नेपालको पहिलो इ-पासपोर्ट शताब्दी पुरूष सत्यमोहन जोशीलाई हस्तान्तरण गरिएको छ।
बुधबार विभागमा आयोजित एक कार्यक्रमबीच परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्।
जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए।
उनले सरकारलाई सफलताको शुभकामना समेत दिए। यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरे।
परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउनु निकै गौरवको विषय भएको बताए।
आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उनले विद्युतीय पासपोर्टले निकै सहज हुने जिकिर गरे।
'पूरै अनलाइनबाट काम हुन्छ। जसले सेवाग्राहीलाई झन्झटिलो हुँदैन। विदेश यात्रामा पनि अन्य देशका नागरिकसरह नेपालीलाई व्यवहार गरिन्छ', उनले भने।
अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उँचो बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे।
केही समस्या भए तुरून्त जानकारी गराउनसमेत मन्त्री खड्काले आग्रह गरे।