निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान तथा अवतरणका लागि बनाइएको कार्यविधि अझै प्रकाशित हुन सकेको छैन। गएको एक वर्षदेखि कार्यविधि बनाइरहेको प्राधिकरणले छिमेकी मुलुक भारतको स्वीकृति नपाउँदा प्रकाशित गर्न नपाएको हो।
भारतको स्वीकृति नआएपछि सरकारले नै कुटनीतिक तहमा छलफल गरेर सहमति गरेपछि मात्र कार्यविधि प्रकाशित हुने भएको छ।
यसअघि पनि भैरहवा विमानस्थलका लागि आवश्यक हुने नेपालगञ्जदेखि पश्चिमको कुनै एक हवाइ प्रवेश बिन्दु दिन असहमत भएको भारतले भैरहवा उडान कार्यविधिमा सहमति दिन आनाकानी गरेको छ।
सीमानाकामै रहेको विमानस्थल भएको र अवतरण गर्दा भारतीय आकाश प्रयोग हुने भएपछि नेपाल एक्लैले कार्यविधि प्रकाशित गर्न पाउँदैन। क्रसबोर्डर उडान तथा अवतरणमा दुई देशको सहमतिमा मात्र कार्यविधि बनाउनुपर्ने हुन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको कार्यविधिमा भारतीय पक्षले असमति जनाइसकेको छ। उसले नेपाली आकाशको मात्र उपयोग हुनेगरी कार्यविधि बनाउन सुझाव दिएको छ।
'तर उसलाई पनि यो कुरा थाहा छ कि नेपाली क्षेत्रको मात्र उपयोगबाट कार्यविधि बन्दैन,' पर्यटन मन्त्रालय निकट स्रोतले भन्यो।
प्राधिकरणले भारतीय पक्षको प्रतिक्रिया पाएपछि यो मामिलालाई पर्यटन मन्त्रालय मार्फत् सरकारसमक्ष पठाइसकेको छ। सरकारले यो विषयमा भारतसँग कुटनीतिक पहल गर्ने बताएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यो विषय कुटनीतिक छलफलको विषयका रूपमा प्रवेश गरिसकेको जानकारी दिए।
'केही समयअघि भारत भ्रमणमा जाँदा परराष्ट्रमन्त्री ज्यूले यो विषय उठान गरिसक्नुभएको छ। आगामी दिनमा हुने हाम्रा कुटनीतिक छलफलमा यो विषयमा टुंगो लाग्छ,' दुई देशबीचको सहमतिमै कार्यविधि बन्नेमा विश्वास व्यक्त गर्दै उनले भने, 'सहमित नभएकै कारण उडान रोकिँदैन र त्यस्तो अवस्था आउन हामी दिँदैनौं।'
कुटनीतिक तथा प्रावधिक तहको छलफलबाट सकेसम्म छिटो कार्यविधि प्रकाशित गरिने मन्त्री ढकालको विश्वास छ।
भैरहवा विमानस्थलको भौतिक निर्माण काम अधिकांस सम्पन्न भए पनि एसी जडान नहुँदा यन्त्र/उपकरणको काम भने एक वर्षदेखि रोकिएको छ।
चीन तथा थाइल्यान्डबाट प्राविधिक कामदार नआउँदा निर्माण कार्य रोकिएको हो। अब काम सुरू भएपछि एक वर्षभित्र भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरू हुने छ।