धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाका लागि सरकारले पाँच अर्ब बजेट छुट्याएको छ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पाँच अर्ब बजेट छुट्याइएको घोषणा गरे।
चालु आवका लागि सरकारले ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको थियो।
चालु आवको बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्ष भित्र सुरुङमार्ग निर्माण काम सक्ने घोषणा गरेका थिए। पछिल्लो समय कोभिड महामारीका कारण आयोजनाको काम पछाडि धकेलिएको भन्दै ८६ दिन (करिब तीन महिना) म्याद थपिएको छ। औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको यो आयोजनाको हालसम्म सुरुङ खन्ने काम ५२ प्रतिशत सकिएको छ। अन्य संरचनासमेतको समग्र भौतिक प्रगति भने साढे ३६ प्रतिशत पुगेको छ।
आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ८८ मिटर छ। हालसम्म एक हजार दुई सय मिटरभन्दा बढी काम सकिएको छ। ’इभ्याकुएसन’ सुरुङ दुई हजार पाँच सय ५७ मिटर खन्नुपर्नेमा एक हजार चार सय १९ मिटर काम भइसकेको छ।
जापानी कम्पनी हाज्मा आन्दो जेभीले निर्माण गरिरहेको यो आयोजनाको क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ४८ मिटर खनिएको छ। एक सय २६ मिटर वर्किङ अडिटको काम सकिएको आयोजनाको भनाइ छ।
त्यस्तै, तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, दुई वटा ओभरपास, फ्लाइओभर लगायत करिब १२ वटा अन्य भौतिक संरचना निर्माण गर्नुपर्नेमा हाल १० वटा बनिसकेको छ। अब फ्लाइओभर र अन्डरपास निर्माणको काम बाँकी छ।
आयोजनाको ठेक्का १५ अर्ब र मुआब्जा ६ अर्ब रूपैयाँभन्दा बढी गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने आयोजनाको भनाई छ। यो सुरुङमार्ग निर्माण २०८० असार मसान्तसम्ममा सक्नेगरी काम गरिरहेको आयोजनाले बताएको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ। यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ।