नेपाल वायु सेवा निगमका कर्मचारीले कार्यकारी अध्यक्ष युवराज अधिकारीको राजीनामा माग गरेका छन्। नेपाल वायु सेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै बुधबार प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष अधिकारीको राजीनामा माग गरेका हुन्।
अध्यक्ष अधिकारीले कर्मचारीमाथि पटकपटक अभद्र व्यवहार गरेको र आफ्नो मनोमानीमा चलाएको भन्दै उनको राजीनामा माग गरेको निगमका कर्मचारी युनियनका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए।
अध्यक्ष कुँवरले निगमलाई धराशायी बनाउन लगाएको, ऋणको किस्ता तिर्न नसकेको, जहाज किन्न ठोस प्रस्ताव ल्याउन नसकेको आरोप उनको छ।
'आफ्नो कमजोरी बाहिरिएपछि कर्मचारीलाई धाकधम्की दिइरहनुभएको छ। आखिर कहिलेसम्म यस्तो चल्छ? त्यसकारण अध्यक्षको राजीनामा वा बर्खास्त हुनुपर्छ, हाम्रो माग यति हो,' अध्यक्ष कुँवरले सेतोपाटीसँग भने।
गत शुक्रबार अध्यक्ष अधिकारीको कार्यकक्षमा ताला लगाइएको उनले बताए।
आखिर के भएको थियो त्यो दिन?
कुँवरका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर र कार्यकारी अध्यक्ष अधिकारीबीच पछिल्लो समय सम्बन्ध राम्रो छैन।
२२ अप्रिल २०२२ मा निगमले साउदी अरेबियाको रियादमा आफ्नो उडान सुरू गर्दा मन्त्री आलेले अध्यक्षलाई थोरै मानिस लैजान भनेका थिए।
'मन्त्रीको कुरा अटेर गर्दै अध्यक्ष अधिकारी ठूलो टोली लिएर रियाद पुग्नुभयो। यस विषयमा मन्त्री आलेले स्पष्टीकरण माग्नुभएको थियो,' कुँवरले भने।
निगमका यात्रु सेवा विभागका वरिष्ठ सहायक देवराज ओझाले यस विषय प्रकाशित भएको समाचार भाइबर ग्रुपमा सेयर गरेका थिए।
अध्यक्ष अधिकारीले यही वैशाख १४ गते ओझालाई आफ्नो कार्यकक्षमा बोलाएर कोठा थुनेर मोबाइल बन्द गर्न लगाए र अभद्रपूर्वक धम्की दिएको कुँवरले बताए। अधिकारीले निर्वाचन आचारसंहिता सकिएपछि दुर्गममा सरूवा गरिदिने, जागिरबाट निस्कासन नै गरिदिने र माफी मागेको पत्र लेख्न लगाएर सही छाप गर्न समेत बाध्य पारेका समेत कुँवरको भनाइ छ।
उनका अनुसार अध्यक्ष अधिकारीले धम्की दिइरहँदा ओझा बेहोस भएका थिए। त्यसपछि अधिकारी आफैंले आफ्नो गाडीमा हालेर काठमाडौं मोडल अस्पताल लगे। अध्यक्ष अधिकारी सोही दिनबाट कार्यालयमा उपस्थित नभएको पनि कुँवरले बताए।
त्यसैले निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले अध्यक्षको राजीनामा माग गरिरहेको हो।
'गत शुक्रबारदेखि नै राजीनामा वा वर्खास्तगी माग गर्दै सम्बन्धित निकायसम्म पुगिसक्यौं,' कुँवरले भने।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने यो घटनालाई सामान्य लिएका छन्। बेहोस भएको भनिएका कर्मचारीलाई आफूले गाली नगरेको उनले बताए। त्यस्तै कर्मचारीसँग कुराकानी मिलिसकेपछि पनि युनियनका केही सदस्यले त्यही विषयलाई विवादमा ल्याएको अध्यक्ष अधिकारीको भनाइ छ।
'नेपाल एयरलाइन्सविरूद्धमा एउटा समाचार आएको रहेछ। निगमका एक जना कर्मचारी (ओझा) ले सेयर गर्नुभएछ। निगमको नियमअनुसार संस्था र संस्थाका प्रमुखको विरूद्धमा आएको समाचार सेयर गर्न मिल्दैन। यही कुरालाई विभागीय प्रमुख र मैले सम्झाएका थियौं,' अधिकारीले सेतोपाटीसँग भने।
गत शुक्रबार ओझा आफैंले तनाव भएको र अध्यक्ष अधिकारीलाई भेट्न आफ्नो कार्यकक्षमा आएको उनको भनाइ छ।
'त्यति बेला अन्य केही कर्मचारी साथी पनि हुनुहुन्थ्यो। उहाँले भूकम्प आयो, भूकम्प आयो र गाह्रो भयो भन्नुभयो। त्यसपछि हामीले गाडीमा राखेर अस्पताल लग्यौं,' उनले भने।
त्यस्तै रियाद जाँदा ठूलो टोली लगेको विषयमा मन्त्री आलेले स्पष्टीकरण मागिएको भनिए पनि अध्यक्ष अधिकारीले आफूले अनुमति लिएरै काम गरेको दाबी गरे।
'त्यति बेला पनि मन्त्रीज्यूकै अनुमतिमा टोलीलाई रियाद लगेको हो। यसमा कुनै विवाद छैन,' उनले भने।
यता संयुक्त ट्रेड युनियन संघर्ष समितिले भने निगम लामो समयदेखि व्यवस्थापन तथा कर्मचारीहरूको हकहितका लागि उदासीन देखिएको भन्दै बुधबार सरकारलाई नौबुँदे ध्यानाकर्षण गराएको छ। जसमा निगमले आफ्नो रुटमा अरूलाई जहाज चलाउन दिएर ट्विनअटर भाडामा दिएको विषयमा पनि आपत्ति जनाइएको छ। त्यसैगरी चिनियाँ जहाजको सही व्यवस्थापनमा निगमको उदासीनता, कोभिडका कारण निकालिएका कर्मचारीलाई सञ्चालक समितिको निर्णयअनुसार पुनः ल्याउनुपर्नेमा खुला प्रतिस्पर्धा बिनै नयाँ मान्छेको भर्तिकेन्द्र बनाइएको विषयमा समेत समितिले आपत्ति जनाएको छ।
निगमको सम्पत्ति उपयोगको रणनैतिक योजना नबनाएको, जहाजको इन्जिन मर्मतको दिन नजिकिँदै गर्दा त्यससम्बन्धी तयारी नगरेको र एकैपटक दुइटा चिनियाँ जहाज ग्राउन्डेड हुँदाको नोक्सान नजरअन्दाज गरेको भन्दै समितिले ध्यानाकर्षण गराएको हो।