साँझ परेपछि ललितपुरबाट थापाथली पुल कट्ने बित्तिकै अँध्यारो हुन थाल्छ। सडकमा बत्ती नभएका होइनन्, तार अल्झिएका खम्बा जताततै छन्। तर प्रायः खम्बाका बत्ती बल्दैनन्। बलेका पनि निकै मधुरा छन्।
यहाँको मात्र होइन, काठमाडौं उपत्यकाका अधिकांश सडकका बत्ती अवस्था यस्तै छ।
बाटो अध्याँरो भएकाले सवारी चालक र पैदल यात्रुले समस्या भोगिरहेकै छन्। पूर्वाधार विस्तार गर्ने निकायले पनि सडकको अँध्यारो नदेखेको होइन। भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौं महानगरपालिकालाई सडकमा पर्याप्त उज्यालो दिने बत्ती जडान गर्न अनुरोध गर्दै आएको छ। सर्वसाधारणको अनुरोध र गुनासो त छँदैछ।
यसबारे हामीले काठमाडौं महानगरपालिका अन्तर्गतको सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापासँग कुराकानी गरेका छौं। उनका अनुसार सडक-बत्तीको समस्या सल्टाउन अब विद्युत प्राधिकरणका बत्ती मात्र बाल्ने योजना छ। सोलार बत्तीहरू हटाइनेछ।
'यो हामी सबैले याद गरेको समस्या हो। त्यसैले अब काठमाडौंका सडकमा प्राधिकरणका बत्ती मात्र बाल्ने योजना बनाएका छौं,' थापाले भने।
उनका अनुसार काठमाडौं महानगर, प्राधिकरण र सडक विभागबीच त्रिपक्षीय सम्झौता भइसकेको छ। सम्झौताअनुसार पहिलो चरणमा महानगरका मुख्य सडकमा ५० वाटका १७ सय थान बत्ती जडान हुनेछ।
एयरपोर्ट, कलंकी, बौद्ध, त्रिपुरेश्वर, बुढानिलकण्ठ, पुतलीसडक, बालुवाटार लगायत ठाउँ गरी काठमाडौंका ६० किलोमिटर सडकमा प्राधिकरणका बत्ती जडान काम हुने भएको हो। बत्ती हाल भएका पोलमै जडान हुँदैछ। यहाँ भएका सोलार बत्ती भने हटाउने तयारी महानगरको छ।
प्राधिकरणको बत्ती जडानका लागि पहिलो चरणमा १३ करोड रूपैयाँ खर्च हुने अनुमान छ। यसका लागि प्राधिकरण टेन्डर प्रकियामा लगिसकेको छ।
सम्झौतामा काम गर्दा सबैको उत्तिकै भूमिका हुन्छ। पहिलो चरणको बत्ती जडानमा हुने खर्च सबै महानगरले बेहोर्ने थापाले बताए। बाँकीका चरणमा हुने काममा भने महानगरले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत लगानी गर्ने सहमति भएको छ।
काठमाडौंलाई उज्यालो बनाउन सडक विभागले पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्दैछ।
'बत्ती जडानक्रममा कतै नयाँ पोल गाड्नुपरे वा पुराना पोल सार्नुपरे सडक विभागको स्वीकृतीमा काम हुनेछ,' सहरी पूर्वाधार विकास विभाग प्रमुख थापा भन्छन्, 'कतै सडक र फुटपाथ बिग्रिए मर्मतको जिम्मा पनि सडक विभागले लिन्छ।'
पहिलो चरणको काम यही जेठदेखि सुरू हुँदैछ। काम के-कस्तो भइरहेको छ भन्ने अनुगमन गर्न महानगरबाट थापा, प्राधिकरणबाट सागर ज्ञवाली र सडक विभागबाट कुवेर नेपाली गरी तीन सदस्ययीय समिति गठन भएको छ। यसको संयोजन थापाले नै गर्दैछन्।
'यो समितिले समयमै काम भइरहेको छ कि छैन भन्ने अनुगमन गर्नेछ,' थापाले भने, 'त्यस्तै निकालिएको सोलार बत्तीको व्यवस्थापनको जिम्मेवारी पनि लिनेछ।'
काठमाडौं महानगरका सडकमा अहिले झन्डै १६ सय थान सोलार बत्ती र खम्बा छन्। यी बत्ती ब्याट्री फेरेर भविष्यमा महानगरभित्रै वा अन्य ठाउँमा प्रयोग गर्न सकिन्छ। यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने सबै जिम्मा समितिको हुने थापा बताउँछन्।
महानगरको योजना अनुरुप पहिलो चरणको सडक बत्ती यही दसैंभित्र जडान गर्ने र बाल्ने हो। तर प्राविधिक काम भएकाले काममा ढिलासुस्ती हुन सक्छ। यस्तोमा काठमाडौंका सडक कम्तीमा पनि तिहारसम्म भने झिलिमिली पार्ने उनी आश्वासन दिन्छन्।
'दसैं-तिहार जस्तो पर्वमा काठमाडौं उज्यालो होस् भन्ने हाम्रो चाहना हो। सोहीअनुसार काम गर्दैछौं,' उनले भने।
महानगरले सडक उज्यालो बनाउने सपनासँगै 'मेयर उज्यालो अभियान' पनि सुरू गरेको छ। यो अभियानअन्तर्गत महानगरले प्राधिकरण र सडक विभागसँग मिलेर काठमाडौंका विभिन्न ८० वटा चोकमा ८५ वटा 'हाइमास्ट लाइट' बाल्दैछ।
हाइमास्ट लाइट झन्डै ६० फिट अग्लो हुन्छ जसमा ४ सयदेखि १२ सय वाटसम्मको बत्ती बल्नेछ। माइतीघर, रत्नपार्क, न्युरोड, कलंकी, त्रिपुरेश्वर, शंखपार्क, गौशला जस्ता सहरको मुख्य चोक र भित्री बाटोमा पनि हाइमास्ट लाइट बालिने थापाले जानकारी दिए।
त्यस्तै काठमाडौंका भित्री सडक र गल्लीमा उज्यालो पुर्याउन महानगरले वडा कार्यालयहरूसँग समन्वय गरेको छ। थापा भन्छन्, 'हामीले हरेक वडालाई बजेटको दस प्रतिशत विद्युतीय कामका लागि छुट्याउन भनेका छौं। भित्री सडकमा बत्ती जडान, मर्मतको काम वडाबाटै हुनेछ।'
महानगरले यस्ता योजनाअन्तर्गतको कामसँगै काठमाडौंलाई अझ सुन्दर बनाउन विभिन्न परीक्षण पनि गरिरहेको उनले जानकारी दिए। उदाहरणका लागि दरबारमार्ग र माइतीघर मण्डलामा बालिएको झिलिमिली बत्ती।
सहरको सौन्दर्य बढाउन विभिन्न ठाउँमा बगैंचा र त्यहाँको संरचना झल्काउने हिसाबमा बत्ती जडान गरेको सहरी पूर्वाधार विकास विभागको भनाइ छ।
'विशेषगरी पर्यटकीय र ऐतिहासिक महत्व रहेको क्षेत्रमा बत्ती बालेर त्यहाँको सुन्दरता रातको समयमा पनि झल्काउन खोजेका हौं,' विभाग प्रमुख थापा भन्छन्, 'यस्तो अभ्यास विदेशतिर थुप्रै हुन्छ। हामीले पनि परीक्षण गरेका हौं। धेरैको सकारात्मक प्रतिक्रिया छ।'
त्यस्तै भविष्यमा माइतीघरदेखि कोटेश्वरको बाटो, बिजुली बजारको आर्क पुल, हनुमान ढोका, पशुपति क्षेत्र जस्ता अन्य ठाउँमा समेत बत्तीले सजाउने योजना महानगरले बनाएको छ।
यसरी विभिन्न अभियान र योजनाअन्तर्गत काठमाडौं महानगर सहरलाई उज्यालो बनाउने उद्देश्य राखेको छ। काममा ढिलासुस्ती भए पनि महानगरले भनेअनुसार सर्वसाधारणले आउँदो दसैं-तिहारसम्म उज्याला सडकमा हिँड्न सक्छन् कि!