आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले पुरानै स्लटअनुसार उडान गर्ने भएका छन्।
शुक्रबार साँस्कृतिक तथा नागरिक उड्यान मन्त्रालय, प्राधिकरण र वायु सेवा सञ्चालक कम्पनीहरुको संयुक्त छलफलपछि प्राधिकरणले पुरानै स्लटअनुसार उडान गर्न दिने भएको हो।
प्राधिकरणले बिहीबार एयरलाइन्सहरुलाई पत्र पठाउँदै राति १२ बजेसम्मका लागि उडान तालिका ल्याउन निर्देशन दिएको थियो। तर, संघका सदस्य वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाइन्स र गुण एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ स्लट लागू गर्न पठाएको पत्रले ध्यानाकर्षण भएको बताउँदै संघले राति ८ बजे पछिका उडान गर्न वायुसेवा कम्पनीहरू असमर्थ रहेको बताएका थिए।
प्राधिकरणले आजदेखि तराईका ७ विमानस्थलमा रात्रिकालीन उडान गर्न नयाँ स्लट सार्वजनिक गरेको थियो।
प्राधिकरणले लागू गरे पनि एयरलाइन्सहरु भने उडानका लागि तयार नभएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अगुवाईमा त्रिपक्षीय छलफलपछि केही समयका लागि पुरानै तालिका अनुसार उडान गर्ने सहमति भएको छ ।
संघका प्रवक्ता योगराज कडेलले रात्रिकालीन उडानका लागि अध्ययन गर्नका निम्ति कार्यदल गठन गर्ने र समितिले २१ गतेसम्म प्रतिवेदन पेस गर्ने सहमति भएको बताए।
कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा २३ गतेदेखि नयाँ स्लटअनुसार उडान गर्न एयरलाइन्सहरु तयार भएका छन्।