तनहुँमा असार महिनामा मात्रै संघ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन्।
आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमामात्रै खर्च भएको हो।
उक्त आवका लागि विकास बजेटतर्फ तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार ६३९ रूपैयाँ विनियोजन गरिएकामा असारमा मात्रै ९२ करोड ६६ लाख ८३ हजार ९८७ रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
त्यस्तै, सोही अवधिमा चालूतर्फ ११.८२ प्रतिशत बजेट खर्च भएको छ।
चालूतर्फ नौ अर्ब ५६ करोड १७ लाख ६४ हजार ९८ रूपैयाँ विनियोजन गरिएकामा असारमा एक अर्ब १३ करोड एक लाख ४६ हजार ५४७ रूपैयाँ खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए।
यस्तै, प्रदेश सरकारतर्फका कार्यालयले असारमा मात्रै ४१.३३ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन्।
प्रदेश सरकारका तर्फबाट पुँजीगततर्फ दुई अर्ब ४० करोड ४८ लाख ४१ हजार ७२ रूपैयाँ विनियोजन गरिएकामा एकै महिनामा ९९ करोड ३८ लाख ३३ हजार ८५३ रूपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
साथै, सोही अवधिमा चालूतर्फ २२.७२ प्रतिशत बजेट खर्च भएको छ। चालूतर्फ ९० करोड ६१ लाख एक हजार रूपैयाँ विनियोजन गरिएकामा २० करोड ५९ लाख १० हजार ८८७ रूपैयाँ खर्च भएको भट्टराईले बताए।
‘असारमा रकम निकासा हुने भएकाले यो एकै महिनामा धेरै बजेट खर्च भएको जस्तो देखिन्छ’, उनले भने, ‘अन्तिम अन्तिम भएकाले पनि यो बेला धेरै काम हुने गरेको छ।’
कूल बजेट खर्च ८५.०४ प्रतिशत
उक्त आवमा संघ र प्रदेशतर्फबाट विनियोजितमध्ये ८५.०४ प्रतिशत बजेट खर्च भएको छ।
संघतर्फ ८३.१३ र प्रदेशतर्फ ९२.६७ प्रतिशत बजेट खर्च भएको हो। गत आर्थिक वर्ष २०७६/७७ मा संघतर्फ ८७.३० प्रतिशत बजेट खर्च भएको थियो भने प्रदेशतर्फ ७५.३१ प्रतिशत बजेट खर्च भएको थियो।
गत वर्षभन्दा संघतर्फ ४.२० प्रतिशत बजेट कम खर्च भएको छ भने प्रदेशतर्फ १७.३६ प्रतिशत बजेट बढी खर्च भएको तथ्यांकले देखाएको छ।
सङ्घतर्फ चालूतर्फ रु आठ अर्ब ७७ करोड ८५ लाख ४६ हजार ७६६ र पूँजीगततर्फ रु दुई अर्ब तीन करोड २० लाख एक हजार १८४ बजेट खर्च भएको छ । प्रदेशतर्फ चालूतर्फ रु ८० करोड १२ लाख ६३ हजार ५५२ र पूँजीगततर्फ रु दुई अर्ब २६ करोड ६९ लाख ४२ हजार ४८८ खर्च भएको कार्यालयले जनाएको छ। रासस