खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुर्खेतस्थित गोदाममा थन्किएको बासमती चामलमा थप आशंका उत्पन्न भएको छ।
काठमाडौंबाट बिग्रिएको चामल बिक्री गर्न सुर्खेत पठाइएको भन्दै रोक लगाइएको उक्त बासमती चामलबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको जवाफपछि थप आशंका उत्पन्न भएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतस्थित सम्बन्धित कार्यालयबाट कर्णालीमा वितरण गर्ने गरी साउन १५ देखि भदौ १५ को बीचमा एक हजार नौ सय ९० क्विन्टल बासमती चामल सुर्खेत पठाएको थियो।
त्यसलगत्तै केन्द्रीय कार्यालयबाट सुर्खेत पठाइएको उक्त चामल खानयोग्य नभएको विषय सञ्चार माध्यममा आएपछि असोज ६ गते जिल्ला प्रशासन कार्यालय सुर्खेत र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले अनुगमन गरी वितरण गर्न रोक लगाएका थिए।
झण्डै एक महिना गोदाममै थन्किएको उक्त चामलको परीक्षण गर्न नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेपालगञ्जस्थित प्रयोगशालामा पठाइएको छ।
खाद्य व्यापार कम्पनीले बासमती चामल सुर्खेत पठाउनुअघि नै कम्पनीका दुइटा गोदाममा चामल गुणस्तरहीन भएको भनेर रोक्का राखेको थियो। सोही आधारमा खाद्य कम्पनीको काठमाडौं, थापाथलीमा रहेको चामल गोदामका कर्मचारीको लापरबाहीले गोदाम नम्बर २४ र ३० मा राखिएको ४८७ मेट्रिक टन बासमती चामल कुहिएको समाचार सञ्चार माध्यममा आएको थियो। त्यसको केही समयपछि सोही गोदाममा रहेको चामलमध्येबाट केही चामल कर्णालीमा पठाइएको विषय पनि सञ्चार माध्यममा आएको थियो।
सोही समाचारका आधारमा प्रशासन र विभागको सुर्खेतस्थित कार्यालयले गरेको अनगुमनका क्रममा सुर्खेतमा भएको उक्त चामल पनि रोक्का राखिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्याले सुर्खेतले सोही आधारमा २४ र ३० नम्बर गोदाममा बिग्रिएर थन्किएको चामल अहिले त्यहाँ छ वा छैन भन्नेबारे अनुगमन गरी पठाइदिन भनेर विभागलाई असोज ६ गते पत्र पनि पठाएको थियो।
'काठमाडौंमा रोक्का राखिएको चामल गोदाममा छ कि छैन भनेर बुझिदिन विभागलाई पत्र लेखेका थियौं। उताबाट गोदाममा चामल छैन, आफ्नो नियमानुसार अघि बढ्नु भनेर जवाफ आयो,' खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका प्रमुख भेषबहादुर थापाले भने, 'त्यसपछि त हामीलाई झन् आशंका भयो। त्यही रोक्का राखिएको चामलको नमूना निकालेर नेपालगञ्ज ल्याबमा पठाएका छौं।'
असोज ६ गते सुर्खेतस्थि कार्यालयले पठाएको पत्रका आधारमा गुण नियन्त्रण विभागले ८ गते ती गोदाममा गएर अनुगमन गरेको थियो। प्रमुख थापाका अनुसार तत्कालै अनुगमन गरिए पनि बीचमा विभागमा प्रमुख परिवर्तन भएकाले जवाफ ढिला आएको हो। विभागले असोज २४ गते मात्र जवाफ पठाएको उनले बताए।
'पत्रमा गोदाममा चामल छैन, आफ्नो नियमानुसार अगाडि बढ्नु भनेर लेखेपछि हामीलाई झन् मिडियामा आएको खबर होजस्तो लाग्यो,' थापाले भने, 'अहिले पनि त्यो चामल वितरण नगर्नू भनेर फेरि अर्को पत्र लेखेका छौं।'
खाद्य व्यापार कम्पनीको सुर्खेत गोदाममा थन्किएको उक्त चामलबाट तीन नमूना संकलन गरिएको छ।
‘नमूना परीक्षण भएर सरकारले तोकेको मापदण्ड अनुसार चामल छ कि छैन भनेर रिपोर्ट आउँछ। रिपोर्ट ठिकै आयो भने केही भएन। गुणस्तर ठीक छैन भनेर आयो भने नियमानुसार कारबाही हुन्छ,' प्रमुख थापाले भने।
काठमाडौंबाट सुर्खेत आएको एक हजार नौ सय ९० क्विन्टल बासमती चामलमध्ये १५ क्विन्टल रोक्का गर्नुअघि नै बिक्री भइसकेको थियो। अब एक हजार नौ सय ७५ क्विन्टल चामल सुर्खेतको गोदाममा रोक्का छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, सुर्खेतका प्रमुख माधव मिश्रले भने काठमाडौंबाट गुणस्तरीय चामल नै सुर्खेत आएको दावी गरेका छन्।
'कर्मचारीको मिलेमतोमा खानयोग्य नभएको चामल कर्णालीमा पठाएको विषय उठेको छ। कर्मचारीको मिलेमतो हो भनेर त भन्न सकिन्न,' उनले भने, 'चामलकै विषयमा पनि खानलायक छैन भन्ने छ, हामीले कार्यालयको भान्सामा पनि त्यही चामल पकाएर खाने गरेका छौं। त्यस्तो खानलायक नभएको होइन।'
काठमाडौंबाट बासमती चामल सुर्खेत पठाउन आफूहरूले नै माग गरेको उनले बताएका छन्। अब कर्णालीमा पनि सस्तो मूल्यमा बासमती चामल दिऊँ भन्ने उद्देश्यले काठमाडौंबाट मगाइएको उनले बताए।
'हाम्रो ट्रकहरू बर्दियाबाट गहुँ लिएर काठमाडौं जान्छन्। काठमाडौं गएका ट्रक रित्तै फर्काउनुभन्दा सुर्खेतका लागि बासमती चामल पठाइदिऊँ भनेर त्यही बेला ती ट्रकमा हालिएको हो,' मिश्रले भने, 'अर्को कुरा हामी हौसिएर अब कर्णालीमा पनि बासमती वितरण गर्नुपर्छ भनेर मागेको भएर नै उताबाट हामीलाई यो चामल पठाइएको हो।
यो पनि पढ्नुहोस्ः काठमाडौंबाट बिग्रिएको बासमती चामल सुर्खेत पठाइएको भन्दै बिक्रीमा रोक