डिफेक्ट देखिएमा उसले बनाउने हो। त्यसैले हामीले धरौटी राखेका छौं' उनले भने।
काम गर्दाको समसयमा यस्तै समस्या हुन्छन् भनेरै धरौटी राख्ने र ठेकेदारलाई जिम्मेवार बनाउने कानूनी व्यवस्था भएको र सोहीअनुसार यसमा सम्झौता रहेको उनको भनाइ छ।