भारतमा दैनिक नयाँ कोरोना संक्रमणको संख्याले कीर्तिमान कायम राख्दै गर्दा दिल्लीबाट नेपालको आउने दैनिक हवाई उडान भने जारी रहेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले दिनमा दुइटा काठमाडौं-दिल्ली उडान भइरहेका छन्। नेपाल एयरलाइन्स र एयर इन्डियाले उडान गरिरहेका छन्। हाल दैनिक ३ सय यात्रु नयाँ दिल्लीबाट काठमाडौं आइरहेका छन्।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार पछिल्लो सात दिनमा २ हजार १ सय ७३ जना यात्रु नयाँ दिल्लीबाट काठमाडौं आएका छन्। अघिल्लो १५ दिनको तुलनामा दैनिक औषत यात्रुको संख्यामा केही न्यून भएको छ।
अप्रिल १ देखि १५ सम्मको तथ्यांकअनुसार दैनिक चारसय यात्रु आएका थिए। पछिल्लो समय भारतमै अन्तरप्रदेश ओहोरदोहोरमा कडाइ गरेपछि केही न्यून भएको हो।
नेपाल हुँदै साउदी अरब लगायतका खाडी मुलुकमा जाने भारतीयहरूको संख्या बढेपछि यो सेक्टरमा यात्रुको संख्या एकाएक बढेको थियो।
अहिले पनि साउदी जानेहरू आइरहेका छन्। ठूलो संख्यामा भारतीयहरू आए पनि उनीहरूको नियमन भने कोरोना कहर सामान्य भएको अवस्थाको जस्तै छ। काठमाडौं विमानस्थल हुँदै आउने विदेशी नागरिकमध्ये बेलायतबाट आउनेबाहेक अरूलाई अनिवार्य क्वारेन्टिनको कुनै पनि प्रबन्ध छैन।
भारतीयलगायत सबै यात्रुलाई होम क्वारेन्टिनमा बस्नेगरी छोडिएको छ। त्यसको अनुगमनको कुनै संयन्त्र अहिले परिचालन भएको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख सुशील वैद्यका अनुसार भारतीयहरूलाई पनि ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्टका आधारमा छोड्ने गरिएको छ।
अहिले दिनमा नेपालीसहित २ हजार बढी यात्रु नेपाल आउने गरेका छन्।
भारतमा संक्रमण बढेपछि हवाई उडानका बारेमा छलफल भए पनि तत्काल बन्द नगर्ने निष्कर्षमा सरकार पुगेको छ।
‘भारतसँगको उडानका बारेमा छलफल भएको थियो। तर पिसिआर रिपोर्टसहित आउने भएकाले जोखिम धेरै नहोला भन्ने कुरा आयो। तर अब भने क्वारेन्टिन अनिवार्य गर्न सकिने निर्णय हुन्छ होला। पछिल्लो अवस्थाले यस्तै संकेत गरेको छ,’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निकट स्रोतले भन्यो।
भारतभर दैनिक कोरोना संक्रमितको संख्या ३ लाखभन्दा धेरै पुगेकोछ। दिल्लीमा संक्रमण विकराल बन्दै गएपछि सात दिनका लागि लकडाउन गरिएको छ।
संक्रमण बढेसँगै बेलायत, हङकङ, न्युजिल्याण्ड साउदी अरेबियालगायत मुलुकले भारतबाट आउने हवाईजहाजमा रोक लगाएका छन्।