साठी अर्बभन्दा बढी लगानी गर्नुपर्ने गरी तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार आयोजना फेरि अघि बढाउने नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको छ।
सन् २०१६ मै गुरुयोजना निर्माण भएर ६० अर्बभन्दा लगानी गरेर क्षमता विस्तार गर्ने टुंगो भए पनि सरकारले उक्त आयोजना अघि बढाएको थिएन। गुरुयोजना निर्माण भएपछि आएका सरकार तथा पर्यटनमन्त्रीले काठमाडौंको विमानस्थलमा क्षमता विस्तारभन्दा पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई अघि बढाउन खोजेका थिए।
निजगढमा विमानस्थल बनाउने हो भने काठमाडौं विमानस्थलमा तत्काल धेरै लगानी नगर्ने प्राधिकरणको निष्कर्ष थियो। तर पछिल्लो समय फेरि काठमाडौं विमानस्थलमा ठूलो लागतमा पूर्वाधार निर्माण गर्ने आयोजना अघि बढाउने तयारी प्राधिकरणले गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि भन्दै नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने मुख्य आयोजना हो। नेपाली रुपैयाँ २५ अर्बभन्दा धेरै लगानी गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको यो आयोजना अन्तर्गत १० हजार वर्गमिटरको टर्मिनल भवन बन्ने छ।
अहिलेको टर्मिनलको प्राथमिक क्षमता प्रतिघण्टा ६ सय यात्रुलाई सेवा दिनसक्ने थियो। यस हिसाबले वर्षमा यो टर्मिनलले ५२ लाख यात्रुलाई सेवा दिन्छ। हाल वार्षिक ४० लाख यात्रुलाई यसले सेवा दिइरहेको छ। पछिल्लो समयमा अहिलेकै टर्मिनलमा भएको लगानीबाट क्षमता करिब वार्षिक ८० लाख पुगेको छ।
सन् २०१६ मै बनेको गुरुयोजनाअनुसार विमानस्थलमा अब हुने लगानीबाट पनि क्षमता वार्षिक एक करोड मात्र पुग्ने प्रक्षेपन गरिएको छ। लगानी धेरै गरे पनि क्षमता उल्लेख्य विस्तार नहुने भन्दै प्राधिकरणले निजगढमै जोड दिँदै आएको थियो।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको अन्तिम चरण अन्तर्गत दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल, धावन मार्गको छेउमा समानन्तर ट्याक्सी वे निर्माण तथा आन्तरिक टर्मिनलको निर्माण जस्ता काम हुने बताउँछन्। यसमा केही संरचना विमानस्थलको पूर्वतिर स्थानान्तरण गर्ने योजना छ।
यसका लागि २०१६ मा तयार भएको गुरुयोजनाको समीक्षाको काम अघि बढेको उनले जानकारी दिए।
'हामीले अन्तिम चरणको विस्तारको काम अघि बढाउन अहिले गुरुयोजना समीक्षा गर्दैछौं। समीक्षापछि, सरकारले गुरुयोजना पारित गरेपछि निर्माणका लागि स्रोत जुटाउने काम अघि बढ्छ,' उनले भने।
अहिले पनि सोही गुरुयोजनाअनुसार निर्माणका काम भएपनि सरकारले अहिलेसम्म स्वीकृत गरेको छैन।
काठमाडौं विमानस्थलको विस्तरमा अघि बढेको प्राधिकरणले निजगढ विमानस्थलको सम्भाव्यता नदेखेको हो? भन्ने प्रश्नमा पोखरेलले सरकारी योजना तथा निर्णयका आधारमा प्राधिकरणले काम गर्ने उनको भनाइ छ।
'कत्रो संरचना बनाउने र के गर्ने भन्ने कुरा सरकारको नीतिमा भर पर्छ। निजगढमै विमानस्थल बनाउने भए पनि काठमाडौंमा टर्मिनल भवन त नयाँ चाहिन्छ। सवाल कत्रो र कस्तो बनाउने भन्ने मात्र हो,' उनले भने।
पछिल्लो तीन वर्षको प्रयासमा निजी लगानी निजगढमा सम्भव देखिएको भन्दै प्राधिकरण आफैले अब सरकारी लगानीमै बनाउनुपर्ने प्रस्ताव गरेको थियो।
प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत् निजगढ विमानस्थल आयोजनालाई बहुवर्षीय आयोजनाका रुपमा सूचीकृत गरी वार्षिक २० अर्बको स्रोत सुनिश्चिता माग गर्दै अर्थमन्त्रालयमा पत्राचार पनि गरिसकेको छ। तर अर्थले भने खर्ब बढीको लगानी आवश्यक हुने निजगढ विमानस्थलमा सरकारले लगानी गर्न नसक्ने भन्दै अस्वीकार गरिसकेको छ।