नेपाल पर्यटन बोर्डले पर्यटकीय भौगोलिक सूचना प्रणाली (जिआइएस) को विकास गरेको छ। बोर्डले ४ करोड ७५ लाख लगानीमा जिआइएसको विकास गरेको हो। यो प्रणाली एक महिनापछि सञ्चालनमा आउने बोर्डले जनाएको छ।
यस प्रणालीमा नेपालका पर्यटकीय गन्तव्य, पूर्वाधार र विशेषतासहितको विस्तृत बिवरण समावेश हुने बोर्डले जनाएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीकाअनुसार पर्यटकीय सेवा दिने कम्पनीदेखि हिमालका विवरणसम्मका तथ्यांक एउटै माध्यममा उपलब्ध गराउने गरी प्रणाली विकास गरिएको हो।
पर्यटन प्रवद्र्धनको जिम्मा पाएको बोर्डले यस प्रणालीका लागि त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागसँग सहकार्य गरेको हो। २०७७ असारबाट काम सुरु गरेको जिआइएसले भने हालसालै सम्पन्न भएको बोर्डले जनाएको छ।
यस प्रणालीमा हाल ४४ वटा पर्यटन गन्तब्यसम्बन्धि जानकारी राखिएको छ। जसमा राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्र, विभिन्न झरना, जंगल सफारी, वन्यजन्तु आरक्ष, लोकपप्रिय आरक्ष साइटहरू (जस्तै बन्दीपुर), ह्यान्ड ग्लाइडिङ पोखरा, पदयात्रा जस्तै ग्रेट हिमालय ट्रेल), स्काइ ड्राइभिङ, सिमसार क्षेत्र, र्याफटिङ, वन्जी जम्पिङ, ऐतिहासिक स्थल, म्युजियम लगायतका गन्तब्यका सबै किसिमका जानकारी समावेश हुनेछन्।
त्यस्तै वनस्पति उद्यान, हिमनदी, हिमाली चुचुराहरू, र्याफटिङ मार्ग, हिल स्टेशन, प्राकृतिक गुफा, काठमाडौं उपत्यका पदयात्रा मार्ग, ऐतिहासिक तथा सांस्कृतिक स्थलहरू, संग्रहालयका जानकारी पनि छन्।
‘यो प्रणालीमा नेपालका हिमाल, पहाड, चरा, नदी तथा अन्य आकर्षक क्षेत्रहरूको विवरण हुनेछ। अन्य गन्तब्यहरू पनि यसमा थप्दै जानेछौं,’ उनले सेतोपाटीसँग भने, ‘यसबाट पर्यटकीय गन्तव्य, पुग्न लाग्ने समय, लगायत आफूलाई चाहेअनुसारको सूचना दिन्छ।’
जिआइएसको प्रयोग विश्वका धेरै मुलुकहरूले गर्दै आइरहेका छन्। नेपालका लागि भने यो नयाँ प्रविधि हो। यो प्रणाली सञ्चालनमा आएसँगै विभिन्न निकायको अध्ययन अनुसन्धान पनि सहज हुनेछ। बोर्डले संकलन गरेको यो डाटाबेसमा ७७ वटै जिल्लाका पर्यटनसम्बन्धी सूचना हुनेछ।
नेपालको कुन भूभागमा कस्ता होटल छन्? कहाँ जाँदा कति खर्च लाग्छ? कुन ठाउँमा कस्ता प्रकृतिका एडभेन्चर्सहरू छन्? लगायतका सूचना यस प्रणालीले दिनेछ। यसले जुनसुकै गन्तव्यलाई सहज बनाउने विश्वास बोर्डको छ। ‘देशभर पुगेर डाटा संकलन गरेर बनाइएको यस प्रणालीले पर्यटन क्षेत्रमा लगानी गर्नेहरूलाई थप सहज बनाउने अपेक्षा छ’ रेग्मीले सेतोपाटीसँग भने।
उनकाअनुसार पर्यटनको समग्र विकासकै लागि सहयोग गर्नेछ। अहिले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको रोजाईमा काठमाडौं, पोखरा, चितवन लगायतका क्षेत्र र पर्वतारोहणका लागि विभिन्न हिमालहरू पर्ने गरेका छन्। यो सूचना प्रणाली प्रयोगमा आएपछि प्रदेश तथा स्थानीय तहले पनि आफ्ना पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्न सक्नेछन्।
यही डाटाबेस अनुसार बजेट छुट्याउन सकिने उनले बताए। ‘सरकारलाई नीति निर्माणकै लागि पनि फाइदा हुन्छ। अहिलेसम्म जसरी अनुमानको भरमा नीति निर्माण तथा बजेट विनियोजन हुँदै आएको त्यसको अन्त्य हुन्छ,’ उनले भने। उपलब्ध सूचनाका आधारमा निकै सम्भावना बोकेका ठाउँलाई प्राथमिकीकरण गर्न पनि सजिलो हुने उनले बताए।
बोर्डले २०७७ साल असार महिनाबाट यो प्रणालीको विकास सुरु गरेको थियो। एकवर्षमा सम्पन्न गर्ने भनिएपनि कोरोना माहामारीका कारण केही समय पर धकेलियो र करिब दुइवर्षमा काम सम्पन्न भएको छ। डाटाबेसको काम सकिएसँगै एकमहिनाभित्र यसको उद्दघाटन गर्ने रेग्मीले बताए।