दूध पिउनु स्वास्थ्यका लागि हानिकारक होइन। दूधलाई लामो समय फाट्न नदिन डेरीमा प्रयोग गरिएका अस्वस्थ मिसावटले भने दूधलाई हानिकारक बनाइदिएको छ।
दूध फाट्न नदिन अत्यधिक मात्रामा सोडियमको मिसावट हुन थालेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
‘दूधमा सोडियम लगायतका पदार्थ धेरै मिसाउँदा ब्लड प्रेसर बढ्ने र हृदयघातका समस्या आउन सक्छन्’, विभागका महानिर्देशक उपेन्द्र रायले भने, ‘दूध संकलन बिहानको बिहानै र बेलुकाको बेलुका नै गर्न सकियो भने यसरी अत्यधिक सोडियम मिसाउन पर्दैन।’
बिहानदेखिको दूध बेलुका र बेलुका दुहेको दूध बिहान संकलन गर्दा फाट्न नदिन किसान र डेरी संचालकले अत्यधिक सोडियमको प्रयोग गर्दा स्वास्थ्यलाई नै असर पर्न थालेको भन्दै रायले चिन्ता व्यक्त गरे।
स्वास्थ्यका लागि अमृत समान मानिने दूधमा यसरी मिसावट भएर स्वास्थ्यलाई नै खराब गर्ने अवस्था आउन नदिन किसान र डेरी संचालक इमानदार हुनुपर्ने उनले बताए।
‘हामी आफू संस्कारमा बस्दैनौं, सहकार्य गर्दैनौं, अनि सरकारले मात्र गरेन भन्छौं, यो तरिका गलत छ’, महानिर्देशक रायले भने।
उनले डेरी संचालकहरूलाई यसरी संस्कारमा बस्न र दूधमा मिसावट गरेर स्वास्थ्यमाथि खेलबाड नगर्न आग्रह गरे।
पोखरामा शुक्रबार भएको डेरी उद्योग संघको १२ औं वार्षिक साधारण सभामा बोल्दै रायले अहिले चिया र कफी बनाउन बेचिएको दूध ‘मिल्क ह्वाइटर’ मात्र भएको बताए।
‘मिल्क ह्वाइटर दूध होइन, चिया र कफी बनाउन प्रयोग गरिने पदार्थ मात्र हो’, उनले भने, ‘दूधबाटै बन्ने भए पनि यसलाई दूध हो भन्न सकिँदैन।’
विज्ञानका आधारमा अघि बढ्न नसके नेपालको दूध व्यवसायको क्षेत्र अन्धकारमा जाने उनले चेतावनी दिए।
विभागले औपचारिकताका लागि दूधको मौसमी परीक्षण गर्ने गरेको छ।
यसरी परीक्षण गर्दा केही डेरीबाट बेचिने दूधका हानिकारक जीवाणु ‘कोलिफर्म’ देखिने गरेको छ।
दिसामा पाइने यो जीवाणुले मानिसलाई झाडा पखलालगायत सरूवा रोग निम्त्याउँछ।
डेरी उद्योग संघका पूर्वअध्यक्ष अरनिको राजभण्डारीले भने सबै कोलिफर्म दूषित भन्न नमिल्ने बताए।
‘वातावरणमा पाइने सबै कोलिफर्म दूषित हुँदैन’, उनले भने, ‘कोलिफर्म माटो, घाँसपातमा पनि पाइन्छ, यस्तो घाँस खाएको गाइभैंसीले दिने दूधमा कोलिफर्म भेटिन्छ।’
दूधमा कति मात्रामा कोलिफर्म भेटियो भन्ने प्रश्नले अर्थ राख्ने उनको भनाइ छ।
दूधको प्रशोधन राम्रोसँग नहुँदा हानिकारक कोलिफर्म भेटिने गरेको यस क्षेत्रका विज्ञहरूले बताउने गरेका छन्।
अहिले नेपालमा वार्षिक २२ लाख ६८ मेट्रिक टन छ। यस हिसाबले नेपालममा प्रतिव्यक्ति वार्षिक ७८ लिटर दूध पुग्छ।
एउटा स्वस्थ व्यक्तिले दैनिक २५२ मिलिलिटर दूध उपभोग गर्नुपर्छ। यस हिसाबले वार्षिक ९१ लिटर दूध पिउनुपर्ने डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए।
नेपालमा अझै प्रतिव्यक्ति १३ लिटर दूधको अभाव भएको उनले बताए।
नेपालमा दूधको अभाव हुने भनेको चैतदेखि भदौसम्म मात्र हो।
संघका अनुसार असोजदेखि फागुनसम्म दूधको उत्पादन बढी भएर बजार नपाउने अवस्था छ भने चैतदेखि भदौसम्म आवश्यक मात्रामा दूध उत्पादन हुँदैन। जसका कारण भारत लगायतका देशबाट दूध आयात गर्नुपर्ने अवस्था आएको अध्यक्ष दाहालले बताए।
‘नेपालमा दूध तथा दुग्धजन्य पदार्थको आयात हेर्दा भारत तथा तेस्रो मुलुकबाट वार्षिक २ अर्बभन्दा बढी रकमको आयात गर्नुपर्छ’, उनले भने।
दूध अभावलाई रोक्न र आयात प्रतिस्थापन गर्न नेपालकै डेरी उद्योगमार्फत् बढी उत्पादन भएको समयको दूध पाउडर बनाउन लागिपरेको दाहालले बताए।
लकडाउनका समयमा अधिकांश किसानका दूध विक्री हुन पाएनन्। अत्यावश्यक सेवामा राखिए पनि धेरैजसो किसान र डेरी उद्योगले खरिद– विक्रीका लागि ढुवानी सेवा समेत पाएनन्। जसले धेरै किसानका दूध खेर गयो। पोखराको सुजल डेरी र चितवनको चितवन मिल्कले लकडाउनका समयमा खेर जाने अवस्थाका दूधलाई पाउडरमा परिणत गरेको छ।
यसरी १ करोड २० लाख लिटर दूध संकलन गरी ९ सय टन धुलो दूध र ६ सय टन बटर उत्पादन गरेको अध्यक्ष दाहालले जानकारी दिए।
यसरी दूधलाई पाउडर र बटर बनाउँदा किसानले १ अर्ब रुपैयाँ बराबरको दूध खेर जानबाट जोगिएको उनले बताए।
नेपालमा यसरी उत्पादन गरिएका पाउडर दूधको मूल्य भने ५० देखि ६० रुपैयाँ महँगो पर्न जाने संघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारसँगको प्रतिस्पर्धा गर्दा नेपालको दूध उत्पादनको लागत नै महँगो भएको र ढुवानी महँगो पर्ने भएकाले पाउडर दूधको मूल्य महँगो पर्न गएको अध्यक्ष दाहालले दाबी गरे।
यता, दुग्ध विकास बोर्डले भने प्रतिलिटर दूध खरिद गर्दा ६ रुपैयाँ अनुदान दिने नीति लिएको जनाएको छ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले ढुवानी खर्चको ५० प्रतिशत अनुदान दिने नीति लिएको बताए।
‘दूधसम्बन्धी नीति परिवर्तन गर्न हामीले मन्त्रिपरिषदमा पठाएका छौं, छिट्टै पारित हुन्छ,’ उनले भने।
बोर्डका कार्यकारी उपनिर्देशक बाबुकाजी पन्तले कोरोना महामारी रोक्न गरिएको लकडाउनका समयमा प्रतिलिटर दूधमा १० रुपैयाँ अनुदान दिने निर्णय गरेको जनाए।
पोखरा, चितवन र विराटनगरमा दूध प्रशोधनका लागि चिस्यान केन्द्र स्थापना गर्ने निर्णय समेत भएको उनले जानकारी दिए।
संघको साधारण सभामा बोल्ने वक्ताहरूले आ-आफ्ना पक्षबाट समस्या र समाधानका उपाय देखाएका थिए।
डेरी संघका पदाधिकारीले सरकारतर्फ औंला उठाए भने सरकारी पक्षले निजी क्षेत्र इमान्दार हुनुपर्नेमा जोड दिए।
किसानको प्रतिनिधित्व गर्ने दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले किसानलाई झनै समस्यै समस्या रहेको सुनाए।
‘हामी सहकारीमार्फत् नै दुग्ध उद्योग खोल्न लागेका छौं, किसानले एक पैसा पनि सुविधा पाएन’, देवकोटाले भने, ‘हामी किसानको वेदना अत्यन्तै विकराल छ।’
गाई, भैंसी पालेका किसानले दूध विक्री गरेवापत समयमै रकम नपाउने सबभन्दा ठूलो समस्या भएको उनले बताए।
लकडाउनमा धेरै किसानको दूध खेर गएको र सरकारले कुनै पनि राहत नदिएको भन्दै उनले आक्रोश पोखे।
‘गाईभैंसी पालेका किसानले ४ महिनादेखि दूधको पैसा पाएका छैनन्, धमाधम गाई बेच्न थालेका छन्’, उनले भने, ‘सरकारले हामीलाई हेरेन, हामी घेराबन्दी गर्न तयार छौं।’
अब अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली दूध बेच्नुपर्ने भन्दै उनले दुग्ध उद्योगले गुणस्तर बढाउनुपर्ने बताए।
किसानले ठाडो स्वरमा सिधा बोल्ने तर झूटो नबोल्ने भन्दै उनले भने, ‘हिजो किसानको हातैमा पैसा भनेका थियौं, अब किसानको खातैमा पैसा आउनुपर्छ। समयमा पैसा पाउँदा नै किसानको पसिनाले अर्थ राख्छ।’
विदेशी लगानीको डर
नेपालको कृषि क्षेत्रमा विदेशी लगानी ल्याउन दिने निर्णयको भने किसानका प्रतिनिधिदेखि डेरी सञ्चालक र उद्योगीले समेत विरोध जनाए।
सरकारले कृषि क्षेत्रमा विदेशीले लगानी गर्न पाउने निर्णय गरेको छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा नेपालको कृषि क्षेत्रमा विदेशी लगानी निषेध गरेको छ।
तर मन्त्रिपरिषदले ७५ प्रतिशतसम्म उत्पादन विदेश निर्यात गर्ने शर्त राखेर प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) गर्न पाउने निर्णय गरेपछि किसानदेखि कृषिमा आधारित उद्योगी, व्यवसायी सशंकित बनेका हुन्।
डेरी उद्योग संघका उपाध्यक्ष ज्ञानेन्द्र बजगाईंले कृषिमा वैदेशिक लगानी भित्रिए नेपाली किसान सबभन्दा धेरै समस्यामा पर्ने दाबी गरे।
‘कृषिमा विदेशी लगानी आयो भने वास्तविक समस्या किसानलाई पर्छ’, बजगाईंले भने, ‘यसले नेपाली किसान सत प्रतिशत डुब्ने अवस्था छ, यसलाई छेकवार लगाएन भने व्यवसायी त मर्कामा परे परे, किसानलाई झन् धेरै पर्छ।’
दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले पनि कृषिमा विदेशी लगानीको विरोध जनाए।
कृषिमा धेरै बहुराष्ट्रिय कम्पनी आएर बन्द भएको भन्दै उनले विदेशी लगानीबाट स्वदेशका किसान र व्यवसायी मर्कामा पर्ने बताए।
गण्डकी प्रदेश सरकारले चीनको सहयोगमा १० हजार गाई पाल्ने योजना बनाएको थियो। त्यसका लागि प्रदेश दुग्ध विकास बोर्डसम्बन्धी कानुन पारित भइसकेको छ।
गाई पालन गर्न ठाउँको पहिचान भइसकेको छ। यसको पनि आफूले विरोध जनाएको देवकोटाले बताए।
यता, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले भने दुग्ध विकास बोर्डमार्फत् किसानका दूध पनि खरिद गरिदिने बताएका थिए।
मुख्यमन्त्री गुरूङकै जोडबलमा बोर्डसम्बन्धी कानुन आइसक्दासमेत अहिलेसम्म बोर्डका पदाधिकारी नियुक्त हुन सकेका छैनन्।
चिनियाँ गाई ल्याउने उनका योजना अझै अलपत्र छन्।
यस्तै, पोखरमा यसअघि भएको दुग्ध विकास बोर्डको सरकारी संस्थान पनि निजी क्षेत्रलाई विक्री गरिसकेको छ। पोखरामा अहिले एउटा दूधको खरिद, विक्री र प्रशोधन गर्ने सरकारी संस्था अस्तित्वमा छैन।
भारतका निजी कम्पनीहरूले नेपालबाट दूध खरिद गर्न बनाएको योजनामा पनि नेपाली व्यवसायी चिन्तित बनेका छन्।
भारतको बहुराष्ट्रिय कम्पनी अमूलले नेपालको पूर्वी क्षेत्रबाट दूध किनेर बोर्डरबाट ७ किमी टाढा सिक्किम लैजाने योजना बनाएको छ।
नेपालबाट कच्चा दूध लगेर प्रशोधन गरी नेपालमै विक्री गर्न सक्ने भन्दै आफूहरूमा चिन्ता थपिएको संघका अध्यक्ष दाहालले बताए।
डेरी उद्योग संघका अनुसार अहिले नेपालको बजारमा आएका दूधमध्ये ६० प्रतिशत निजी क्षेत्रले ल्याएको दाबी गरेको छ।
संघका अनुसार डेरी उद्योगमा ३० अर्बको हाराहारीमा लगानी भएका छन् भने ३० हजार प्रत्यक्ष र ५ लाख परिवार आंशिक रूपमा डेरी उद्योगमा जोडिएका छन्।
नेपालमा ठूला दुग्ध उद्योग ४ वटा, मझौला ३० वटा, साना ५० वटा र घरेलु तथा साना उद्योग ५०० वटा रहेको संघले जनाएको छ।
गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले गोठदेखि ओठसम्मको प्रक्रिया शुद्ध हुनुपर्ने बताए।
‘किसानले दूध दुहुँदादेखि सुरू हुने समस्या पिउने बेलासम्म पनि समस्या नै आउँछ’, उनले भने, ‘दूध पिएपछि बिरामी हुनुपर्ने अवस्था नआओस्, सबै जिम्मेवार बनौं।’