नेपाली सेनाको फर्स्ट रैफल गणले ‘गो ग्रीन’ कार्यक्रमअन्तर्गत एक व्यक्ति एक बिरुवा रोपन अभियान सञ्चालन गरेको छ।
वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले स्थानीयबासीको सहयोगमा सेनाले विभिन्न सामुदायिक वनमा बिरुवा रोपिरहेको हो।
यसैबीच हतुवागढी गाउँपालिकाको सतभैया र भोजपुर नगरपालिका–१२ पारपानीमा रहेको इनामे सामुदायिक वनमा धुपी सल्ला, तेजपत्ता, पयूँ, लालीगुँरास, मसलालगायत दुई हजार बढी बिरुवा रोपिएको छ।
यो अभियानअन्तर्गत जिल्लाभर १२ हजार बिरुवा रोप्ने योजना रहेको गणपति विश्वनाथ तिमल्सिनाले जानकारी दिए।
उनले भने,'वातावरण संरक्षण गर्न यो अभियानअन्तर्गत हामीले जिल्लाभर १२ हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य लिएका छौं। यसले यहाँको वातावरणको संरक्षणमा केही टेवा पुग्ने आशा गरेका छौं।'
सेनाले थालेको अभियान सराहनीय रहेको र वनको संरक्षण तथा विकासमा स्थानीय सरकारले सहयोग गर्ने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।
उनले भने, 'सेनाले थालेको यो अभियान स्वागतयोग्य छ। नाङ्गा पाखालाई हरियाली बनाउन यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ। सेनाले थालेको अभियानलाई हामी पनि साथ र सहयोग दिएर अगाडि बढ्छौं।'
रोपिएका बिरुवालाई नेपाली सेना तथा स्थानीय तहले संरक्षण गर्ने बताएका छन्। अन्य स्थानमा पनि वृक्षरोपण गर्ने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ। वृक्षरोपणका लागि डिभिजन वन कार्यालयले सेनालाई बिरुवा उलब्ध गराउँदै आएको त्यहाँका प्रमुख विष्णुलाल घिमिरले जानकारी दिए।
उनले भने, 'हामीले नाङ्गाडाँडालाई हरियाली बनाउने उद्देश्यले विभिन्न गतिविधि बढाइरहेका छौं। नेपाली सेनाले पनि अभियान नै सञ्चालन गरेर वृक्षरोपणका काम गरिरहेको छ। यसले वन कार्यालयको अभियानमा साथ मिलेको छ। पछिल्लो समय जिल्लामा वृक्षरोपणका गतिविधि बढेको छ। विशेष गरेर स्थानीयमा फलफूल तथा जडीबुटीका बिरुवा रोपनमा चासो देखिएको छ।'
बर र पिपल संरक्षण
वन कार्यालयले बर, पिपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ। सडक विस्तार तथा मानवीय गतिविधिका कारण सयौं वर्ष अगाडि रोपिएका बर र पिपल मासिन थालेकाले कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको हो।
बर पिपलबाट प्रशस्त मात्रामा अक्सिजन प्राप्त हुने तथा वातावरण हराभरा राख्न ठूलो टेवा पुर्याउने भएकाले सार्वजनिक तथा खुला क्षेत्रमा रोप्नका लागि अभियान सञ्चालन गरिएको हो। धेरै मात्रामा बर र पिपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रमसमेत रोकिने छ। बर, पिपलका फल खाएर बाँदर अल्मलिने हुँदा त्यसबाट किसानको अन्न बालीमा कम क्षति हुने कार्यालय प्रमुख घिमिरेले बताए।
उनले भने, 'पछिल्लो समय धेरै वर्ष पुराना बर र पिपलका रुख मासिँदै गएका छन्। अधिकांश ठाउँमा तीनका ठुटामात्र देखिन्छन्, त्यसले वातावरणलाई प्रत्यक्षरूपमा हानी पुगिरहेको छ। त्यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर अभियानका रूपमा काम गर्दै आएका छौं।'
त्यस्तै, बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनमा इस्कुस रोप्नका लागि आग्रह गरिरहेका छौं। बाँदरको लागि खाने आहारा वन क्षेत्रमा नै उत्पादन गर्न सकेमा गाउँ बस्तीमा कम क्षति गर्ने अनुमान गरिएको छ।
प्रमुख घिमिरेले भने, 'हाम्रा कारणले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौं। वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ। उनीहरूलाई खानका लागि आवश्यक पर्ने वस्तु फेला नपरेपछि बस्तीमा आउनु स्वभाविक हो। त्यसैले वन क्षेत्रमा पनि फलफूलका बिरुवा विस्तार गर्न जरुरी देखिएको छ। त्यसैले पनि हामीले खुला क्षेत्रमा बर र पिपल रोप्ने अभियान सञ्चालनमा गरेका हौं।' रासस