कोरोना महामारीपछि हिमाल चढ्न आउने विदेशी पर्यटकको संख्या बढेको छ। वसन्त ऋतुमा हिमाल चढ्न हालसम्म ७४ देशका आठ सय ९९ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार २५ वटा हिमाल चढ्न शुक्रबारसम्म ८ सय ९९ जनाले अनुमति लिएका हुन्। तीमध्ये सात सय चार जना पुरुष र एक सय ९५ जना महिला छन्।
हिमाल चढ्न आउनेहरूको रोजाइमा सबभन्दा अग्लो शिखर सगरमाथा पर्ने गरेको छ। विभागका अनुसार प्रत्येक वर्ष सगरमाथाका लागि चार सयभन्दा बढीले अनुमति लिन्छन्। अघिल्लो वर्ष यही याममा सगरमाथा चढ्न ४३ समूहका चार सय आठ जनाले अनुमति लिएका थिए।
यो सिजनका लागि भने हालसम्म सगरमाथा आरोहणका लागि ३८ वटा टोलीका ३ सय १६ जनाले अनुमति लिएको पर्वतारोहणका शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायले बताए।
विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको 'एक्सिपिडिसन परमिट' मा अमादब्लम आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन्। कञ्चनजंघा आरोहणका लागि सात समूहले अनुमति लिएको छ।
अन्नपूर्ण चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छन्। मकालुमा चार, धौलागिरिका लागि दुई र ल्होत्सेका लागि एक आरोही समूहले अनुमति लिएका छन्। त्यसैगरी हिमलुङ्गचुली र थापा पिकका लागि चार/चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
यी आरोहणबाट हालसम्म ४६ करोड ७५ लाख ७ हजार ६ सय ७१ रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।
यसपालि हिमाल आरोहणका लागि पोहोरको तुलनामा बढी पर्यटक आएका हुन्। अघिल्लो वर्ष यही सिजनमा हिमाल चढ्न ५९९ जना पुरुष र १५८ जना महिला गरी ७५८ जना विदेशी पर्यटक आएका थिए। उनीहरूबाट ५५ करोड ५४ लाख ३३ हजार ५७९ रूपैयाँ राजस्व संकलन भएको थियो।
यो वर्ष आरोही संख्या बढे पनि पोहोरको तुलनामा राजस्व कम भएको छ। यसको कारण गत वर्ष सबभन्दा धेरै आरोही सगरमाथाका लागि आएका थिए। विभागका अनुसार अरू हिमाल आरोहरणको तुलनामा सगरमाथा आरोहण शुल्क धेरै छ। यसकारण पोहोर हिमाल चढ्ने आरोही कम भए पनि धेरै राजस्व उठेको थियो।
यो सिजनमा सबभन्दा धेरै अमेरिकन नागरिकले अनुमति लिएका छन्। अमेरिकाबाट १३३ जना आरोहीले हिमाल चढ्न अनुमति लिएका हुन्। त्यस्तै बेलायतबाट १०६, भारतबाट ६०, फ्रान्सबाट ५६, अष्ट्रेलियाबाट २९ जनाले हिमाल चढ्न अनुमति लिएका छन्।
हिमाल आरोहणको सिजन चल्दै गर्दा रसिया र युक्रेन युद्धमा होमिएका थिए। यसको प्रभाव कोरोनापछि तंग्रिँदै गरेको नेपालको पर्यटन व्यवसायमा पनि देखिने व्यवसायीको चिन्ता थियो। यद्यपि यसबीच युक्रेनबाट एक महिलाले हिमाल चढ्न अनुमति लिएकी छिन्। त्यस्तै रूसबाट १७ जनाले ठूला हिमाल चढ्न अनुमति लिएको विभागले जनाएको छ।
'यो सिजन रूस–युक्रेन युद्धका कारण युरोपेलीहरू आरोहणमा आऊलान् कि नआऊलान् भन्ने थियो,' पर्वतारोहण शाखाका प्रमुख उपाध्यायले भने, 'त्यसका बाबजुद पनि पर्यटक राम्रै देखिएका छन्।'
कोरोना महामारीपछि पर्यटन क्षेत्रमा यसले सकारात्मक सन्देश दिएको प्रमुख उपाध्याय बताउँछन्। त्यस्तै हिमाल आरोही बढ्दै गर्दा पर्यटन क्षेत्रमा सकरात्मक सन्देश दिएको नेपाल पर्वतारोहण संघले जनाएको छ।
संघका अध्यक्ष सन्तवीर लामाले कोरोनापछि यस वर्ष वसन्त ऋतुमा हिमाल चढ्न आउने विदेशी पर्यटकको संख्या उत्साहजनक रहेको बताए। यसले पदयात्रा र पर्वतारोहणका लागि मात्र नभई समग्र पर्यटन क्षेत्रमा उत्साह देखिएको छ।
'कोरोना माहामारीअघि वसन्त ऋतुमा संघमार्फत तीन हजारको संख्यामा हिमाल चढ्न अनुमति लिने गरेका थिए। महामारीले दुई वर्ष यो संख्या खुम्चियो। यस वर्ष राम्रो संकेत देखिएको छ। यो सिजनका लागि मेको अन्तिमसम्म पर्यटकहरू आउँछन्,' उनले भने।
सरकारले चार सय १४ वटा हिमाल चढ्न खुला गरेको छ। विभाग र संघले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिने गर्छन्। सरकारले संघलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ। यसमा पनि ६ हजार ५ सयभन्दा कम उचाइ भएका हिमाल पर्छन्। बाँकी ३ सय ८७ वटा हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुन्छ।
संघ मार्फत हालसम्म एक हजार ६९४ जनाले हिमाल चढ्न अनुमति लिएको लामाले सेतोपाटीलाई जानकारी दिए।
पर्वतारोहण र हिमाली क्षेत्रमा पदयात्रा गर्न आउनेहरू खर्चालु पर्यटकको सूचीमा पर्छन्। लामो समय नेपालमा रहनुपर्ने भएकाले बसाइअनुसार खर्च धेरै गर्नुपर्ने हुन्छ। यसरी आरोहणका लागि जाँदा एक जना पर्यटकले पचास हजार डलरसम्म खर्च गर्ने तथ्यांक छ।
हिमालको उचाइअनुसार आरोहण अवधि अर्थात् दिन तोकिएको हुन्छ। आठ हजारमाथिका हिमाल चढ्न ७५ दिन, ७ हजारदेखि ८ हजारसम्मका लागि ६० दिन र त्योभन्दा कम उचाइका लागि ४५ दिनको अवधि हुन्छ।