अर्थमन्त्री जनार्दन शर्माले अरूण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन्।
प्रेस सेन्टर नेपाल सङ्खुवासभाले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरूण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताएका हुन्।
सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरूण करिडोर नै भएको उनले बताए।
सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए। किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरिरहेको उनको भनाइ थियो।
नेपालको पानी जनताको लगानीले अरूण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताए।
उनले पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गरे। रासस