सरकारले व्यक्तिलाई लाग्ने आयकरको सीमा बढाएको छ। आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब वार्षिक ५ लाख रूपैयाँसम्म कमाउने व्यक्ति र दम्पत्तिका लागि ६ लाख रूपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्र आयकर लाग्ने घोषणा गरेका छन्।
त्यस्तै बीमा प्रिमियममा खर्च हुने ४० हजारसम्म रूपैयाँसम्मको आम्दानी पनि करकट्टी हुने भएको छ।
हाल व्यक्तिलाई वार्षिक चार लाख रूपैयाँसम्मको र दम्पत्तिलाई वार्षिक ४ लाख ५० हजार रूपैयाँसम्मको आम्दानीमा एक प्रतिशत आयकर लाग्दै आएको थियो।
अब भने ५ लाखरूपैयाँसम्म एक १ प्रतिशतको दरमा अर्थात् पाँच हजार रूपैयाँ लाग्छ। योभन्दा बढी सात लाखसम्म कमाइ हुन्छ भने ५ लाखभन्दा माथि सात लाख रूपैयाँसम्मको बाँकी रकममा १० प्रतिशत लाग्छ।
यो भनेको अब सात लाख रूपैयाँ कमाउनेले ५ लाखसम्मको ५ हजार रूपैयाँ र २ लाख रूपैयाँको २० हजार रूपैयाँ तिर्नुपर्छ। यसरी सात लाख रूपैयाँ कमाउनेले कुल २५ हजार कर तिर्नुपर्ने भयो।
त्यस्तै वार्षिक दस लाख रूपैयाँसम्म कमाइ हुनेले भने सात लाख रूपैयाँसम्मको २५ हजार र बाँकी रकममा २० प्रतिशत कर तिर्नुपर्छ। यो भनेको दस लाख कमाउनेले सात लाखसम्मको २५ हजार रूपैयाँ र बाँकी तीन लाख रूपैयाँको ६० हजार रूपैयाँ हुन्छ। यसरी दस लाख कमाउनेले ८५ हजार रूपैयाँ कर तिर्नुपर्छ।
त्यस्तै २० लाखसम्म कमाउनेले १० लाखसम्म ८५ हजार कर तिरेपछि बाँकी १० लाखमा भने ३० प्रतिशत आयकर तिर्नुपर्छ। यो भनेको बीस लाख कमाउनेले दस लाखसम्मको ८५ हजार रूपैयाँ र बाँकी दस लाख रूपैयाँको तीन लाख रूपैयाँ हुन्छ। यसरी बीस लाख कमाउनेले तीन लाख ८५ हजार रूपैयाँ कर तिर्नुपर्छ।
वर्षमा बीस लाखभन्दा बढी कमाउनेले भने अहिले जस्तै ३६ प्रतिशतको दरमा कर तिर्नुपर्ने हुन्छ।