निर्माणाधीन माथिल्लो साञ्जेन विद्युत् आयोजनाको छिट्टै उपकरण जडान हुने भएको छ।
सिम्बु गाउँमा रहेको सो आयोजनाको भौतिक निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्ने उपकरण जडान सुरूआत हुन लागेको हो।
अहिले अधिकांश उपकरण आयोजनास्थलमा आइसकेको र कोभिड-१९ समस्याले उपकरण जडान ढिलो भएको आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिए।
उनले भने,‘विसं २०७८ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। अब छिट्टै उपकरण जडान सुरूआत हुन्छ।’
उपकरण जडानका लागि चिनियाँ प्राविधिक टोली आउन लागेका जनाइएको छ।
हाल चीनले बाह्य हवाई उड्डयन रोकेकाले उनीहरू आउन ढिलाइ भएको आयोजनाले जनाएको छ।
चौध दशमलव आठ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाको प्रायःजसो संरचना निर्माण पूरा भएको छ।
तिलोचे खोलामा १४ मिटर लामो बाँध, एक हजार तीन सय ८० मिटर लामो हेडरेस सुरूङ, तीन सय ४५ मिटरको पेनस्टक पाइप सुरूङ एवं पाइपलाई कंक्रिट समेतका निर्माण सम्पन्न भएको आयोजना प्रमुख महतले जानकारी दिए।
प्रतिसेकेण्ड ११ दशमलव सात धनमिटर पानी विद्युत गृहमा पठाइने र तीन फ्रान्सिस नामको टर्वाइन राखिने बताइएको छ।
दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ देखि निर्माण सुरूआत भएको थियो।
बाढी पहिरो, पेट्रोलियम पदार्थको अभाव, भूकम्प र कोरोना संक्रमणको जोखिम जस्ता विविध कारणले सो आयोजनाको निर्माण ढिलाइ भएको जनाइएको छ।
आयोजनाको लागत भने रू दुई अर्ब दुई करोड रहेता पनि पुनरावलोकन गर्दा २० प्रतिशतले उत्पादन लागत बढ्ने आयोजना प्रमुख महतले बताए।रासस