सगरमाथा इञ्जिनियरिङ कलेजमा २०७९ वैशाख १६ गतेदेखि नयाँ सत्र सुरू हुँदैछ। कलेजमा इञ्जिनियरिङ र आइटी फ्याकल्टीका केही सिटहरू मात्र खाली रहेको प्रधानाध्यपक रमेश श्रेष्ठ बताउँछन्।
सत्र सुरू भएको एक साताभित्र भर्ना हुन इच्छुक विद्यार्थीले कलेजको वेबसाइटमा अनलाइन फारम भर्न सक्नेछन्।
यो कलेज कस्तो हो? यसका विशेषता के हुन्? यहाँ कस्ता विद्यार्थीहरू भर्ना हुन सक्छन् लगायत विषयमा प्रधानाध्यापक श्रेष्ठले जानकारी दिएका छन्।
सगरमाथा इञ्जिनियरिङ कलेज कस्तो कलेज हो? कलेजका बारेमा केही भनिदिनुहोस् न।
यो कलेज बिक्रम सम्वत् २०६७ सालमा स्थापना भएको हो। विभिन्न इञ्जिनियरिङ शिक्षा पेसामा आबद्ध शिक्षक-प्रशिक्षक मिलेर हामीले यो कलेज सुरू गरेका हौं। हामीले बिई सिभिल र बिई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन गरेर दुई वटा इञ्जिनियरिङ प्रोग्रामबाट थालनी गर्यौं।
२०६८ सालमा हामीले सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी सुरू गर्यौं जहाँ अहिले बिएससी सिएसआइटी, बिसिए पढाइ हुन्छ। २०७४ सालमा हामीले कम्प्युटर इञ्जिनियरिङको कोर्स पनि थप्यौं। प्रत्येक प्रवर्द्धकले हरेक सेमेस्टरमा केही कक्षाहरू पढाउँछन् जसले गर्दा हाम्रो कलेजमा विद्यार्थी र शिक्षकहरूबीच राम्रो सम्बन्ध हुन्छ।
कलेजको विशेषता के हो? यहाँ के के सुविधा छन्? अरू इञ्जिनियरिङ कलेजभन्दा के फरक छ?
हाम्रो कलेजको भर्ना क्षमता अरू इञ्जिनियरिङ कलेजको दाँजोमा सानो छ। तर हामीले विद्यार्थीका लागि राम्रो र गुणस्तरीय शिक्षा दिँदै आएका छौं। हाम्रो एकेडेमिक पर्फर्मेन्स अन्य निजी इञ्जिनियरिङ कलेजको तुलनामा औसतभन्दा बढी छ। यसको कारण हामीले प्राज्ञिक शिक्षासँगै व्यावहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनु हो। हामीले सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रममा बढी जोड दिने गरेका छौं।
योसँगै हामीले व्यावसायिक प्रशिक्षण पाठ्यक्रम, स्टार्टअप टक कार्यक्रम, विशेषज्ञ अनुभव साझेदारी सत्र, सफ्ट र हार्ड स्किल विकास कार्यक्रम जस्ता कार्यक्रम पनि सञ्चालन गर्छौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सम्बन्धनपत्र प्राप्त कलेजहरूमध्ये हाम्रो कलेजले सबभन्दा धेरै अन्तर्राष्ट्रिय परियोजनामा पनि काम गरेको छ।
हामीले युरोपियन युनियनको इरासमस प्लस प्रोग्रामअन्तर्गत विभिन्न कार्यक्रम गर्छौं। यसमा उनीहरूले हाम्रो कलेजको क्षमता अभिबृद्धिको लागि कोष प्रदान गर्छन्। हामीले विभिन्न अन्तर्राष्ट्रिय कलेज र विश्वविद्यालयसँग समन्वय पनि गरेका छौं। यसअन्तर्गत हाम्रा उत्कृष्ट विद्यार्थी र शिक्षकहरू विद्यार्थी विनिमय कार्यक्रममा सामेल हुन्छन् र अन्य देशका प्राध्यापक र शिक्षक पनि हाम्रो कलेजमा आएर छोटो अवधिका लागि पढाउँछन्।
यो कलेज कस्ता विद्यार्थी लक्षित हो?
हाम्रो कलेजमा इञ्जिनियरिङ र आइटीको कोर्स मात्र छ। सबै कोर्स चार वर्षे सेमेस्टर सिस्टमको हुन्छ। हामीले आइओइको प्रवेश परीक्षा उत्तीर्ण गरेका उत्कृष्ट विद्यार्थीलाई लक्षित गरेर कोर्स निर्माण गर्छौं। यस कारण यो कलेज एकेडेमिक रूपमा राम्रो, अतिरिक्त पाठ्यक्रममा अब्बल र वास्तविक समयको समस्या समाधान गर्न इच्छुक इञ्जिनियरिङ विद्यार्थी लक्षित कलेज हो।
विद्यार्थीले यहाँ भर्ना हुन के कस्ता मापदण्ड र प्रक्रिया अपनाउनुपर्छ?
विद्यार्थीले यहाँ भर्ना हुन प्लस-टुमा विज्ञान पढेको हुनुपर्छ वा ए-लेभल वा इञ्जिनियरिङमै डिप्लोमा वा भौतिकशास्त्र, रसायन शास्त्र र गणितका दुई वटा प्रश्नपत्रहरू (२०० अंक) मा न्यूनतम ४५ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्छ।
अनि इन्स्टिच्युट अफ इञ्जिनियरिङ (आइओइ), त्रिभुवन विश्वविद्यालयद्वारा लिएको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले हाम्रो कलेजमा भर्नाको आवेदन दिन सक्छन्। आवेदन भरेका मध्येबाट योग्यताको आधारमा विद्यार्थीहरूलाई छनोट गर्छौं।
हाम्रो कलेजमा विद्यार्थीका लागि मेरिट छात्रवृत्तिको पनि व्यवस्था छ। पाँच प्रतिशत सरकारी कलेजका उत्कृष्ट विद्यार्थी र पाँच प्रतिशत निजी कलेजका उत्कृष्ट विद्यार्थीले यो छात्रवृत्ति पाउने व्यवस्था छ। भर्ना हुन आउने सबै महिला विद्यार्थीका लागि भने विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ।
यहाँ पढेका विद्यार्थीले रोजगारी र अवसरमा कस्तो पहुँच राख्छन्?
हाम्रो कलेजमा पढेर पासआउट भएका विद्यार्थी निजीदेखि सरकारी कार्यलयमा आबद्ध छन्। हाम्रा विद्यार्थी लोकसेवा दिएर सरकारी जागिरमा आबद्ध हुनेदेखि आफ्नै स्टार्टअप सञ्चालन गर्दै आएका छन्। हामीले कलेजमै पनि विद्यार्थीलाई सीप उन्मुख कक्षाहरू दिने गरेका छौं। त्यसले गर्दा विद्यार्थीलाई कलेजपछि सजिलै रोजगारीको अवसर मिल्छ। शिक्षालाई निरन्तरता दिन चाहने विद्यार्थी भने उच्च शिक्षाका लागि विदेश जाने गर्छन्।
अहिले भर्ना हुन सकिन्छ? सकिन्छ भने कति सिट बाँकी छ?
२०७९ वैशाख १६ गतेदेखि नयाँ सत्र सुरू हुँदैछ। हाम्रो कलेजमा इञ्जिनियरिङ र आइटी फ्याकल्टीका केही सिटहरू मात्र खाली छन्। आइओइको परीक्षामा ‘सी’ पूर्णांक ल्याएर पास भएका र आवश्यक योग्यता पूरा गरेका उत्कृष्ट विद्यार्थीलाई अझै भर्ना लिइरहेका छौं।