केही वर्ष अगाडिसम्म पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी क्षेत्रमा कालोपाती र झाडीले भरिएको थियो।
खेतीपाती हुने स्थानमा बाँदरको बिगबिगी थियो। त्यस कारण यहाँ अदुवा मात्र लगाइन्थ्यो। त्यसैले पछि यो ठाउँको नामै अदुवाबारी रहेको स्थानीय बताउँछन्।
कुनै बेला बाँदरले सताएर अदुवा मात्र लगाउन बाध्य यो ठाउँले अहिले भने आफ्नो रूप फेरेको छ। पछिल्लो समय पर्यटकीय स्थान बनेको छ। यहाँ थेग्नै नसक्ने गरी आन्तरिक पर्यटकको घुइँचो लाग्ने स्थानीयले बताए।
पर्यटक आगमनसँगै अदुवाबारी स्थानीयका निम्ति व्यावसायिक आयआर्जनको स्रोत बनेको छ।
यो सबै कायापलट हुनुका पछाडि यहाँ बनेको पुलको भूमिका मुख्य छ। बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी गरिएको झोलुंगे पुल बनेको छ। योसँगै यहाँ व्यावसायिक चहलपहल बढेको हो छ।
अहिले यस क्षेत्रमा धमाधम नयाँ व्यवसाय सञ्चालन हुन थालेका छन्, घर-भवन बनिरहेका छन्। डरलाग्दो भिर माथिको टाकुरोमा अडिएको झोलुंगे पुलले धेरैलाई आकर्षित गरेको छ।
पुलले स्थानीयलाई वारपारमा सहज मात्रै बनाएन, व्यापार-व्यवसायसँग जोड्नुका साथै सिंगो धौलागिरिको पर्यटन क्षेत्रमा रौनकता थप्न थालेको छ। कालीगण्डकी नदीमा बनेको ५६७ मिटर लामो पुल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै आएको छ।
पुलमा दैनिक चारदेखि पाँच सय बढी आन्तरिक पर्यटक आउँछन्। मानिसको आगमन बढेसँगै पुलपारि पर्वततर्फ व्यवसाय फस्टाउन थालेका छन्।
अदुवाबारी यसरी परिवर्तन, सम्भावना लिएर आउला भन्ने स्थानीयले सोच्दै नसोचेको बताउँछन् अदुवाबारीका होटल व्यवसायी गोपाल रिजाल। उनले गत वर्षदेखि होटल सञ्चालन गरेकामा कोरोनाका कारण केही समय चलेन। तर अहिले राम्रो व्यापार हुन थालेको छ। पुलकै कारण यो ठाउँमा सम्भावनाको ढोका खुलेकी उनले बताए।
'यो ठाउँ यस्तो बन्ला भन्ने कहिल्यै सोचेकै थिएनौं। जब यहाँ पुल बन्यो, अहिले पूरै परिवर्तन भयो। यहाँ जग्गा हुनेलाई निकै फाइदा पुगेको छ,' उनले भने, 'यहाँ मैले होटल-रेस्टुरेन्ट सुरू गरेको एक वर्ष भयो। पहिला सुनसान थियो, अहिले बजारै हुन आँटिसक्यो।'
स्थानीय गोम माझी पनि पुलका कारण अदुवाबारीको मुहारै फेरिएको बताउँछिन्। उनले पनि पुल बनेपछि व्यवसाय सुरू गरेको बताइन्।
'व्यवसाय अहिले निकै राम्रो छ,' उनले भनिन्।
पुलको मुखमै उनको पसल छ। माझीले दैनिक सयौं मानिसलाई पानी र सामान्य खाजा बिक्री गर्दै आएकी छन्।
यो क्षेत्रमा पर्यटक आकर्षण गर्न व्यावसायिक रूपमा स्वीङ पनि सञ्चालनमा ल्याइएको छ। अरू संरचना पनि निर्माण भइरहेका छन्।
पर्वतको कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीका अनुसार यो ठाउँलाई थप व्यवस्थित र पर्यटक आवतजावत सहज बनाउन वडा कार्यालयले सडक सञ्जाल विस्तार र स्तरोन्नतिको योजना बनाएको छ। अदुवाबारी क्षेत्रमा सञ्चालनमा आएका होटल तथा अन्य व्यवसायीलाई करको दायरामा ल्याएर आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य रहेको पनि उनले बताए।
रासस