काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्नका लागि तयार पारिएको गुरुयोजना चार वर्ष वितिसक्दा पनि सरकारले पारित गरेको छैन।
सन् २०१६ मा एडिपिआइले तयार पारेको गुरुयोजनाअनुसार अहिले पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले संरचना निर्माण गरिरहेको छ।
प्राधिकरणले परामर्शदातालाई करोडौं रुपैयाँ दिएर तयार पारेको यस्तो गुरुयोजना सरकारले पारित गर्नुपर्ने व्यवस्था रहेको छ। तर पनि यो रिपोर्ट अहिलेसम्म मन्त्रालयसम्म पनि पुगेको छैन।
'विमानस्थलमा दीर्घकालिन पूर्वाधार निर्माण तथा त्यसमा लाग्ने लागतको अनुमान हुने भएकाले सरकारले यसलाई स्वीकृत गरेपछिमात्र लागू गर्नुपर्ने हो। किन भने यसको अन्तिम दायित्व सरकारले लिनुपर्छ। तर अहिलेसम्म त्यो रिपोर्ट मन्त्रालयले पनि देखेको छैन' संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निकट स्रोतले भन्यो।
प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने गुरुयोजना तयार भएपनि व्यवस्थापकीय काममा ढिलाइ हुँदा मन्त्रिपरिषदबाट पारित गराउन ढिला भएको बताउछन्। अहिले पनि गुरुयोजनाले तय गरेका निर्देशअनुसार नै पूर्वाधारहरु निर्माण भइरहेको उनको भनाइ छ।
'यो आयोजनाको मुख्य काम भनेको टर्मिनल हो। जसको निर्माण गर्ने कि नगर्ने भन्ने कुराको निश्चित यो बीचमा भएन। यदि बनाउने नै हो भने नेपाल आर्मीको ह्यांगर सार्ने लगायतका काम पनि बाँकी नै छन्। ती सबै निश्चित भएपछिमात्र हामीले मन्त्रिपरिषदमा पठाउने हो' उनले भने।
सरकारले स्वीकृत नगरेपनि प्राधिकरणले अहिले पनि पूर्वतिर ह्यांगर क्षेत्र निर्माण, धावनमार्गको विस्तार,समानन्तर ट्याक्सी वेको निर्माण जस्ता कामहरु गरिरहेको छ।
फेरि समिक्षा गर्दै प्राधिकरण
चार वर्षसम्म सरकारबाट अनुमोदन नभएको गुरुयोजनाको फेरि समिक्षा गर्न प्राधिकरण जुटेको छ। अहिले यसको समिक्षा भइरहेको छ। यही गुरुयोजना समिक्षाकै लागि ५ देखि १० करोड खर्च हुने प्राधिकरणको अनुमान छ।
एडिपिआइको गुरुयोजनाअनुसार विमानस्थलको अन्तिम क्षमता विस्तारका लागि ६० करोड अमेरिकी डलर लगानी आवश्यक हुन्छ। क्षमता विस्तारका लागि आन्तरिक टर्मिनल निर्माण, नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण गर्नुपर्ने उल्लेख गरिएको थियो।
यसमध्ये अहिलेसम्म २० अर्ब खर्चका लागि यसअघि नै विनियोजन भइसकेको छ।
बीचमा निजगढ विमानस्थल निर्माण गर्ने चर्चा भएकाले प्राधिकरणले काठमाडौंमा ठूलो लगानी गर्ने कदमबाट पछि हटेको थियो। तर पछिल्लो समय प्राधिकरण फेरि काठमाडौं विमानस्थलमै लगानी बढाउने तयारीमा जुटेको छ।